सिन्धुली । जिल्ला स्तरीय अनुगमन समितिले कनपा ४ को ढुंग्रेबासमा रहेको कमला सप्लायर्समा साउन २४ गते लगाएको ताला बुधबार खुलेको छ । सप्लायर्सले घुन लागेको चामल रिप्याकेजिङ गरि विक्री गरेको भेटिएपछि लगाईएको ताला बुधबार खोलिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हेटौडाले चामल परिक्षणको प्रतिवेदन दिएपछि अनुगमन समितिले ताला खोलेको हो ।
चामल खानका लागि अनुकुल रहेको प्रतिवेदन आएसँगै ताला खोलिएको अनुगमन समितिका सदस्य एवम् खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राईले बताएका छन ।
कमला सप्लायर्सले घुन लागेको चामलको बोरा बिगारेर रिप्याकेजिङ् कार्य गर्न लागेको र बेचेको भन्ने गुनासो आएपछि जिल्ला स्तरीय बजार अनुगमन समितिले अनुगमन गरि सप्लायर्समा तालाबन्दी गरेको थियो ।
अनुगमनका क्रममा चामलको बोरामा घुन भेटिनुका साथै गोल्डेन फ्लेभर ब्राण्डका चामलमध्ये २० बोरा चामलको प्याकेट खोलेको भेटेको थियो । अनुगमनका क्रममा खोलिएको चामल सहित उक्त ब्रान्डको २५ केजीका १२२ बोरा चामल शिल गरिएको थियो ।
खोलिएका अधिकांश बोराको चामल संकलन गरी खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले नमुना परीक्षणका खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय हेटौडामा पठाएको थियो । जसको परिक्षण भदौ १ गते भएको थियो ।
सप्लायर्सका संचालक जयकुमार दासलाई चामलको खरिद विल नभेटिएपछि १५ हजार रुपैंया जरिवाना समेत गरिएको थियो । चामलको नमुना परीक्षणको प्रतिवेदन आएपछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बुधबार बसेको अनुगमन समितिको वैठकले ताला खोल्ने निर्णय गरेको थियो ।
सप्लायर्सलाई चामलको विल विजक बुधबारसम्म पनि देखाउन नसकेकाले सबै चामल कम्पनीमा फिर्ता पठाउने र सोको प्रमाण जिल्ला अनुगमन समितिलाई बुझाउने निर्देशन सहितको निर्णय गरि ताला खोलिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताईन ।
सप्लायर्सका मेनेजर सूर्यकुमार शाहले चामल शुक्रबारसम्ममा गाडी खोजी रोहिणी एग्रो भैरहवामा पठाउने तयारी गरिएको बताए । चामल फिर्ता गरेपछि फिर्ता पठाईएको पत्र, बुझाईएको विल विजक सहितको प्रमाणहरु निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुली, घरेलु तथा साना उद्योग कार्यालय सिन्धुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा बुझाईने शाहले बताए ।