‘घरघरमा माओवादी, जनजनमा माओवादी’

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार (आज)देखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गर्दै छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित सुरु भइरहेको सो अभियान तीन महिनासम्म चल्नेछ ।

माओवादी केन्द्रको गत १७ साउनदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभरका सबै वडामा आज शनिबार एकैसाथ सुरु गर्ने भइरहेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने बताए ।

यसैगरी शनिबार नै दिउँसो १ बजे सबै वडाले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्ने उनले बताए । अभियानका लागि माओवादी केन्द्रले सबै केन्द्रिय कमिटी सदस्यलाई कार्यक्षेत्र तोकिसकेको छ । अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारी खटिइसकेको उनले बताए ।

अभियान क्रममा पार्टी सदस्यता नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता ८ लाख पु¥याउने, कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम’bout जानकारी दिने काम हुने प्रवक्ता सापकोटाले बताए ।

‘आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले कम्तीमा एक÷एकवटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उधोग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम सातवटै प्रदेशमा एक÷एकवटा आयोजना सञ्चालनको सम्भावना अध्ययन गर्ने’ प्रवक्ता सापकोटाले भने ।

माओवादी केन्द्रका सचिव गणेश साहले अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इन्चार्जले गर्ने बताए । अभियान अवधिभर सामान्यता केन्द्रीय पदाधिकारीलाई अन्तर प्रदेश, स्थायी समितिका सदस्य र केन्द्रीय सदस्यलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यलाई अन्तरपालिका खटाउनेगरी कार्यक्षेत्र विभाजन गरिएको साहले बताए । जहाँ जनता त्यहाँ माओवादीको संगठनको मान्यताअनुसार अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाउने उनले बताए ।

‘सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला, पालिका तोकिए पनि मुख्य कार्यक्षेत्र (योजना कार्यान्वयनको क्षेत्र) वडालाई बनाउनुपर्नेछ,’ साहले भने, ‘पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकारको नेतृत्वमा पार्टी प्रदेश कमिटी, सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस÷मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सम्मिलित वडा केन्द्रित अभियान टिम हुनेछ ।’

अभियान टिमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन गर्ने र अभियान टोलीमा कलाकार, संस्कृतिकर्मीलाई समेत सहभागिता गराउने रणनीति माओवादीको रहेको छ । अभियान सञ्चालनका लागि प्रत्येक प्रदेशमा एक प्रदेशस्तरको सचिवालय गठन गरिएको छ ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, वितरण, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल र कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गरिनेछ ।

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तत्र्रिmया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक संघसंस्थासँग अन्तत्र्रिmया कार्यक्रम गरिनेछ ।

यसैगरी, तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धतालगायतका कार्यक्रम हुने माओवादीको कार्ययोजना रहेको छ ।

माओवादी केन्द्रका सचिव दिनानाथ शर्माका अनुसार पार्टीले सञ्चालन गर्ने तीन महिनो सो विशेष अभियानमा पार्टीका सबै नेतालाई गाउँगाउँ र घरघरमा पुग्नुपर्ने हुन्छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड स्वयं पनि सातै प्रदेशको सात वडामा आफैं पुग्ने उनले बताए ।

प्रचण्ड सो क्रममा सातवटै वडाका जनताको घरघरमा आफैं पुगेर प्रत्यक्ष साक्षात्कार गर्नेछन् । पार्टी संगठन निर्माणदेखि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार अभियान क्रममा हुने सचिव शर्माले बताए । यस्तै, जनताको गुनासो, चाहना, आवश्यकतालगायतका विषय सुन्ने काम अभियानको क्रममा हुनेछ ।

कुन नेता काहाँ ?
अभियान क्रममा माओवादीले सबै नेताको कार्यविभाजन गरी परिचालन गरेको छ । शनिबार प्रचण्डले कार्यक्रमको उद्घाटन गरिसकेपछि शनिबार नै पदाधिकारी विभिन्न वडामा उद्घाटन गर्दै छन् । जसअनुसार अध्यक्ष प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ र काठमाडौं घट्टेडाँडा पार्कको कार्यक्रममा सहभागी हँुदै छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८ हरिसिद्धि ललितपुरमा, उपाध्यक्षमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसाल ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेवारी लिएका छन् ।

महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका–८ भोटेवडार लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, वर्षमान पुनले काठमाडौं महानगरपालिका–१६ गंगबु काठमाडौं, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरि नगरपालिका–२ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका–१ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतको जिम्मेवारी लिएका छन् ।

त्यसैगरी, सचिवहरूमा दिनानाथ शर्मालाई बागलुङ नगरपालिका–१२ बागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका–१८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका–२० कास्की, लिलामणि पोखरेललाई बर्दिवास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका–६ रुकुमपूर्व, हितराज पाण्डेलाई पालुङटार नगरपालिका–६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका–१६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्धशान्ति गाउँपालिका–४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाल चन्द्रागिरि नगरपालिका–२ काठमाडौंमा पुग्दै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित