गुल्मी अस्पतालको सेवा ठप्प

गुल्मी । गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान ७ः४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो । मंगलबार बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो ।

इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाको ज्यान गएको पन्थीले बताए । घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्काेट –०३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए । आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएको बताए ।

दिनभर तनावग्रस्त अस्पताल र प्रशासन
बालिकाको ज्यान गएपछि दिनभर गुल्मी अस्पताल र दिउँसोबाट जिल्ला प्रशासन कार्यालय तनावग्रस्त रह्यो । पीडित पक्ष उपचारमा हेलचक्र्याई गर्ने डाक्टर र नर्सलाई कारवाही गर्दै अस्पतालका मेसु डाक्टर राजेन्द्र जिसी र अस्पताल प्रशासनलाई घेर्न थाले । पीडित पक्षले अस्पताल प्रशासन बाहिर ‘दोषी डाक्टरलाई कारवाही गर्’ लगायतका नारा लगाउँदा प्रशासनमा एउटा समुहले छलफल गरिरहेको थियो । तर छलफलबाट कुनै निष्कर्ष आएन । छलफलमा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायत उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत, काँग्रेस अर्घाखाँचीका सभापति, अस्पतालका मेसु डाक्टर जिसी, विकास समितिका अध्यक्ष गोपाल पाण्डे लगायतका स्वास्थ्यकर्मी, पत्रकार, बिरामीका आफन्त सहभागि थिए । त्यहाँ केहीबेर अस्पतालका डाक्टर र पीडित पक्षबीच भनाभन भयो ।

निदाएकै समयमा इन्जेक्सन लगाएको, समयमै डाक्टर नआएको, ड्युटीमा रहेको डाक्टर नै अस्पताल नभएको, कागजमा लेखिएभन्दा फरक प्रकारको सुई प्रयोग गरिएको लगायतका आरोप पीडित पक्षले लगयो । तर अस्पतालका मेसु डाक्टर जिसीले बालिका बचाउनका लागि आफुहरुले भएभरका प्रयास गरेपनि सफल नभएको प्रतिक्रिया दिए । डाक्टर जिसीले बालिकालाई इन्जेक्सन एवम् औषधीहरु सही समयमा सही मात्रामा दिएको दाबी गरे । अन्तत अस्पताल प्रशासनबाट आएको जवाफ जनप्रतिनिधि र पीडित पक्षले चित्त बुझाएन । त्यसपछि रेसुङ्गा नगरपालिकाका मेयर पन्थीले प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीसँग समन्वय गरी बैठक जिल्ला प्रशासन कार्यालयमा सारे ।

अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
बिरामीको ज्यान गएपछि बिहान करिब ११ बजेको समयमा रेसुङ्गा नगरपालिकाका केही जनप्रतिनिधि लगायत अन्य सर्वसाधारण एवम् पीडित पक्षले अस्पताल परिसरमा डाक्टरलाई घेरे । त्यसैक्रममा डाक्टर जिसीलाई सार्वजनिक पद धारण गरेको जिम्मेवार व्यक्तिको नेतृत्वमा अस्पताल प्राशसन भवनबाट लछार–पछार गर्दै कुटपिट गरिएको भन्दै अन्य कर्मचारीहरुले अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरे । मंगलबार दिउँसो ३५ भन्दा बढी कर्मचारीहरुद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाप्रति दुःख व्यक्त गर्दै डा. जिसीमाथि हातपात गर्नेलाई कारवाही तथा कर्मचारीहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्मको लागि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने उल्लेख गरिएको छ । यद्यपी केही समयपछि अस्पतालका व्यवस्थापन अधिकृत असिम चौधरीद्धारा अर्को विज्ञप्ती जारी भयो । उक्त विज्ञप्तीमा पहिले जारी गरिएको विज्ञप्ती आधिकारिक नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा भएको सहमती पालना गर्ने उल्लेख गरिएको छ ।

सेवा लिन आएका बिरामी घर फर्किए
बिहानै बालिकाको ज्यान गएपछि अस्पतालमा सेवा लिन आएका कतिपय बिरामीहरु घर फर्के भने कतिपयले निजि मेडिकलमा उपचार गराए । मालिका गाउँपालिकाबाट उपचार गराउन आएकी मीना घर्तीले अस्पतालको लाहापरवाहीले आफुले समस्या भोगेको बताइन् । ‘उपचार गराउनको लागि घरबाट आए, तर यहाँ आउदा आन्दोलन चलेको थियो ।’ उनले भनिन्, ‘एकजना बिरामीको ज्यान जाँदा हामीले समेत सास्ती खेप्नुप¥यो ।’

आफन्तद्वारा आत्मदाहको प्रयास
अस्पताल प्रशासनपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेको नेतृत्वमा छानविन समिति गर्ने निर्णय भयो । तर सोही समयमै अस्पताल कर्मचारीहरुद्धारा सेवा बन्दको विज्ञप्ती आएपछि उक्त समिति पनि मान्य रहेन । साँझ करिब ५ः३० को समयमा आन्दोलन गर्ने क्रममा पीडित पक्षका दुई व्यक्तिहरुले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरे । उपस्थित अन्य व्यक्तिहरु र प्रहरीले उनीहरुको शरिरको आगो निभाएपछि थप उपचारका लागि अस्पताल पु¥याएका छन् । अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले साँझसम्म पनि शव उठाएका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति