माओवादीको तीनमहिने रूपान्तरण अभियान ‘कर्मकाण्ड’मै सीमित ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सञ्चालन गरेको तीनमहिने रूपान्तरण अभियान ‘कर्मकाण्ड’मै सीमित भएको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित सुरु भएको तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ फितलो भएको माओवादी केन्द्रकै नेताले स्वीकार गरेका छन् ।

माओवादी केन्द्रले जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरेको रूपान्तरण अभियान प्रभावकारी हुन सकेको छैन । गत १६ भदौमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेको सो अभियान ७ सय ५३ वटै पालिका एवं ६ हजार ७ सय ४३ वडामा सञ्चालन गर्ने भनिएको थियो । अभियान १५ मंसिरसम्म सञ्चालन हुनेछ ।

सो अभियानमा पार्टीकै पदाधिकारीसहित केन्द्रीय नेतृत्वहरू नै वडासम्म पुग्न सकेका छैनन् । उद्घाटन भएको दुई–तीन दिन जोडतोडले लागेका शीर्ष नेताहरू अहिले वडामा नभई राजधानी काठमाडौंकेन्द्रित भएका छन् । कतिपय नेताहरू पार्टीको अभियान छोडेर विदेश यात्रामा समेत पुगेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड अहिले अमेरिका भ्रमण सकेर चीन भ्रमणमा रहेका छन् । पार्टी वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ नेपाल सरकारको गृहमन्त्रीसमेत हुन् । उनी अहिले सरकारकै काममा व्यस्त छन् । पार्टी उपमहासचिव रहेका शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री छन् । पार्टीका केन्द्रीय अन्य नेताहरूसमेत कोही मन्त्री त कोही मन्त्रीका सचिवालयमा सरकारी कामकाजमै व्यस्त रहेका देखिन्छन् ।

पार्टी उपाध्यक्ष रहेका कृष्णबहादुर महरा, महासचिव देव गुरुङ कुनै कार्यक्रममै देखिँदैनन् । उपाध्यक्ष रहेकी पम्फा भुसाल भने ललितपुरका विभिन्न कार्यक्रममा सक्रिय रहेकी छन् । अर्का उपाध्यक्ष अग्नि सापकोटा भने पार्टीको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै अभियानलाई सफल बनाउन प्रचारका काममा व्यस्त छन् । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा भने पार्टी अभियानमा जोडिएका देखिन्छन् । उपमहासचिव पुन उपत्यका विशेष प्रदेशका इन्चार्ज र शर्मा बाग्मती प्रदेशका इन्चार्जसमेत हुन् । कर्णालीका इन्चार्जसमेत रहेका उपमहासचिव मातृका यादव कर्णाली प्रदेशमै रहेका छन् ।

पार्टी सचिव गणेश साह र पोलिटब्युरो सदस्य लेखनाथ न्यौपाने बिरामी भएपछि आराम गरिरहेका छन् । पूर्वमन्त्री अमनलाल मोदी केही समयअघि उदयपुरको कार्यक्रममा देखिएका थिए भने उनी अहिले नयाँ दिल्ली पुगेका छन् । उता, पोलिटब्युरो सदस्य दीपशिखा भने दक्षिण कोरियामा छन् ।

अभियानमा सक्रिय भएका पोलिटब्युरो सदस्य हिमाल शर्मा अहिले सिन्धुपाल्चोकमा छन् । पार्टीले जिम्मेवारी तोकेर खटाएका नेताहरू आफ्नो कार्यक्षेत्रमा पुगेर काम नगरे कारबाहीको विषय बन्ने शर्माले बताए । अधिकांश नेता आफ्नो जिम्मेवारी पूरा गर्दै कार्यक्षेत्रमा खटिएको बताउँदै कार्यक्षेत्रमा नजाने, काम नगर्ने नेतालाई पार्टीले कारबाही गर्ने शर्माले प्रस्ट्याए ।

‘हामीले १५ दिने कामको समीक्षा ग¥यौं, अभियान प्रभावकारी रूपमा नै अगाडि बढेको छ, हामी जनताका बीचमा पुग्दा माओवादी कता हरायो भन्ने प्रश्नको समेत सामना हामीले ग¥यौं,’ शर्माले राजधानीसँग भने, ‘जनताले हामीसँग धेरै प्रश्न र गुनासो पनि गरेका छन्, माओवादी सहरकेन्द्रित भयो, सुविधाभोगी भयो भन्ने गुनासो पनि जनताले गरेका देखियो, माओवादी जनताको पक्षमा उभिनुप¥यो भन्ने सुझाव जनताको रहेको छ ।’

पार्टीका तर्फबाट संघीय सरकार र प्रदेश सरकारमा रहेका नेतालाई अभियानमा तीन महिनासम्म खटाउन ठीक नभएकाले सीमित क्षेत्रमा मात्रै जिम्मेवारी तोकिएको छ । यद्यपि, संघीय र प्रदेश सांसदका साथै पालिकामा निर्वाचित जनप्रतिनिधिलाई अभियानमा खटाइएको शर्माले बताए । सरकारमा सहभागी नेताले सरकारकै काम प्रभावकारी गर्नुपर्ने र अभियानमा खटिएका नेताले पार्टीको काम प्रभावकारी गर्नुपर्ने भएकाले अभियान सोहीनुसार अगाडि बढेको शर्माले बताए ।

पार्टीका सचिव डिलाराम आचार्य सुदूरपश्चिममा, चक्रपाणी खनाल कोशीमा, हितमान शाक्य लुम्बिनीमा, देवेन्द्र पौडेल गण्डकीमा र लिलामणि पोखरेल मधेसमा रहेका छन् । माओवादी स्रोतका अनुसार कतिपय पदाधिकारीको काम प्रभावकारी देखिएको छैन । पार्टीले गठन गरेको अनुगमन समितिले सूक्ष्म तरिकाले अनुगमन गरिरहेको र आउने दिनमा मूल्यांकन गरी दण्ड र पुरस्कार दुवैको व्यवस्था गरिएको बताइएको छ ।

पार्टीका सचिव दिनानाथ शर्मा बाग्लुङको कार्यक्रम सकेर केही दिनअघि काठमाडौंको कार्यक्रममा आएका थिए । पेसागत संगठनको समेत काम गर्नुपर्ने भएकाले आफू फेरि यताको काम सकेर बाग्लुङ जान लागेको उनले बताए ।

‘यसबीचमा हामीले सांगठनिक कामका साथै जनताका बीचमा जाने काम भएको छ, जनताका धेरै गुनासो पनि हामीसँग छन्, ती गुनासो कस्ता किसिमका छन् भन्ने छुट्याएर हामीले समाधानको उपायसमेत खोजेका छौं,’ शर्माले भने, ‘पालिका, प्रदेश वा संघीय कुन स्तरको हो, त्यही ठाउँबाट समाधान गर्ने हाम्रो योजना हो ।’

शर्माले पार्टीद्वारा गठन गरिएको अनुगमन समितिले समेत सूक्ष्म तरिकाले अनुगमन गरिरहेको र आउने दिनमा कामको मूल्यांकन गरी सोहीनुसार पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउने बताए । कतिपय नेताहरूले कार्यक्षेत्रमा प्रभावकारी काम नगरेको, कार्यक्षेत्रमा जाँदै नगएको पनि सुनिएको बताउँदै उनले सबै कुराको मूल्यांकन गरी आउने दिनमा पनि सोहीनुसार जिम्मेवारी दिइने शर्माले बताए ।

माओवादीले जनताकै घरघरमा पुग्ने, उनीहरूको समस्या सुन्ने र समाधानका उपाय खोज्नुका साथै सरकारले गरेका कामका ’boutमा प्रचार गर्ने, संगठन निर्माणदेखि जनतासँग घुलमिल हुनेगरी कार्यक्रम बनायो । तर, कतिपय नेताहरूले कोठे बैठक गर्ने र दुई–चार जना मान्छे राखेर फोटो खिची सामाजिक सञ्जालमा हाल्नेबाहेक केही पनि नगरेको गुनासो पार्टीभित्र भइरहेको छ ।

माओवादी केन्द्रको अभियान प्रभावकारी नबनेपछि राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमा व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘माके चेतना र विचार अघि लाएर जनजनका घरघर जाला, तिम्रा नजरले मलाई हेरिपाऊँ भन्ला, म हँस्यौलीको बद्रीजस्तै साह्रो बिग्रें, अब सप्रिन्छु भन्ला भन्या त माके नाथे सटक खोस्रिँदै, बढार्दै, धान गोड्दै, काठेपुल मुसार्दै पो हिँड्या छ, भन्देखिलाई– संसार बदल्छु भन्थ्यो माके, आफैं बदलिएछ !’

अभियानका क्रममा पार्टी सदस्यता नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता ८ लाख पु¥याउने, कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूका ’boutमा जानकारी दिने काम हुने माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताए ।

अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्नेछन् । अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरूलाई अन्तरप्रदेश, स्थायी समितिका सदस्य र केन्द्रीय सदस्यहरूलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यहरूलाई अन्तरपालिका खटाउनेगरी कार्यक्षेत्र विभाजन गरिएको छ ।

‘सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला, पालिका तोकिए पनि मुख्य कार्यक्षेत्र (योजना कार्यान्वयनको क्षेत्र) वडालाई बनाउनुपर्नेछ । ‘पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य, सल्लाहकारहरूको नेतृत्वमा पार्टी प्रदेश कमिटी, सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस÷मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारीहरू सम्मिलित वडाकेन्द्रित अभियान टिम हुनेछ,’ माओवादीका एक नेताले भने ।

अभियान टिमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रमहरू सञ्चालन गर्ने र अभियान टोलीमा कलाकार, संस्कृतिकर्मीहरूलाई समेत सहभागिता गराउने रणनीति माओवादीको बनेको थियो । तर, पार्टीले बनाएको रणनीति, योजनाअनुसार नै कार्यक्रम अगाडि बढ्न नसकेको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने आवाज पार्टीभित्रै उठिरहेको छ ।

अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, वितरण, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरूको पहिचान र समाधानको पहल तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गर्ने भनिएको थियो । तर, अधिकांक्ष स्थानमा यस्तो नभएको गुनासो छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान