पहिलोपटक च्याम्पियन बन्ने स्पेन र इंग्ल्यान्डको लक्ष्य

सिड्नी । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को आगामी शनिबार फाइनल खेलमा प्रतिस्पर्धा हुँदै छ । यसपटकको विश्वकपमा च्याम्पियन बन्न स्पेन र इंग्ल्यान्डबिच प्रतिस्पर्धा हुँदै छ । यो खेल स्टेडियम अस्ट्रेलिया सिड्नीमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ ।

नवौं संस्करणको विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । दुईपटकको च्याम्पियन जर्मनी समूह चरण, चारपटकको च्याम्पियन अमेरिका र एक पाटकको च्याम्पियन नर्वे प्री–क्वार्टरफाइनलबाट तथा एक पटकको जापान क्वार्टरफाइनलबाट बाहिरिसकेको छ । स्पेनले स्वीडेनलाई २–१ ले तथा इंग्ल्यान्डले घरेलु टोली अस्ट्रेलियालाई ३–१ ले पराजित गर्दै महिला विश्वकपको इतिहासमा पहिलोपटक फाइनलमा स्थान सुरक्षित गरेको छ ।

दुवै टोली पहिलोपटक विश्वकपको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । यस विश्वकपमा स्पेन पछिल्लो तीन खेलमा अपराजित छ । समूह चरणमा कोस्टारिका र जाम्बियालाई पराजित गरेको स्पेनले त्यसपछि भने समूह चरणमै जापानसँग ४–० को लज्जास्पद हार चाखेको थियो ।

त्यसयताको तीन खेलमा भने स्पेनले सानदार प्रदर्शन गर्दै जित निकालिरहेको छ । टोलीको मुख्य हतियारमा जेनिफर हर्माेसो, अल्वा रेडोन्डो, मारिओना क्लाडेन्टे, एलेक्सिया पुटेलास, टेरेसा एवेलेइरा, एइटाना बोनामाती, ओल्गा, लेइआ कोडिना, एरिन पारेडेस, ओना बाट्ले र गोलरक्षक क्याटलिना कोल रहेका छन् । यसबाहेक टोलीसँग साल्मा, इभा मारिया र एस्थर गोन्जालेस पनि रहेका छन् ।

यता, उपाधि दाबेदार टोलीका रूपमा हेरिएको इंग्ल्यान्ड पनि पछिल्लो तीन खेलमा सानदार प्रदर्शन गरिरहेको स्पेनलाई स्तब्ध पार्दै पहिलोपटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग एलेसिया रुसो, लौरेन हेम्प, एला टुन, रचेल डाली, केइरा वाल्स, जर्जिया स्टानवे, लुसी ब्रन्ज, एलेक्स ग्रीनवुड, मिल्ली ब्राइट, जेसिका कार्टर र गोलरक्षक मारी अर्पस छन् ।

यसबाहेक दुई खेलको प्रतिबन्धपछि लौरेन जेम्सले टोलीमा पुनरागन गर्नेछिन् । यी दुई टोली हालसम्म सातपटक आमाने–सामाने हुँदा चार खेलमा इंग्ल्यान्ड विजयी भएको छ । दुई खेल स्पेनले जित्दा एक खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यी दुई टोलीले सन् २०२२ मा युरो कपमा प्रतिस्पर्धा गर्दा इंग्ल्यान्डले अतिरिक्त समयमा जित निकालेको थियो । स्पेन पछिल्लो १८ खेलमा घरेलु मैदानमा अपराजित रहँदा इंग्ल्यान्ड पछिल्लो सात खेलमा अपराजित छ ।

स्वीडेन तेस्रो
सह–आयोजक अस्ट्रेलियामाथि २–० को सहज जित दर्ता गर्दै स्वीडेनले फिफा महिला विश्वकप फुटबल २०२३ मा तेस्रो स्थान हासिल गरेको छ । ब्रिसवनमा शनिबार भएको खेलमा स्वीडेनको सहज जितमा फ्रिडोलिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरिन् । स्वीडेनले पहिलो र दोस्रो हाफमा समान १ गोल गर्न सफल भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा रोल्फोको पेनाल्टी गोलबाट स्वीडेनले सुरुवाती अग्रता लिन सफल भएको थियो । क्लेएर पोल्किङहोर्नेले पेनाल्टी बक्समा स्टिना ब्ल्याक स्टेनिअसलाई फाउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै स्वीडेनलाई पेनाल्टी प्रदान गर्दा रोल्फो चुकिनन् । पेनाल्टी पाउनुअघिको मुभमा रोल्फोको फ्लिक हेडर बारमा लाग्दै फर्किएको थियो ।

त्यसपछि रेफ्रीले भिएआरको सहायता लिएका थिए । ६२औं मिनेटमा कोसोभारे एस्लानीले गोल गर्दै स्वीडेनको जित पक्का गरिन् । उनले स्टिनाको पासमा गोल गर्न सफल भइन् । यस जितसँगै स्वीडेनले पछिल्लोपटक १२ नोभेम्बर २०२२ मा भएको मैत्रीपूर्ण खेलमा भोगेको ४–० को हारको बदला लिएको छ । यस नतिजासँगै स्वीडेन चौथोपटक तेस्रो भएको छ । यसअघि स्वीडेन गत संस्करण सन् २०१९, १९९१ र २०११ मा सेमिफाइनलबाट बाहिरिँदा तीनैपटक तेस्रो भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी