रहेनन् समाजसेवी ओमकार गौचन

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा समाजसेवी ओमकार गौचन अब हामीमाझ रहेनन् । गौचनको आइतबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । भैरहवाका अधिकांश संघसंस्थामा आबद्ध गौचनको हृदयाघातबाट ८१ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

दिवंगत गौचनको परिवारमा एक छोरा तीन छोरी र श्रीमती रहेका छन् । गत बिहीबार जनै पूर्णिमाका दिन भैरहवामा नेवाः खलको कार्यक्रममा प्रमुख अतिथि रहेका उनको सोही क्रममा हृदयाघात भएको थियो । भैरहवामा राम्रो उपचार नभएपछि थप उपचारका लागि शनिबार काठमाडौं ल्याएर उनलाई भैंसेपाटीको मेडिसिटी अस्पतालमा भर्ना गरिएको यिथो । सोही अस्पतालमा उपचारका क्रममा उनको आइतबार बिहान ८ः३० बजे निधन भएको थियो । उनको बुधबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भएको छ ।

२१ वैशाख २००० मा मुस्ताङको जोमसोमस्थित थाकखोलामा जन्मिएका उनी मुस्ताङबाट २०१८ सालमा बसाइँ सरेर भैरहवा आएका थिए । भैरहवामा उनले कपडा पसल खोलेर व्यवसाय सुरु गरेका थिए । त्यसपछि उनले २०३१ सालमा भैरहवामा आफ्नै कपडा उद्योग सञ्चालन गरे । सोहीक्रममा गौचन इम्पोरियम भैरहवा सञ्चालन गर्दै आएका उनी दिवंगत हुनु अघिसम्म पनि गौचन इम्पोरियममार्फत कपडा व्यवसायमै सक्रिय थिए ।

ओमकार गौचन समाजसेवीका रूपमा पनि परिचित थिए । थकाली सेवा समिति नेपालका पूर्वकोषाध्यक्ष उनी सो समितिमा दुई कार्यकालसम्म केन्द्रीय सल्लाहकार थिए । यस्तै, थकाली सेवा समिति नेपालको भैरहवा क्षेत्रको दुई कार्यकाल अध्यक्षसमेत रहेका थिए । यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, लायन्स क्लब अफ रूपन्देहीका अध्यक्ष, मुनलाइट बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष, लुम्बिनी विकास कोषका सदस्य, रूपन्देही जिल्ला रेडक्रसका सदस्य भएर उनले सामाजिक सेवा गरेका थिए । उनी भैरहवा मर्निङवाक गु्रपका वर्तमान अध्यक्ष थिए । यसरी थकाली समाज सेवालगायत दर्जनौं संघसंस्थामा आबद्ध रहेर उनले थुप्रै उदाहरणीय कार्य गरेका थिए । जसमध्ये भैरहवाबाट लुम्बिनी प्रवेशका लागि भैरहवामा बनाइएको प्यागोडा शैलीको प्रवेशद्वार गौचनकै संयोजकत्व र पहलमा निर्माण भएको थियो ।

समाजसेवी गौचनले आफ्ना बुवाआमाको सम्झनामा मुस्ताङ जिल्लामा ‘मिन पदम स्मृति पुरस्कार’ पनि सञ्चालन गर्दै आएका थिए । यस्तै, उनले १ लाख ५० हजार रुपैयाँको अक्षय कोषमार्फत सिद्धार्थ साहित्य परिषद् भैरहवाले एसईई परीक्षामा भैरहवाबाट हरेक वर्ष उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिने पुरस्कारको स्थापना गरेका थिए ।

समाजसेवी तथा उद्योगी ओमकार गौचन सामाजिक सेवामा सक्रिय रहेका कारण प्रबल जनसेवा चतुर्थ, नेपाल सरकार समाज कल्याण परिषदबाट समाजसेवा सम्मानसहित विभिन्न मानपदवीबाट सम्मानित भएका थिए ।

यसरी भैरहवामा रहेर लामो समयदेखि टेक्सटाइलको व्यवसायमा रहेका गौचनको मृत्युले सो क्षेत्रका उद्योगी–व्यवसायी अहिले शोकमा छन् । भैरहवाका उद्योगी व्यवसायीले आफ्नो अभिभावक गुमाएको भन्दै शोक व्यक्त गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौचनको निधनले आफूहरूले कुशल उद्योगी तथा समाजसेवी गुमाएको बताएका छन् । ‘संघको आह्वानपछि सोमबार भैरहवा र आसपासमा अत्यावश्यकबाहेक पसल र व्यापारिक प्रतिष्ठान बन्द गरेर हामीले उहाँको निधनप्रति शोक व्यक्त गरेका छौं, गौचन २०५८ सालमा संघको अध्यक्ष हुनुहुन्थ्यो र उहाँको निधनले हामीले यस क्षेत्रका एक अभिभावक गुमाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठका अनुसार गौचनको निधनले भैरहवाका उद्योग, व्यापारीसँगै आमसर्वसाधारण पनि शोकमा छन् । गौचनको निधनपछि आइतबार दिउँसो बसेको सिद्धार्थ उद्योग वाणिज्य संघको बैठकले पूर्वअध्यक्षको निधनमा शोक व्यक्त गर्दै आफू मातहतमा रहेका उद्योग–व्यवसाय सोमबार बन्द गरिएको पनि अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार पूर्वअध्यक्ष गौचनले आफ्नो कार्यकालमा संघ र व्यवसायीको हितमा थुप्रै काम गरेका थिए ।

यस्तै, गौचनको निधनप्रति भैरहवाका व्यवसायीहरूको साझा सञ्जाल सिद्धार्थ व्यवसायी सञ्जालले पनि शोक व्यक्त गरेको छ । सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै गौचनको निधनले भैरहवाका व्यवसायीहरूले एक कुशल व्यक्तित्व गुमाएको बताउँदै सञ्जालका तर्फबाट उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा