काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओलीले सुन प्रकरण छिनोफानो नभएसम्म सदन चल्नै नदिने अडान लिएका छन् ।
जसले गर्दा प्रतिनिधिसभाको बैठक सोमबार पनि अवरुद्ध रह्यो । सुन तस्करका तस्बिर राजनीतिक दलका नेतासँग खिचिएको सार्वजनिक भएसँगै यसमा थप शंका उत्पन्न हुन थालेका छन् ।
प्रविधिको प्रयोग गर्दै विभिन्न सामानको आवरणमा सुन तस्करी
विमानस्थल बाहिरबाट ठूलो परिमाणको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै आएको छ भने गृहमन्त्रीले कुनै पनि कोट र टार बाँकी नराख्ने भनेर एमालेलाई चिढ्याएको थियो ।
शनिबार समातिएका बेल्जियम नागरिक दावा छिरिङ र माओवादी नेता एवं पूर्वमन्त्री वर्षमान पुनको तस्बिर सार्वजनिक भएपछि पुनले अपराधको जरासम्म पुग्नुपर्ने र आफू संलग्न भएको पाए पनि बाँकी राख्न नहुने बताए ।
सुन प्रकरणलाई निष्कर्षमा पु¥याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेबम छन् ।
माओवादीका नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनकी बहिनी र छोरासँग तस्बिर सार्वजनिक भएसँगै माओवादी नेता पनि झस्किएका छन् । यद्यपि, सुन प्रकरणमा उनीहरूको संलग्नता’bout यकिन भइसकेको छैन ।
बेल्जियम नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोकको नमोबुद्धबाट नेपाली नागरिकता लिएपछि बेल्जियम गएको र त्यहाँ पनि नागरिकता लिएपछि त्यही पासपोर्ट प्रयोग गरेर नेपालमा जडीबुटी र पर्यटनसँग सम्बन्धित कारोबार गरेको खुलेको छ । उनले नेपाली नागरिकताकै आधारमा नेपाली राहदानी पनि बनाएका थिए ।
राजनीतिक संरक्षण पाएका उनी चीनबाट २० मे, २०२३ मा नेपाल आएका थिए । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करीलगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् । नेपालमा बसेर कारोबार गर्ने दावाले चिनियाँको अवैध काममा सघाउने गर्थे । उनी कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए ।
केही दिनअघि पक्राउ परेका चिनियाँ नागरिकसँगको बयानका क्रममा चिनियाँले दावाको नाम बताएपछि विभागको टोली उनको होटलमा पुगेको थियो । होटलमा उनलाई फेला नपारेपछि टोली सामाखुसीस्थित घरबाटै दावालाई नियन्त्रणमा लिएको हो । तस्करले तस्करी गरेको सुन दावाले भियना होटलमा लगेर व्यवस्थापन गर्ने गरेको बताइएको छ ।
विभागको टोलीले १४ साउनको आइतबार काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर उनलाई पक्राउ गरेको थियो ।
छिरिङलाई पक्राउ गरेसँगै सुन गाल्ने टोखाको कृषि फार्ममा रहेका उपकरण पनि प्रहरी र राजस्व अनुसन्धान विभागले बरामद गरेको छ ।
शनिबार राति टोखाको कृषि फार्मको आवरणमा रहेको गोदामबाट टोलीले ठुलो परिमाणको मेसिन, सुन पगालेर अरू नै वस्तुको स्वरूपमा लैजान प्रयोग हुने मेसिन, गलाउने मेसिन, हिटर, कागजातलगायतका सामान फेला पारेको छ । सो गोदाममा कच्चा सुनलाई पगालेर गरगहना बनाउने र आकार दिने फ्याक्ट्री नै भेटिएको थियो ।
ब्रेकसु, सिपियू, दाह्री काट्ने रेजर, पानी तान्ने पम्पलगायतको नाममा लुकाएर हङकङबाट तस्करी गरेर ल्याइएको सामग्रीमा क्युआर कोडसमेत फेला परेको छ ।
तस्करले क्युआर कोड स्क्यान गरेर सुन भए नभएको यकिन गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । सबै सामानमा सुन मिसाएर नल्याउने भएकाले यसो गरिएको हुनुपर्ने अनुमान उनको रहेको छ । त्यो बारकोड विच्याट खोलेर मात्र स्क्यान हुने खालको रहेको पनि बताइएको छ ।
विच्याट चीनमा बढी प्रचलनमा रहेकाले सुन तस्करीमा चिनियाँको संलग्न शतप्रतिशत रहेको बुझाइ अनुसन्धान विभागको रहेको छ ।
तस्करले सुन व्यवस्थापन गर्न खटाइएका कामदारलाई समेत नेपालमा कमै मात्र प्रयोगमा रहेको विच्याट चलाउन दिने गरेको हुनुपर्ने र सो मोबाइलको विच्याट चिनियाँ तस्करले नै हेरेर सुन भए नभएको यकिन गर्ने गरेको पाइएको छ ।
सुन तस्कर चीनमा र हङकङमा बसेर नै निर्देशन दिन र काम अह्राउन खपिस भएका कारण तस्करीमाा संलग्न व्यक्ति पक्राउ परे पनि सबै सूचना बाहिर ल्याउन जटिल भएको बताइएको छ ।
अहिलेसम्म फेला परेका सामग्रीका आधारमा मात्र पनि तस्करले दुई महिनायता हङकङबाट ल्याइएका ब्रेक सुमा राखेर ७ सय ५० किलोभन्दा बढी सुन भित्रिसकेको आशंका गरिएको छ ।
विभिन्न सामानको नाममा हङकङबाट ल्याइएका ती सामग्री विमानस्थलबाट सहज रूपमा ल्याउन नसकिने भएकाले यसमा हङकङ र नेपालका एयरपोर्टका कर्मचारी र भन्सारका कर्मचारीको संलग्नता भएकै हुनुपर्ने निष्कर्ष पनि अनुसन्धान टोलीको रहेको छ ।
अनुसन्धानले विमानस्थलबाट सामान बाहिर ल्याइएपछि उनीहरूले ठाउँठाउँमा गोदाममा राख्ने र पगाल्ने गरेको पाइएको छ ।
४ गते बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिन चुवाङको बालुवाटारस्थित कारखानामा लगेर सुन गालेर निकाल्ने र त्यसपछि ब्रेक सु लगेर सोह्रखुट्टेको गोदाममा राख्ने गरिएको पाइएको छ । छुट्याइएको सुनको प्याकेट टोखास्थित कृषि फार्मभित्रको ठूलो कारखानामा लगेर प्रशोधन गरी नेपाल र भारतको बजारसम्म पु¥याउने गरेको अनुमान अनुसन्धान टोलीको रहेको छ ।
कार्गाे, कृषि फार्मको नाममा कम्पनी खोलेर सुन पगाल्ने कार्य गरेको पाइएपछि राजस्व अनुसन्धान विभाग र प्रहरीले अनुसन्धानको दायरा बढाउने निचोड निकालिसकेको छ ।
राकेश अडुकिया, सञ्जय बबैयामाथि फोकस गरिरहेको अनुसन्धान टोलीले अनुसन्धानलाई अझ व्यापक बनाउनुपर्ने निष्कर्षसमेत निकालिसकेको छ ।
२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गेटमा बरामद गरिएको १ सय किलो तस्करीको सुन र यसको कनेक्सन पछ्याउँदै जाँदा राजस्व अनुसन्धान विभाग सुन तस्करीको एकपछि अर्को जालो पहिल्याइरहेको छ ।
सुन तस्करी अनुसन्धान यसअघि रेडी ट्रेडर्सले आयात गरेका सुनका गोदाम र भण्डारणमा मात्रै केन्द्रित थियो । ठमेलबाट दावा छिरिङ पक्रिएपछि र टोखामा फ्याक्ट्री भेटिएपछि भने यो सञ्जाल र तस्करीको परिमाण पनि सोचेभन्दा धेरै नै ठुलो भएको निष्कर्षमा विभाग पुगेको छ ।
टोखामा भन्सार पास भएर आएका सयौं बाकस टोलीले फेला पारेको थियो । हरेक बाकस विमानस्थल भन्सारबाट पास भएको देखिएको थियो । ती बाकसमा कम्प्युटरको सिपियू, पानी तान्ने मोटर, ग्यासको रेगुलेटर, स्पिकर, मिक्सचर, हिटर, मःम बनाउने मेसिनदेखि विद्युतीय भोल्टेज व्यवस्थापनमा काम गर्ने स्टेबलाइजरसम्म रहेका छन् । हेर्दा दुरुस्त लाग्ने ती सामानको कभरभित्र सुन लुकाएर ल्याउने गरेको पाइएको थियो ।
आयात गरेको वस्तुको बाकसमा पहेंलो टेप लगाइएको तस्करीको एउटा संकेतको रूपमा देखिएको पनि बताइएको छ । रेडी ट्रेडर्स र दावा छिरिङ समूहले ल्याएका यत्तिका धेरै वस्तु कसरी भन्सार जाँचपास भयो भनेर अनुसन्धान टोलीको ध्यान मोडिन थालेको छ ।
सुन पगाल्ने मेसिन टोखामा पनि फेला परेको र एसिडमार्फत सुन छुट्याउन धेरै पानी चाहिने भएकाले भित्रै ठुलो इनार खनिएको पाइएको थियो । सुन पिट्ने काँटादेखि जोख्ने तौलने र सुन प्याकिङ गर्ने सबैखाले मेसिन फ्याक्ट्रीमा भेटिएको थियो ।
विभागले हालसम्ममा १८ जनालाई पक्राउ गरिसकेको छ भने विभिन्न गोदाममा छापा पनि हानिसकेको छ ।
विभाग अझै पनि तस्करीको केन्द्रमा पुग्न सकेको छैन । पक्राउ परेकाको बयान र अन्य प्रमाणका आधारमा अन्य संलग्नको पनि खोजी गरिरहेको छ ।






