सहिष्णुता नेपाली पहिचान

गोवधको विरोध गर्दै सद्भाव -यालीसहित इटहरीमा कोणसभा गरिएपछि यसले कतै साम्प्रदायिक दंगाको रूप त लिने होइन भनी चिन्ता जाहेर हुनु स्वाभाविकै हो । किनकि, नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी एकआपसमा एउटै समाज निर्माण गरेर बसेको एक विशष्ट नेपाली सामूहिक समाज हो । नेपालमा पाइने सामाजिक सद्भाव र आपसी मेलको संसारमा जहाँ पनि मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । यथार्थता यही हो पनि । एउटा जातले अर्को जातको, एक धर्मावलम्बीले अर्को धर्मको र एकभाषीले अर्काको भाषाको र एक भेषभूषाले अर्को भेषभूषाको सराहना मात्र होइन, सरसहयोग र धारण पनि गर्ने गरेका छन् । नेपाली विशिष्टतामा विकास हुन गएको यस सामाजिक परिवेशमा यदाकदा हुने केही अतिका कुरा पनि नेपालीले एकापसमा महसुस गरेर आपसी हितका लागि एकअर्कालाई अंकमाल गर्ने गरिरहेका छन् । एकअर्काको पर्व तथा परम्परा नेपालीबिच सामूहिक पर्व तथा परम्पराका रूपमा विकास भएको छ । यो नेपालीहरूको आत्मानुभूति हो । देखावटी वा देखासिकी दुवै होइन ।

नेपालमा बसेका हरेक नेपालीको आआफ्नै विशिष्ट स्वत्व पनि छ । सामूहिक स्वत्व र दायित्व पनि छ । यही कुराले नेपालीलाई वास्तवमा नेपाली बनाएको छ । नेपाललाई पुण्यभूमि, तपोभूमि, बुद्ध भूमि आदि जे भने पनि आखिर सबैको साझा र प्राकृत भूमि हो । यहाँ विभिन्न वंश, नश्ल, प्रजातिका मानिस बसोबास गर्दै आएका र कालान्तरमा आएर उनीहरूबिच भावनात्मक रूपमा आपसी मेल र नश्लीय रूपमा समिश्रण हुँदै नेपाली जाति बन्दै आएको छ । यसको एक बलियो आधार अहिलेसम्म आइपुग्दा सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक रूपमा पनि निर्माण हुँदै गइरहेको छ । शंकर हिमाली देश नेपालका हुन् । बुद्ध नेपालका हुन् । जनक नेपालका हुन् । सीता, भृकुटी नेपाली चेली मान्यताका हिसाबले नेपाली समाज यति धेरै सहिष्णु र सम्मिश्रित छ कि ‘ईश्वर अल्लाह तेरे नाम, सबको जन्म दिने भगवान्’ भनेर शुभ बिहानीमा भजन बजिरहेको हुन्छ । यसमा कसैको पनि आपत्ति छैन, बरु बेसी नतमस्तक छन् । विधिता नेपालीको एकता र पहिचान बनिसकेको छ ।

पछिल्लो समयमा द्रुत गतिमा विकास भएको सञ्चार प्रविधिले नेपालमा विविधतामा रहेका सबैलाई प्रभाव पारिरहेको छ । तर, सामाजिक सञ्जालमा प्रवाहित कुरालाई लिएर नेपालीको आम धारणा भने बन्ने र बनाइने गरिनुहुँदैन । सामाजिक सञ्जाल सूचना प्रवाहको माध्यम पनि हो । तर, कहिलेकाँही यो एकाध मानिसको गलत प्रचारको माध्यम पनि बन्न सक्छ । कुनै काम, भोजभतेर, भजन, भेला, मेला, पर्व वा परम्परा आफ्नै मान्यतामा परापूर्व कालदेखि नेपालमा चल्दै आइरहेका नै छन् । ती सनातन छन्, मान्य छन्, सबैका लागि पाच्य पनि । सामाजिक सञ्जालमा कुन शीर्षक वा उपशीर्षक दिएर वा के नाममा विद्रुप गरेर समाचार वा विषयवस्तु प्रस्तुत गरिएको छ, त्यो भाषा वा भाष्य प्रमुख होइन । गर्न के खोजिँदै छ, सम्बन्धित निकाय चनाखो हुनुपर्छ । तर, यस्ता सामान्य रूपमा अभिव्यक्त हुने गरेका गम्भीर प्रकृतिका कुरा तत्काल आमधारणा र बुझाइको विषयवस्तु बनाउनुहुँदैन । समाजमा स्थापित मान्यता आजको भोलि बनेको र तत्काल नामेट भइहाल्ने वा गरिइहाल्ने हुन सक्दैन । त्यसैले सामाजिक अन्तरसम्बन्ध खल्बलिने, अन्तरविरोध बढाउने, उत्तेजित गराउने, प्रतिशोध र द्वन्द्व निम्त्याउने खालका कुरा कसैले पनि उचाल्नु र प्रोत्साहित गर्नुहुँदैन । मानवअधिकारको ख्याल सबैले गर्नुपर्छ । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतासहित विविधतामा एकता एक मात्र नेपाली पहिचान हो । सबै सचेत हुनुपर्छ !

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्