राजधानी पब्लिकेसनका संस्थापक महेन्द्र शेरचनले देहत्याग गरेको दुई वर्ष पूरा भएको छ । शेरचनले २०७८ भदौ २ का दिन महाप्रस्थान गरेका हुन् । यस घडीमा मिडिया व्यवसायको दिगोपनप्रति उनको प्रतिबद्धता सम्झनै पर्ने हुन्छ । सम्पादकीय स्वतन्त्रतामा अनावश्यक हस्तक्षेप नगरीकन प्रकाशनको व्यावसायिक हितको संवद्र्धन गर्दै जाने सन्तुलित नीतिमा उनी माहिर थिए । नम्र एवं शालीन व्यक्तित्वका धनी महेन्द्र शेरचनको मातहतका व्यक्तिप्रतिको व्यवहार अत्यन्तै सन्तुलित हुने गथ्र्यो । उनको त्यो व्यवहारकै कारण राजधानीले अत्यन्तै अप्ठ्यारो एवं अस्वाभाविक अवस्थामा पनि निरन्तरता पाइरह्यो । सम्भवतः यही कारणले गर्दा शेरचनको निधनपश्चात् धेरैले राजधानीले आफूलाई जीवित राख्न सक्ला र भन्ने शंका गर्ने पनि देखिए । नभन्दै विगतका दिनमा राजधानीले थोरै समयका लागि अवरुद्धसमेत हुनुप¥यो । महेन्द्र शेरचनको अभाव त छिट्टै नै देखापरिहाल्यो ।
तर, महेन्द्र शेरचनको आशीर्वादले नै होला राजधानीले पुनः निरन्तरता पाएको छ । निश्चित रूपमा छापा मिडियाको आजको परिस्थिति शेरचनको कार्यकालको समयभन्दा जटिल छ । प्रविधिमा आएको नयाँपन र पाठकको मनोदशामा देखिएको परिवर्तनले गर्दा अब छापा मिडियाले नितान्त नयाँ रूप लिइसकेको छ । नयाँ चुनौती थपिएका छन् तर साथसाथै नयाँ अवसर पनि देखापरेका छन् । चुनौतीको सामना गर्दै अवसरलाई टिप्ने आजको आवश्यकता हो । महेन्द्र शेरचन आफ्नो समयमा यही गर्थे । हामी पनि त्यही गर्दै छांै तर नयाँ परिस्थितिमा ।
महेन्द्र शेरचन भन्ने गर्थे, ‘राजधानी पत्रकार उत्पादन गर्ने विश्वविद्यालय हो ।’ वास्तवमै राजधानीले असंख्य पत्रकार उत्पादन ग¥यो । आजका कतिपय स्थापित नाम राजधानी स्कुलका उत्पादन हुन् भन्दा अत्युक्ति नहोला । हामी यो कामलाई निरन्तरता दिँदै छौं । आज पनि राजधानी पत्रकारहरूका लागि रोजगारीको थलो मात्र नभई सीप विकासको केन्द्र पनि हो ।
समयानुकूल परिवर्तन त अपरिहार्य नियम नै हो । समयसँग हिँड्न सकिएन भने जतिसुकै ठुलो पात्र किन नहोस् इतिहासको पानामा बिलाउन पुग्छ । समयसँग तादाम्यता मिलाएर हिँड्ने क्षमताकै कारण हामी महेन्द्र शेरचनलाई सम्झिँदै छौं । र, हामी उनको त्यो क्षमताको अनुसरण गर्ने कोसिसमा छौं । हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं, ‘पत्रकारिताको आधारभूत धर्मलाई अक्षरशः पालना गर्दै व्यावसायिक उपलब्धितर्फ लक्षित हुन्छौं । हाम्रो विचारमा यो प्रतिबद्धता नै संस्थापक महेन्द्र शेरचनप्रति सच्चा श्रद्धाञ्जली हो ।’






