लिंगो ठड्याइएसँगै इन्द्रजात्रा पर्व सुरु

ललितपुर । यसपालिको इन्द्रजात्रा पर्व विधिवत रूपमा सुरु भएको छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन मंगलबार हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि यो जात्रा सुरु भएको हो ।

मंगलबार सुभ साइतअनुसार बिहान १० बजेर ३७ मिनेटमा लिंगो ठड्याइएको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । नेपाल भाषामा ‘योसीं’ भनिने ‘इन्द्रध्वजोत्थान’लाई शुभ मंगल सूचकका विभिन्न चिह्न राखेर ध्वजा पताका झुन्ड्याएको हुन्छ । लिंगोलाई ध्वजापताकासहित सिँगारेर उठाउनुलाई इन्द्रध्वजोत्थान भनिन्छ । लिंगो उठाउने क्रममा गुरुज्यूको पल्टनसहितको लावालस्कर पुगेका थिए । पल्टनले हर्षबढाइँ पनि गरेका थिए । हनुमानढोका परिसरमा ठड्याइएको लिंगो आगामी आश्विन कृष्ण चौथीका दिन ढालेपछि इन्द्रजात्रा सकिने परम्परा छ ।

यसपालि इन्द्रजात्रा भने भोलि बिहीबार ११ असोजमा परेको छ । मंगलबार लिंगो ठड्याउनुअघि किलागलका ज्यापु समुदायले विशेष तान्त्रिक देवी नाच प्रस्तुत गरेका थिए । लिंगो ठड्याइएपछि सत्यको जितको प्रतीकस्वरूप इन्द्रध्वज पनि फहराउने चलन छ । ठड्याएको लिंगोको फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिने चलन छ ।

काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याउने परम्परा छ । तान्त्रिक विधिद्वारा पूजा गरी त्यस जंगलमा छोडिएको बोकाले स्पर्स गरेको रूखलाई इन्द्रध्वजाका लागि लिंगोका रूपमा विधिपूर्वक तयार पारिन्छ ।

अष्टध्वजासहित सिँगारिएको लिंगो ठड्याउँदा मंगलधुन बजाइएको छ । रणबहादुर शाहको पालादेखि हनुमानढोका दरबार परिसरमा लिंगो ठड्याउन थालिएको र त्यसअघि मरुटोलस्थित नारायण मन्दिरअगाडि लिंगो ठड्याउने चलन रहेको भनाइ छ । कतैकतै इन्द्रध्वजा उठाउने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको विशाल मूर्तिअगाडि धार्मिक विधिअनुसार सो लिंगो ठड्याएपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । काठमाडौं महानगरपालिका–२५ का काठमाडौं जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजन महर्जनले भने, ‘जात्राभरि लाखेनाच, महाकाली नाच, दशअवतार तथा देवताहरूका राजा इन्द्रको बाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।’

लिंगो ठड्याएको दिन उपत्यकाका नेवार समुदायले मंगलबार काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाएका छन् । यस जात्राका बेला वर्षभरिमा दिवंगत पितृहरूको सम्झनामा घरका सबै सदस्य मिलेर पितृको उद्धारका लागि स्तोत्रपाठ, शान्तिपाठ, गर्नुका साथै विभिन्न मठमन्दिरमा गई पूजा अर्चना गर्ने चलन छ । उनका अनुसार जात्राको अवधिमा हनुमान ढोकामा रहेको तलेजु भवानीअगाडि ५ सय ४ जना कन्या कुमारीलाई पूजा गरिँदै छ । गुठी संस्थानका अनुसार गणेश, कुमारी भैरवको पनि पूजा गर्दै इन्द्रजात्रा मनाइँदै छ । दरबारमा विधिपूर्वक ठड्याएको लिंगोको त्यस दिन पूजा गरिन्छ ।

काठमाडौंका मानन्धर समुदायले गर्ने यस जात्राका बेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा रहेको छ । काठमाडौंका तल्लो टोल, बिचको टोल र माथिल्लो टोलका स्थानीयले गणेश, कुमार, कुमारी भैरवको रथलाई तान्ने परम्परा छ । अघिल्लो दिन तल्लोटोल जैशीदेवलतर्फ श्रीकुमारी यात्रा र पछिल्लो दिन माथिल्लो टोल नरदेवीमा श्रीकुमारी यात्रा हुने महर्जनले बताए ।

आश्विन कृष्ण चौथीका दिन ‘नानीचा याअ’ भनी किलागलतर्फ कुमारी रथयात्रा गरेर गणेश भैरव र कुमारीका तीनवटै रथलाई किलागल परिक्रमा गराई शुभ साइतमा लिंगो ढालेपछि इन्द्रजात्रा सकिन्छ । परिक्रमाका क्रममा ‘नानीचा याअ’ भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई फेरि वसन्तपुर नै पु¥याउने चलन छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाइन्छ ।

पौराणिक कथानुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएर अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिँदै डोरीले पाता कसी बिच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोक कथन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर इन्द्रलोक लगेको र त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भएको मान्यता रहिआएको छ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा इन्द्रजात्रा मनाउने गरिन्छ ।

जात्राको मुख्य दिन हनुमानढोका दरबार क्षेत्रमा दिउँसो राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुने काठमाडौं जात्रा व्यवस्थापन समितिका राजन महर्जनले जानकारी दिए । ‘इन्द्रजात्रामा तानिने रथयात्राको राष्ट्रपतिले अवलोकन गर्नुहुनेछ,’ मर्हजनले भने, ‘त्यसैबेला तल्लो टोलबाट रथ तानेर माथिल्लो टोलसम्म पु¥याइन्छ ।’

इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र ‘सिंल्यं’सत्तलको बिचमा अग्लो डबली बनाइ चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । संस्कृतिविद्हरूका अनुसार नेपालमा देवराज इन्द्रले पारिजातको फूल र कर्कलो टिप्न लागेका बेलामा चोर दोष लगाउँदै मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको किंवदन्ती छ । इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाइ प्रदर्शनमा राखिन्छ । इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर मानिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ । साथै, धिमे बाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।

भैरवको प्रदर्शनी
इन्द्रजात्राका अवसरमा काठमाडौंमा विभिन्न भैरवको प्रदर्शनी गरिन्छ । इन्द्रजात्राका अवसरमा प्रदर्शन गरिने श्वेत भैरव, स्वच्छन्द भैरव, ह्यग्रिव भैरव र घैंटो भैरवको प्रदर्शनी गरिन्छ । श्वेत भैरवलाई क्षमा पूजा गरेसँगै भैरवको प्रदर्शनीको तयारी सुरु हुन्छ । यी भैरव हनुमानढोकामा ३२ हाते लिंगो ठड्याएसँगै प्रदर्शनीमा राखिएको काठमाडौं जात्रा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान