गुल्मी । गुल्मीमा वडाध्यक्षद्वारा शिक्षक कुटिएका छन् । जिल्लाको मालिका गाउँपालिका–७ घमिरका वडाध्यक्ष हिराबहादुर कार्कीले देवीस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक यमलाल पन्थीलाई सोमबार कुटपिट गरेका हुन् । वडाध्यक्षबाट कुटिएका शिक्षकको आँखा र काननजिकै चोट लागेको छ । शिक्षकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइको छ ।
पन्थीकी श्रीमती जानकी पाण्डेको सरुवाको विषयलाई लिएर दुवै जनाबिच विवाद सिर्जना भएको थियो । जानकी प्राथमिक तहकी स्थायी शिक्षक हुन् । उनी सोही वडाकै मैदानचौर प्राथमिक विद्यालयमा कार्यरत रहेकामा बरारूख प्राथमिक विद्यालमा सरुवा गरिएको थियो । सोहीक्रममा वडाध्यक्षलाई शिक्षकले श्रीमतीको सरुवा गरी घरपायक मिलाउन आग्रह गर्दा दुवै जनाबिच विवादको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले दुवैजना जिम्मेवार र सार्वजनिक पद धारणा गरेका व्यक्तिहरू भएकाले घटना विद्यालयमै मिलाउन पहल भए पनि पीडित पक्षले उजुरी दिने तयारी गरेको बताए ।