इलाम । साबिक मेचीका चार जिल्लामा चामलको व्यापार गरिरहेका एक व्यापारी करोडौं रुपैयाँ ठगेर फरार भएका छन् । झापाको बिर्तामोडमा व्यवसाय गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रसम्म कारोबार गरेका अग्रवाल फरार भएका हुन् ।
बिर्तामोड नगरपालिका–५ मा व्यवसाय गरेर बसेका अग्रवालले इलामका ४० जनासँग रकम सापटी लिएका थिए । लामो समयदेखि व्यापार गरिरहेका अग्रवाल १ साउनदेखि सम्पर्कमा नरहेको पीडितको गुनासो छ । उनले आफूले सामान पठाउने व्यक्तिलाई केही समयका लागि चलाउन भन्दै रकम मागेको र अहिले सम्पर्कविहीन भएको पाँचथरको हिलिहाङ गाउँपालिकाको जोरपोखरी बजारमा व्यवसाय गदै आएका लोकेन्द्र सुब्बाले जानकारी दिए । उनले तीन जिल्लाका विभिन्न व्यक्तिसँग २ लाखदेखि ४० लाख रुपैयाँसम्म सापटी लिएर ७ करोडभन्दा बढी ठगेको पीडितको गुनासो छ ।
इलाम र पाँचथरको सिमानामा रहेको पञ्चमी बजारमा व्यापार गर्दै आएका युद्ध बोहोराले आफूसँग अग्रवालले १० लाख रुपैयाँ लगेको बताएका छन् । उनले २०७६ साल पुस १५ गते ५ लाख र १ साउन २०७९ मा ५ लाख रुपैयाँ दिएको बताएका छन् । व्यापारमा राम्रै गरी कारोबार भइरहेको हुँदा अग्रवालले सापटी भनेर मागेकाले दिएको तर अहिले सम्पर्कविहीन भएको उनले बताए ।
त्यस्तै, फाकफोकथुम गाउँपालिकाका गोविन्द लामिछानेसँग १५ लाख, लोकेन्द्र बोहोरासँग १५ लाख रुपैयाँ सापटी लगेको पाइएको छ । त्यस्तै, फाकफोकथुमकै प्रकाश चौहानलाई चामल पठाइदिन्छु भनेर ४ लाख ८० हजार रुपैयाँ, इलामका युवराज रेग्मीसँग २ लाख ७० हजार रुपैयाँ लिएको पाइएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको गोपेटारका महेश कटुवालको ३९ मन अलैंचीको रकम र इलाम नगरपालिका–१० का नारायण, दीपक र कुमार श्रेष्ठ (एउटै परिवार)सँग १९ लाख रुपैयाँ लिएको खुलेको छ । त्यस्तैगरी, झापामा सञ्चालन भएका विभिन्न मिलबाट र अन्य व्यापारीसहित गरी ७ करोड रुपैयाँभन्दा बढी ठगिएको गुनासो आएको हो ।
वेस्ट बंगाल सुलिगुडीनजिकै रायजन्ज इन्डियामा भएको घरजग्गा बिक्री गरेर पैसा ल्याउने र दिने भन्दै अधिकांश व्यापारी, चामल मिल तथा अन्य मानिसलाई विभिन्न प्रलोभन देखाई पैसा लिएको पीडितको गुनासो छ । कसैबाट बिनाकागजात नगद रुपैयाँ, चेक र कतिपयको अलैंची र चामलमा भाउ काट्नु भन्दै पैसा लिएका अग्रवाल १ साउनदेखि सम्पर्कविहीन भएका हुन् ।
अग्रवालको पसलमा काम गर्ने कामदार मात्र रहेको र गोदाममा सामान पनि केही नभएपछि उनले प्रयोग गर्दै आएको ९८१७९५३६०७ मोबाइल नम्बरमा फोन गर्दा उनका बुबा प्रेमचन्द अग्रवालले उठाउने गरेका थिए । बुबासँग कुरा हुँदा छोरा सुलिगुडी गएको छ भन्ने गरेको पीडितको गुनासो छ । विभिन्न बाहाना बनाउँदै पीडितलाई ढाँट्ने गरेको भन्दै बुबाको समेत मिलेमतो रहेको गुनासो गरेका छन् । व्यापारी अग्रवालले प्रयोग गरेको फेसबुक आइडीसमेत डिएक्टिभेट छ ।
२०६२ सालदेखि बिर्तामोडको कन्काइ रोडनजिकै देवी माविको पूर्वपट्टि गजुरमुखी टोलस्थित देवीबहादुर लिम्बूको घरमा एक फ्ल्याट भाडामा लिएर उनका बुबा प्रेमचन्द अग्रवाल, आमा विद्यादेवी अग्रवाल र श्रीमती रन्जिता मण्डल अग्रवालसहित उनका दुई छोरी बस्दै आएको घरबेटी रन्जिता लिम्बूले जानकारी दिइन् । उनले आफ्नो पनि ३ लाख रुपैयाँ अग्रवालले नदिएको बताइन् । अग्रवालले सञ्चालन गरेको पसल हाल बन्द रहेको छ । त्यहाँ बस्दै आएका घरमा परिवारका कोही पनि सदस्य नरहेकाले ठगी गरेर फरार रहेको भन्दै प्रहरीमा उजुरीसमेत परेको छ ।






