सिन्धुली । करीव १० वर्षदेखि निर्माणाधिन रहेको शिवनगर महिला समूह तथा शिवनगर टोल विकास संस्थाको अपुरो भवन बनाउन सोमबारदेखि श्रीमदभागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको छ ।
कमलामाई नगरपालिका वडा नंं ६ मा शिवनगरमा बन्दै गरेको भवन पूर्ण बनाउन आर्थिक संकलन गर्न महापुराणको आयोजना गरिएको आयोजकले जनाएको छ ।
शिवनगर महिला समूह तथा शिवनगर टोल विकास संस्थाको आयोजनामा महायज्ञको सुरुवात गरिएको हो । सोमबार विहान सिन्धुलीमाढी बजारमा कलशयात्रा गरी महापुराणको सुरुवात गरिएको हो ।
महायज्ञको उद्घाटन कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले गरेका छन । उनले भवन निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
महायज्ञको उद्घाटन समारोहमा बोल्दै कथा शिरोमणी पण्डित दिपक प्रसाद पौडेलले आफ्नै भूमिमा लगाईने महापुराणमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन । उनले आफुले जिल्लाका १४ मन्दिर निर्माण र शैक्षिक संस्था लगाएतका क्षेत्रमा कथावाचन गरिसकेको बताउँदै यो धार्मिक अभियान मात्र नभई सामाजिक अभियान समेत भएको बताएका छन ।
सबै धर्म संस्कृतिलाई महापुराणमा सहभागि भई मनोरञ्जनका लिनुका साथै विकासको काममा सहयोग गर्न समेत उनले अपिल गरेका छन ।
महापुराणमा कथा शिरोमणी पं. दिपक प्रसाद पौडेलले कथा वाचन गर्ने भएका छन । महापुराणबाट संकलित रकमले अधुरो भवनलाई पुरा गर्ने शिवनगर टोल विकास संस्थाका अध्यक्ष भवानी कार्कीले बताएकी छिन ।
स्थानीय सरकारको सानो संयन्त्र टोल विकासको भवन निर्माणाधिन भएको भए पनि नगरपालिकाको वेवास्ताका कारण भवन निर्माण लामो समयदेखि अलपत्र परेकाले सामाजिक कार्यबाट भवन पुरा गर्ने अभियान चलाएको कार्कीले बताईन । उनले सबैले सहयोग गरिदिन समेत अनुरोध गरेकी छिन । असोज १६ गतेसम्म चल्ने पुराणमा मंगलबारदेखि कथावाचन सुरु हुने छ । विहान १० बजेदेखि ४ बजेसम्म कथावाचन गरिने र साँझ ७ बजेदेखि राती १० बजेसम्म सांस्कृतिक तथा सांगितिक कार्यक्रमहरु गरिने पं. पौडेलले बताएका छन ।
आयोजकले आर्थिक संकलनका लागि आह्वान गर्दै मापदण्ड समेत निर्माण गरेको छ । १ रुपैंयादेखि ४९९ रुपैंयासम्म दान गर्नेले दानपात्रमा राख्न सक्ने, ५ सय देखि ९९९ सम्म सहयोग गर्नेको नाम वाचन गरिने, एक हजारदेखि १९९९ सम्म सहयोग गर्नेलाई नामबाचन सहित फूल टिका प्रसाद प्रदान गरिने, २ हजारदेखि ५ हजार सम्म सहयोग गर्नेलाई यज्ञ मण्डपमा बोलाई रामनामी ओढाएर सम्मान गर्ने, ५ हजारदेखि माथि १० हजारसम्म सहयोग गर्नेलाई सम्मानपत्रको साथमा शिलालेख एवम अभिलेखमा उल्लेख गर्ने आयोजकले जनाएको छ ।
यस्तै १० हजारदेखि माथि सहयोग गर्नेलाई आजिवन सदस्यता प्रदान गर्ने, २५ हजार माथि सहयोग गर्नेको भवनमा फोटो राखिने, र ५० हजारमाथि सहयोग गर्नेलाई सम्पूर्ण परिवारसहित अविरजात्रा गराई दानविर घोषणा गरि सपरिवार अभिनन्दन गरिने आयोजकले जनाएको छ ।
एकलाखदेखि २ लाखसम्म सहयोग गर्ने दातालाई भवनको एक कोठाको नामाकरण गरिने, २ लाखदेखि ५ लाखसम्म सहयोग गर्नेलाई मानार्थ अभिनन्दन सहित सम्पूर्ण परिवारको नामावली ताम्रपत्रमा उल्लेख गरिने बताईएको छ । यस्तै तुलादान, भूमिदान गर्ने व्यक्तिलाई विशेष सम्मानको व्यवस्था गरिने छ ।