सिन्धुली । अविरल वर्षाका कारण चँदाहा नदीमा आएको आएको बाढीले विघौं खेतियोग्य जमिन कटान तथा पुरान गरेको छ । तीनपाटन गाउँपालिका वडा नं. १ मा मात्रै ७ विघा ११ कठ्ठा जमिन कटान भएको वडा कार्यालयले जनाएको छ । अझै तथ्यांक आउन बाँकी रहेको पनि वडाले जनाएको छ ।
चँदाहा नदीले तिनपाटन १ का बसन्त दाहाल, दामोदर दाहाल, गोविन्द दाहाल, गंगा बहादुर तामाङ, रामबहादुर राना, मान बहादुर श्रेष्ठ, टेक बहादुर बल, वेदमाया सार्की, रिक्त बहादुर मग्राती, छ्यानबहादुर तामाङ, चनमती माझी, नवराज सार्की र जगदिश तोलांगीको धान खेतमा कटान गरि क्षती गरेको हो ।
चँदाहा नदीको बाढीले विघौं खेतियोग्य जमिन कटान
यस्तै वडा कार्यालयले वडा नं. १ मा मात्रै पहिरोका कारण पाँच घरमा क्षती पुगेको जानाएको छ । पहिरोकै कारण एकवटा कुखुराको खोर र चार वटा गोठमा पूर्ण रुपले क्षती पुगेको छ ।
सोमबार वडा कार्यालयले बाढी र पहिरोका कारण भएको क्षतीको विवरण तयार गरि सार्वजनिक गरेको छ । वडा अध्यक्ष गोविन्द बहादुर राउतले सार्वजनिक गरेको विवरणमा पशुपंक्षीको समेत क्षती भएको उल्लेख गरिएको छ ।

सानोझुंगाका टेक बहादुर रानाको गोठ पहिरोले पुरिदा १ वटा व्याउने भैंसी र एकवटा बंगुर मरेको छ भने लंगुर दोभानका विरबहादुर बसेलको कुखुरा फर्ममा क्षती हुँदा २०, ३० वटा ब्रोइलर कुखुरा मरेको समेत वडा कार्यालयले जनाएको छ ।
पहिरोका कारण लंगुरदोभानका रविन मगर, झुंगाका रुद्र बहादुर राउत र दान बहादुर सुनुवार, जाँतेका पुष्णबहादुर डिमदोङ र सिक्रेका कृष्णबहादुर रखालको घरमा पूर्ण रुपमा क्षती भएको राउतले जानकारी दिए ।
कमानेश्वरी प्रावि लंगुरदोभानको स्कुलमा समेत पहिरोले क्षती गरेको छ । पहिरो पीडित परिवारहरु छिमेकी तथा पहिरोले क्षती नगरेका गोठहरुमा बसिरहेको वडा अध्यक्ष राउतले बताए । यस्तै चँदाहा खोलाले भिमस्थान बेलघारी सडकमा समेत सामान्य क्षती गरेको छ ।