जुम्ला । यतिबेला जुम्ला स्याउमय बनेको छ । रहरलाग्दा स्याउ बगैंचामा किसान डुलिरहेका भेटिन्छन् । बेच्नु छ, उनीहरूलाई आफ्नो उत्पादन, पन्छाउनु छ अभावका छेकबारलाई । भदौ महिना लागेसँगै किसानलाई स्याउ संकलन गर्ने चटारो छ । औसतमा स्याउ बगैंचाभित्र सिमी र केराउ लगाउने गरिन्छ । तर, जुम्ला गुठिचौर गाउँपालिका–५ का बिर्खबहादुर सार्कीको स्याउ बगैंचा अनौठो छ ।
बिर्खबहादुरले जुम्ला गुठिचौरको देपालगाउँमा जडिबुटी र स्याउ खेतीमा नयाँ अभ्यास गरेका छन् । एउटै बगैंचाभित्र स्याउ र जडिबुटी खेती सफल भएको छ । जमिनमाथि स्याउ फलेको छ भने जमिनमुनि जडिबुटी उत्पादन भएको छ । अहिले उनलाई स्याउसँगै जडिबुटी संकलनको चटारो छ । बगैंचाभित्र स्याउसँगै १८ प्रकारका जडिबुटी रोपिएको छ । जसमध्ये आठ प्रकारका जडिबुटीबाट हिमाली चिया बन्छ । जडिबुटीको चिया मुलुकका विभिन्न सहरमा पुग्छ । महिनामा कम्तीमा ६ सय प्याकेट चिया बिक्री गर्दै आएको उनले बताए ।
‘अहिले अत्तिसको बीउ संकलन हुँदैछ, केही दिनभित्र अत्तिसको जरा संकलन गर्ने तयारी छ,’ उनले भने । उनका अनुसार जडिबुटी खेती २०५३ सालबाट सुरु भएको थियो । यसबाट आम्दानी लिन भने झन्डै १५ वर्ष कुर्नुप¥यो । जब अर्गानिक चिया मसला उद्योग र स्याउ खेतीलाई जोडियो त्यसपछि आम्दानी बढ्यो । चिया प्रतिप्याकेट ८० रुपैयाँमा बिक्री भइरहेको छ । जडिबुटीको चिया, जरा, बिउ र स्याउबाट वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने बिर्खबहादुरले बताए । आफ्नो संघर्ष सुनाउँदै उनले भने, ‘सानो संघर्षले स्थापित कर्म होइन यो ! हराउने जंगल काटेर, चिप्लने हिमाल उक्लेर, बगाउने खोला तरेर सफल भएको पेसा हो, जडिबुटी र स्याउ खेती ।’
जडिबुटीको व्यावहारिक अध्ययन र अनुसन्धान गर्दै जाँदा डेढ दसक अनुभवमै बितेको उनले जानकारी दिए । जुम्लामा स्याउ बगैंचाभित्रै जडिबुटी खेती गरेर दोहोरो आम्दानी गर्ने बिर्खबहादुर एक्ला हुन् । उनलाई ‘जडिबुटी दाइ’ उपनामले पनि चिन्ने गरिन्छ । जडिबुटी खेती आम्दानीको स्रोत मात्रै नभएर लोपोन्मुख जडिबुटी संरक्षणका लागि समेत महत्वपूर्र्ण रहेको गुठिचौर–५ का राम दवाडी बताउँछन् । ‘जंगलमा जडिबुटी लोप हुँदै गएको छ, कुनैकुनै जडिबुटी दिनभर घुमे पनि देख्न सकिँदैन तर यो स्याउको बगैंचाभित्र १८ प्रकारका जडिबुटी एकसाथ देख्न सकिन्छ,’ स्थानीय राम दवाडीले भने, ‘बिर्खबहादुरको बगैंचा जडिबुटी अवलोकन गर्ने अनमोल भूमि हो भन्दा फरक नपर्ला ।’
बिर्खबहादुरको बगैंचामा गोल्डेन डेलिसियस, रोयल डेलिसियस जातको स्याउसँगै अत्तिस, सुमयो, भुल्त्या, पाखनवेद, पोकचल्लो, सेतो चिनीलगायत १८ प्रकारका जडिबुटी छन् । इच्छाशक्ति मात्रै देखाउने हो भने मुलुकमा अवसरै अवसर रहेको बिर्खबहादुर बताउँछन् ।
‘गाउँमा आयआर्जनको माध्यमै छैन भन्ने गलत भाष्य बनाइएको छ, हाम्रो परिवारलाई ५ मिनेट पनि फुर्सद छैन,’ बिर्खबहादुरले भने, ‘कसैले चिया प्याकिङ गर्छन्, कोही जडिबुटी रेखदेखमा खटिन्छन्, कसैलाई स्याउ ओखर व्यवस्थापनको जिम्मेवारी हुन्छ ।’
डिभिजन वन कार्यालयका अनुसार जुम्लाबाट २२ प्रकारका जडिबुटी निर्यात भइरहेको छ । अव्यवस्थित रूपमा संकलन गर्दा कतिपय जडिबुटी लोप हुने अवस्थामा पुगेको देखिन्छ । लेकाली क्षेत्रका बगैंचामा स्याउ र जडिबुटीबाट दोहोरो आम्दानी लिन सकिने देखिन्छ ।






