काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बस्ने भएका छन् । उनले त्यहीँ बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेका छन् ।
रास्वपाका नेता तथा सांसद मनिष झाले लामिछाने जनकपुरधामस्थित गंगासागरमा छठ मनाउन आउने जानकारी दिए । उनका अनुसार लामिछाने श्रीमती निकिता पौडेल लामिछानेसहित परिवारका सदस्यसँगै जनकपुर आउने तयारीमा छन् । लामिछानेले पार्टीका कुनै सदस्य वा सदस्यका आफन्तको घरमा नभई सामान्य सर्वसाधारणको घरमा बसेर छठका विधिमा सहभागी हुन चाहेको झाले बताए ।
‘सभापतिज्युले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सबै विधिहरूमा सरिक हुने, सपरिवार भन्नुभएको छ । उहाँको परिवारको सदस्य उहाँको श्रीमती लगायत सबै आउँदै हुनुहुन्छ,’ झाले भने ।
पार्टीसँग असम्बन्धित व्यक्तिको घरमा बस्न लामिछानेले आग्रह गरेको उनले बताए । ‘सो व्यक्ति पार्टीसँग सम्बन्धित नहोस् भन्ने उहाँको आग्रह छ । पार्टीको सदस्यको घरमा होइन कि सामान्य कोही नागरिकको घरमा सरिक हुने र त्यो पार्टीको सदस्य वा पार्टी सदस्यको आफन्त पनि नहोस् किनकि राजनीतिक आग्रहहरू त्यहाँ जोडिन सक्छ भन्ने उहाँको कुरा छ,’ झाले भने ।
लामिछानेकी पत्नी निकिता पनि खरनादेखि बिहानको अर्घ्यसम्मका सबै विधिमा व्रत बसेर सहभागी हुने तयारीमा रहेको उनले जानकारी दिए ।
‘उहाँको श्रीमतीले विधिवत् रूपमा खरनादेखि बिहानको अर्घसम्म सबै प्रक्रियाहरूमा व्रत बसेर सरिक हुने इच्छा राख्नुभएको छ । र त्यहीअनुसार हामीले तयारी गर्दैछौँ,’ झाले भने ।
लामिछानेको जनकपुर भ्रमणका क्रममा राजनीतिक कार्यक्रमलाई प्राथमिकता नदिइने झाले बताए । सकेसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
भीडभाड व्यवस्थापनलाई ध्यानमा राखेर छठ पूजाको व्यवस्था मिलाइएको उनले जानकारी दिए । विगतमा जनकपुरमा विवाहपञ्चमी लगायतका कार्यक्रममा राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित भएको, सर्वसाधारणलाई असहज भएको र सुरक्षा चुनौती देखिएको अनुभवका आधारमा यसपटक त्यस्ता समस्या दोहोरिन नदिने गरी तयारी गरिएको उनले बताए ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र साहको जनकपुर भ्रमण’bout भने कुनै औपचारिक जानकारी नआएको झाले बताएका छन् ।
सम्बन्धित समाचार
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ
इनम सापकोटासँग नाम जोडिएपछि प्रधानन्यायाधीश शर्माले खोले मुख
प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा
निरन्तर छलफलमा रास्वपा सभापति रवि लामिछाने
निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा कांग्रेस
वैधानिकतावारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग
पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम फैलाउने प्रयासको सशक्त प्रतिवाद गर्ने कांग्रेसको निर्णय
सुरक्षा अंगमा मनोवैज्ञानिक त्रास





