राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ बथनाहा बस्ने एक दम्पती विरुद्ध नागरिकता सम्बन्धि कसुरमा परेको जाहेरी उपर अनुसन्धान सुरु भएको छ ।
झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको भन्दै विजय कुमार मण्डल र उनका पत्नी अम्बिकाविरुद्ध सोही वडा निवासी भिखारी मण्डलले ३ दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमा जोहरी दरखास्त बुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा लेखी पठाए पछी मंगलवार देखि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
“प्राप्त जाहेरी उपर आवश्यक अनुसन्धान थालिएको छ , एक प्रहरी अधिकारीले भने ।”
जाहेरी दरखास्तमा भारत बिहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली मुख्यग्राम चंद्रडिह पंचायत वडा ८ निवासी ४५ वर्षिय अम्बिका कुमारी मण्डलले झुटो विवरण पेश गरी २०६३ साल चैत्र २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट बंशजको (ना.प्र.नं १६३०८६-४२५) नागरिकता प्राप्त गरेको उल्लेख गरिएको छ ।
जाहेरीकर्ता भिखारी मण्डलका अनुसार अम्बिका अहिले पनि भारतको चंद्रडीह ग्रामपंचायत वडा ८ स्थित सरकारी नव सृजित प्राथमिक विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत छिन् ।
भारत विहार राज्यको निर्वाचन आयोगद्वारा जारी २०२३ को मतदाता सूचिमा अम्बिकाको मतदाता क्रम संख्या २६४, गृहसंख्या २५ र पिनकोड ८४७२२८ रहेको छ । यस्तै पतिको नाम विजय कुमार मण्डल तथा बुवाको नाम सीता राम मण्डल उल्लेख छ । तर अचम्मको कुरा के छ भने अम्बिकाले नेपालबाट प्राप्त गरेको नागरिकतामा श्रीमानको नाम विजय कुमार मण्डल रहेपनि बुआको नाम अन्तराम मण्डल उल्लेख छ ।
एउटै ब्यक्तिीले भारतमा अर्कै र नेपालमा अर्कै बुआको नाम राखी झुटो विवरण पेश गरी नागरिकता लिएको दाबी गर्दै भिखारीले यसको सुक्ष्म अनुसन्धान गरिए सबै सत्य तथ्य बाहिर आउने जाहेरी दरखास्तमा उल्लेख गरेका छन् । भिखारीले प्रमाणका रुपमा अम्बिकाले भारत सरकारबाट प्राप्त गरेको मतदाता परिचय पत्र तथा अन्य कागजातहरु पेश गरेका छन ।
यस्तै उनका श्रीमान विजयले पनि झुटो विवरण पेश गरी भारत र नेपाल दुबै देशको नागरिकता लिएको जाहेरीमा उल्लेख गरिएको छ । भिखारीले प्रमाणका रुपमा विजयले पनि भारत सरकारको निर्वाचन आयोगबाट प्राप्त गरेको परिचय पत्र जाहेरी संगै पेश गरेका छन् ।
उक्त परिचय पत्रमा विजय कुमार मण्डलको ठेगाना भारत विहार राज्य, जिल्ला मधुवनी, प्रखण्ड खजौली, मुख्यग्राम चन्द्रडीह पंचायत वडा नंं ८, मतदाता क्रम संख्या ९४ गृहसंख्या २३ र पीनकोड ८४७२२८ रहेको उल्लेख छ ।
विजयले २०४४ साल चैत्र ८ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट प्राप्त गरेको नागरिकता (ना.प्र.न १७२१२६९५) मा ठेगाना सप्तरीको तत्कालिन औरही गा.वि.स.५ (हाल डाक्नेश्वरी नगरपालिका ६)उल्लेख छ ।
जाहेरी दरखास्त मार्फत झुटो विवरण पेश गरी अम्बिकाको नेपाली नागरिकता निकाल्ने क्रममा नक्कली बुआ बनेर सघाएका डाक्नेश्वरी नगरपालिका ६ का ७५ वर्षिय अन्तराम मण्डल माथी समेत नागरिकता कसुर सम्बन्धि मुदा चलाउन अनुरोध गरीएको छ । जाहेरीमा मण्डल दम्पती भारतीय नागरिक रहेको दाबीका साथ झुटो विवरण पेश गरी नागरिकता निकाल्ने कार्यमा संलग्न तीनै जना माथी नेपालको नागरिकता ऐन २०६३ को दफा १० (१) १२ र १४ मा भएको कानुनी व्यवस्था अनुसार कारवाही प्रकृया अघि बढाउन माँग गरिएको छ ।
भिखारीले जाहेरी झुटा ठहरिए कानुन बमोजिमको सजाय भोग्न समेत तयार रहेको उल्लेख सहित प्रहरी अनुसन्धान वा अदालतमा मुदा चल्दा खोजेको बखत उपस्थित हुने जाहेरी दरखास्तमा उल्लेख गरेका छन ।
डाक्नेश्वरी नगपालिका भारतीय सीमा संग जोडिएको नगरपालिका हो । एक महिना अघि मात्र नेपाल र भारत गरी दुबै देशको नागरिकता लिएको आरोपमा सो नगरपालिकाकी उपमेयर मीरा कुमारी यादव र उनका श्रीमान महेन्द्र प्रसाद यादव पक्राउ परेका थिए ।
नागरिकता सम्बन्धि कसुर मुदामा पक्राउ परेकी उप प्रमुख मिरा २३ दिनको प्रहरी हिरासत पश्चात अहिले सप्तरी जिल्ला अदालतको आदेशले १ लाख धरौटी बुझाई तारेखमा रिहा भएकी छिन भने उनका श्रीमान महेन्द्र पुर्पक्षका लागी अहिले पनि राजविराज कारागारमा छन् ।