एमाले बाग्मती प्रदेश अधिवेशन : के छ ओलीको समर्थनप्राप्त ढुंगेलको स्थिति ?

मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनको अबधि लम्बिएपछि आज (बिहीबार) मतदान हुँदै छ । ८, ९ र १० असोजका लागि तय भएको अधिवेशन अरू एक दिन लम्बिएको हो ।

नेकपा एमाले बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन नसकी निर्वाचनमार्फत पदाधिकारी चयन गर्नुपर्ने भएकाले अधिवेशन लम्बिएको हो । ८ असोजमा उद्घाटन गरिएको अधिवेशनको बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो भने मंगलबार बन्दसत्र सकिएको थियो । बन्दसत्रले बाग्मती प्रदेश इन्चार्जसमेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचनमण्डल गठन भएको छ । निर्वाचनमण्डलको सदस्यहरूमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ छन् । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पहिलेभन्दा सानो २ सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्दै छ ।

नेतृत्व चयनपछि अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिएको हो । अधिवेशनअन्तर्गत १० असोज बिहान ९ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको थियो । केन्द्रीय नेताहरूले समेत चासोका साथ हेरेको अधिवेशनमा नेतृत्वका लागि आकांक्षीहरूको लर्को लाग्दा अधिवेशन थप लम्बिएको ती प्रतिनिधिले बताए ।

एमाले बाग्मती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रदेश अध्यक्ष पदका लागि नेताहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले आकांक्षा देखाएका छन् । अध्यक्षमा पाँच आकांक्षी देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको )अधिवेशन प्रतिनिधि बाग्मतीका नेता बताउँछन् । आकांक्षीहरूले एकले अर्कालाई छोड्न तयार नभएकाले निर्वाचनमार्फत नै नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको हो ।

सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा)ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि दबाबसहितको आग्रह गरेका थिए । लुम्बिनी प्रदेशमा आफ्नो इच्छाविपरीत नेतृत्व चयन भएपछि बाग्मतीमा पनि प्रतिस्पर्धा हुने बुझेका ओलीले ‘प्रतिस्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुनेछ भन्ने अभिव्यक्ति दिएका हुन् । प्रदेश अधिवेशनको उद्घाटन सभागृहमा भएकामा बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मतदान पार्टी कार्यालय च्यासलमा हुने बताइएको छ ।

अधिवेशनको तेस्रो दिनसम्म आइपुग्दा अध्यक्षका आकांक्षी धेरै भए पनि मुख्य प्रतिस्पर्धा कृष्ण दाहाल र कैलाश ढुंगेलबिच नै हुने देखिएको छ । यी दुईमध्ये अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मत गर्न संकेत दिएको नेताहरूको दाबी छ ।

अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।

त्यसैगरी, दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका अध्यक्ष तथा पार्टी जिल्ला उपसचिव हुन् ।

ओलीको संकेतअनुसार प्रदेश इन्चार्ज बरालले नेताहरूसँग छलफल अझै जारी राखेका छन् । सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने भनेपछि आकांक्षीहरूमध्ये जसले जसलाई पनि छोड्ने अवस्था बन्नुपर्नेमा कैलाश ढुंगेलको नाममा सर्वसम्मति गरौं भनेर छलफल राखिएकाले निष्कर्षमा पुग्न नसकिएको दाहाल निकट स्रोतको दाबी छ ।

पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय प्रदेश कमिटी चयन हुने यस अधिवेशनमा १ हजार १ सय ७४ मतदाता (प्रतिनिधि) सहभागी छन् ।

‘नेतृत्वमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरियो, अन्ततः सफल नभएपछि उमेदवारी दर्ता गरिएको छ, )लोकतान्त्रिक प्रक्रिया अगाडि बढ्छ,’ अध्यक्षमण्डलका सदस्य अरुण नेपालले भने । सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्षमण्डलका अध्यक्ष रहेका गुरु बराल आफैं लागिपरेका थिए । उनले बुधबार बिहानैबाट अध्यक्षका आकांक्षीहरूसँग छलफल गरेका थिए । सो छलफलमा प्रदेश अध्यक्षका आकांक्षीहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशवराज पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी सहभागी थिए । तर, छलफलमा कसैले पनि अडान छाडेनन् ।

आकांक्षी नेताहरू अडानमै रहेपछि मतदानको प्रक्रिया अगाडि बढाइएको हो । तर, मतदानकै प्रक्रियामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने नेताहरूले बताएका छन् । सर्वसम्मत गर्नकै लागि मतदानको समय आज (बिहीबार) बिहान ११ बजे तोकिएको छ । ‘मतदानको प्रक्रिया अगाडि बढिरहन्छ तर सर्वसम्मत नेतृत्व चयन गर्न अनौपचारिक संवाद पनि सँगसँगै अगाडि बढाउँछौं,’ अध्यक्षमण्डलमा रहेका एक नेताले भने । उनका अनुसार, अध्यक्षका आकांक्षीहरूबिच एकपटक छलफल भए पनि अनौपचारिक संवाद निरन्तर भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान