काठमाडौं । विगतका वर्षहरुको तुलनामा यो वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्या ८४ प्रतिशतले बढेको छ । वितेका ८ महिनामा हवाइ मार्ग हुँदै ६ लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सन् २०२३ को वितेका ८ महिनामा कुल ६ लाख १ हजार ३६० जना विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार यो संख्या गत वर्षको सोही अवधिको भन्दा झन्डै डबल हो । गत वर्षको सोही अवधीमा जम्मा ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल भित्रिएका थिए ।
बोर्डका अनुसार पछिल्ला महिना पर्यटकको संख्या निरन्तर बढिरहेको तथ्यांक छ । पर्यटन बोर्डले अध्यागमन विभागको तथ्यांकलाई आधार मानेर उपलब्ध गराएको तथ्यांक अनुसार यसवर्षको अगष्टमा मात्रै ६७ हजार १५३ पर्यटक नेपाल आएका छन्।
सन् २०२२ को अगष्टमा जम्मा ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएका थिए। यसपाली अगष्टमा भारतबाट सबैभन्दा बढी २६ हजार ६६५ जना पर्यटक नेपाल भित्रिएका छन । यसैगरी चीनबाट ५ हजार २७ जना , अमेरिकाबाट ४ हजार ६२९ जना , श्रीलंकाबाट ३ हजार ५५८ जना र बंगलादेशबाट ३ हजार १९० जना पर्यटक नेपाल भित्रिएका छन्।
त्यसैगरी, बेलायतबाट २ हजार ७११ जना , स्पेनबाट १ हजार ५८८ जना , जापानबाट १ हजार ५२० जना , इटालीबाट १ हजार ४९६ जना र अष्ट्रेलियाबाट १ हजार ३४७ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन । यो तथ्यांकको आधारमा अझै आगामी दिनमा पर्यटक आगमन संख्या थप बढ्ने अनुमान गरिएको बोर्डले जनाएको छ ।