कालिकोट । गत बिहीबार रातिदेखि आफ्नो कोठाबाट ४ वर्षीय नाबालकसहित बेपत्ता भएकी गीता जैसी नेपालगन्जमा भेटिएकी छन् ।
बिहीबार रातिदेखि सदरमुकाम मान्माको न्वगैरा आफ्नै कोठाबाट बेपत्ता भएकी गीता शनिबार ३ बजे नेपालगन्जको कारकादो चोकमा रहेको मिरा होटलबाट आफन्तलाई फोन गरेकी छन् ।
उनले मिरा होटलका सञ्चालकको फोनबाट आफ्नो दाइ नमराज सुवेदीको फोनमा रुँदै आत्तिएर फोन गरेकी हुन् । मलाई बचाऊ म एक होटमा पुगेकी छु । म बिहान ४ बजे चर्पीबाट कोठा जाँदै गर्दा तीन÷चार जनाले कोठाको ढोकैमा समातेर घाँटी समाते । म बोल्न सकिनँ, मुखमा के लगाए कहाँ लगे थाहा पाइनँ अहिले एक जंगलमा रहेछु छोरा पनि मसँगै छ । जंगलबाट हिडेर होटल पुगें अहिले होटलमा छु मलाई लैजानु दाजु भनेर फोन गरेकी छन् । त्यसपछि होटल सञ्चालकले भने, ‘रुँदै आत्तिएर मेरो होटलमा आउनुभयो । मैले सोधें के भएको भनी उनले मलाई एकपटक फोन गरिदिनु मेरो आफन्तलाई भनेर आग्रह गरिन् मैले फोन नम्बर मागेर फोन गरिदिएँ ।’
गीताको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटले सिसिटिभी क्यामेराको फुटेज मान्माको प्रतिमाचोकबाट तल्लो बसपार्कतिर छोरा बोकेर हिंडेको जस्तो सिसी क्यमेराको फुटेजले देखाएको प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए । आफन्तको भनाइमा गीताको हुलिया मिलेको छ । अहिले भेटिएकै अवस्थामा फुटेजकै कपडा छ । घटना शंकास्पद हुन सक्ने देखिन्छ । फुटेजमा अनुहार क्लिअर छैन । प्रमुख केसीले भने, गीता नै हुन भन्ने अवस्था पनि छैन । सिसिटिभी क्यामेराको फुटेजअनुसार प्रतीमाचोकदेखि तल्लो रोडमा गएको देखिन्छ । यस विषयमा हामी के हो अपहरण भए नभएको अनुसन्धान गर्ने केसीको भनाइ छ । केही मान्छेले पनि बिच बाटोमा भेट्टाएको भनेर भनेका छन् । यो विषयमा अनुसन्धान गर्दै छौं ।
पतिसँग झगडा परेपछि कालिकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्मा नावगैरास्थित डेराबाट बेपत्ता भएपछि आफन्तजनले आन्दोलनसहित खोजी कार्यका लागि दबाब दिएका थिए ।
उनी दैखेल भगवतीमाई–५ कट्टी घर भएर मान्मा बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्मा बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्मा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समय अघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालिकोटबाटै पहिलो विवाह गरेका थिए ।
महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालिकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । बिहीबार राति ९ बजे मान्मा बजारको आफ्नै दाइको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो थियो । अहिले पनि माइतीपक्षले दानबहादुरकै योजनामा अपहरण गरेको आफन्तको आरोप छ । आमाछोरालाई मार्ने प्रयास असफल भएपछि छोडेको आफन्तले आरोप लगाएका छन् ।
गीताका श्रीमान दानबहादुर शाहीले केही समयअघि आफ्नो फेसबुकको म्यासेन्जरबाट गीता जैसीलाई तेरो बुबालाई मान्छे लगाएर मार्ने मै हुँ तँलाई र तेरो छोरालाई पनि त्यसैगरी मान्छे लगाएर मार्छु भनेर लेखेपछि उनलाई प्रहरीले प्रक्राउ गरी प्रहरी थुनामा रहेका छन् । फेरि गीता बेपत्ता भएपछि शाहीकी जेठी श्रीमती रञ्जना शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाहीले म्यासेन्जरबाट गीता जैसीलाई तेरो बाबुलाई मान्छे लगाएर मार्ने मै हुँ तँलाई र तेरो छोरालाई पनी त्यसैगरी मान्छे लगाएर मार्छु भनेको कुरा अनुसन्धानका लागि साइबर ब्युरोमा रिर्पोट पठाएको छ । रिर्पोट आइपुगेको छैन ।
अहिले सम्पर्कमा आएकी गीता जैसीलाई नेपालगन्ज प्रहरीले नियन्त्रणमा लिएर सोधपुछसँगै कालिकोट ल्याउन लागेको छ ।