एसिया कप क्रिकेटमा सोमबार (आज) नेपालले भारतको सामना गर्दै छ । खेल सोमबार दिउँसो श्रीलकाको केन्डिस्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।
नेपाल र भारत दुवैका लागि सुपर फोरमा पुग्न यो खेल महत्वपूर्ण छ । भारतलाई जितले त सजिलै सुपर फोरमा लैजान्छ भने बराबरी या वर्षा बाधक बन्दा पनि फाइदा पुग्छ । नेपालका लागि भने जितको कुनै विकल्प छैन । त्यहाँको मौसम विभागका अनुसार पानी पर्ने सम्भावना पनि देखिएको छ । पानी परेर खेल स्थगित भए नेपालका लागि भारतजस्तो टिमसँग खेल्ने अवसरसमेत गुम्नेछ ।
वर्षाका कारण खेल अवरुद्ध भए भारत सुपर फोरमा
नेपालले उमेर समूहबाहेक सिनियर भारतीय टिमसँग खेलेको छैन । २०१७ को यू–१९ एसिया कपमा नेपालले भारतलाई हराएको थियो । त्यत्तिबेला नेपाली युवा टोलीका ब्याटिङ प्रशिक्षक मोन्टी देसाई रहेका थिए । दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, भीम सार्कीलगायतका खेलाडीले भारतीय युवा टोलीलाई हराएका थिए । अहिले त्यही खेलाडी भारतीय सिनियर टिमसँग भिड्न तयार भएको छ ।
नखेलेको टोली त्यसमाथि पनि विश्वस्तरका ब्याट्स म्यान र बलरसामु नेपालका लागि निकै चुनौती हुन सक्छ । तर, क्रिकेटलाई अरू खेलको जस्तो पूर्वअनुमान ठ्याक्कै नमिल्ने हुन सक्छ ।
यदि भारतीय ब्याट्स म्यान र बलर चल्न सकेनन् र त्यसको फाइदा नेपालले उठाएर खेल्न सक्यो भने जित असम्भव नरहेको पूर्वक्रिकेट कप्तान पवन अग्रवाल बताउँछन् ।
भारत १ अंकसहित समूहको दोस्रो स्थानमा छ भने नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको भारी अन्तरले हार्दै शून्य अंकका साथ पुछारमा छ । पाकिस्तान ३ अंकसहित सुपर चारमा पुगिसकेको छ ।
भारत भने आफ्नो पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भएको थियो । पहिले ब्याटिङ गरेको भारतले सबै विकेट गुमाएर २ सय ६६ बनाएपछि पाकिस्तानले जवाफी ब्याटिङ गर्ने मौका पायो तर वर्षाका कारण उसले ब्याटिङ गर्न नपाएपछि खेल अवरुद्ध भयो । जसका कारण दुवैले १–१ अंक बाँडेका थिए ।
अन्र्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय विश्व वरीयतामा १५औं स्थानमा रहेको नेपालका लागि तेस्रो वरीयताको भारतसँग खेल्न पाउनु नै ठुलो अवसरका रूपमा नेपाली क्रिकेटर लिन्छन् । तर, अवसरलाई सक्दो सदुपयोग गर्ने ध्याउन्नमा यसपालि खेलाडी छन् । उनीहरूले आइसिसी विश्व लिग २ मा देखाएको जादुमयी प्रर्दशनको खाँचो रहेको छ ।
विश्व क्रिकेटका उत्कृष्ट ब्याट्स म्यान विराट कोहली र रोहित शर्माको विस्फोटक ब्याटिङ भंग गर्न सक्नेगरी नेपाली बलरले बलिङ गरे, तीव्र गतिका बलर जस्प्रित बुमराह र स्पिनर कुलदीप यादवविरुद्ध नेपाली ब्याटरले रनको जादु देखाए नेपालको सम्भावना हुन सक्छ । तर, मुल्तानमा पाकिस्तानविरुद्धको खेलका दौरान बाबर आजमलाई आउट गर्न नसकेको घटना दोहो¥याए । सुपर फोर त परै जाओस् भारी अन्तरको हार पनि हुन सक्छ ।
भारतका शुभमन गिल, श्रेयस ऐर, इशान किशनसँगै हार्दिक पान्ड्या र रवीन्द्र जडेजाजस्ता विश्व प्रसिद्ध अलराउन्डरको चुनौती फेस गर्नु नेपाली क्रिकेटरलाई सजिलो देखिन्न ।
उसो त उत्साह, उमंग बोकेका जोसिला नेपाली युवा खेलाडी पनि कम छैनन् । उनीहरू एकैपटक आफूभन्दा धेरै माथिल्लास्तरका टिमसँग खेल्दै छन् ।
कुशल भुर्तेल, कुशल मल्ल, कप्तान रोहित, दीपेन्द्र सिंहले राम्रो रन बनाएर सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र सोमपाल कामीले धारिलो बलिङ गर्नु आवश्यक छ ।
पहिले ब्याटिङ गर्दा ३ सय रनमाथि हान्नुपर्ने र बलिङ रोज्दा २ सयमुनि नै रोक्न सके नेपालका लागि फाइदा पुग्ने देखिन्छ । हरेक नेपाली खेलाडीले कम्तीमा २५–३० रन हानेको खण्डमा पनि खेल आफ्नो पक्षमा पार्न सजिलो हुने विश्लेषक बताउँछन् ।
एसिया कपको समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा चार टोलीले एक अर्काबीच खेलेपछि त्यहाँबाट शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।