लाहुर थिममा माहिर नारायण रायमाझी

पोखरा । पाल्पा माथागढीका लोकगायक नारायण रायमाझीले गाउँमा छँदा सानैमा लाहुरे आउजाउ भएको देखे । गह्रो झोला भिरेर, हातमा क्यासेटसहित फौजी ड्रेसमै फर्किने त्यो दृश्य उनको बालापनमै अमिट बस्यो । समयक्रमसँगै कतिपय लाहुरेहरु भारतीय सीमा रक्षाको क्रममा ज्यान पनि गुमाए । त्यो कहालीलाग्दो घटनाले यता सिउँदो पुछिने, बालबच्चा टुहुरा हुने र कैयौं आमाको कोख रित्तिन पुग्यो ।

लाहुरे संस्कृतिसँगै जन्मिएका वियोगका गीत गाउँदागाउँदै गायक रायमाझीले अलिक लामो कथा समटेर फिल्म निर्माणमा जुटे । विगतमा ‘गोर्खा पल्टन’ बनाएका उनले ‘परदेशी’ हुँदै त्यसैको सिक्वेल ‘परदेशी–२’ निर्माण तथा निर्देशन गरेका छन् । व्यग्र प्रतीक्षाको ‘परदेशी–२’ त्रिभुवन विमानस्थलबाट विद्यार्थीहरुको बढ्दो विदेश पलायन र त्यसबाट विकसित घटनाक्रमको यथार्थपरक कथा हो । ‘नमुछे आमा दशीमा टीका..’ त रायमाझीको कालजयी गीत हो ।

‘विगतमा भारतीय लाहुरे संस्कृति थियो । पछि खाडी मुलुकमा युवाहरुको पलायन त्यस्तै भयो । अहिले १२ कक्षा सक्नेबित्तिकै विद्यार्थीको विदेशमोह छ,’ फिल्म निर्देशक रायमाझीले पोखरामा पत्रकारसँग भने, ‘आखिर जेजसो भए पनि त्यसबाट थुप्रै कथा जन्मिन पुगेका छन् । मैले लगातार त्यसैमा आधारित फिल्म बनाउन कोशिस गरेँ । ‘लाहुर’ ले जन्माएका थुप्रै कथा छन्, जुनबाट सय भन्दा बढी फिल्ममा पनि अटाउन सकिन्नँ ।’

आगामी २६ असोजदेखि हल छिर्न लागेको ‘परदेशी–२’ प्रचारका लागि फिल्म युनिट यतिखेर देशदौडामा छ । चितवनदेखि नेपालगञ्ज, बुटवल हुँदै पोखरा आइपुगेको फिल्म युनिटले चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा यो फिल्म घरघरको कथा हो भनेको छ । त्यसो त दसैं पनि नजिकिँदो छ । थुप्रै लाहुरेहरु दसैं मेसो पारेर स्वदेश फर्किन्छन् । फिल्मलाई विगतमा जस्तै दर्शकले रुचाउनेमा निर्देशक रायमाझीको विश्वास छ ।

‘विदेशिनु नेपालीका लागि बाध्यता बनेको छ । खासगरी उच्च शिक्षाका लागि परदेशिने नेपालीको विदेश भोगाइलाई फिल्ममार्फत दुरुस्तै उतारिएको छ,’ रायमाझीले भने । गोर्खा पल्टन र परदेशी पनि परदेशिएको कथामा आधारित फिल्म थिए । जुन दर्शकले अत्याधिक रुचाए ।

फिल्मका नायक छन्, प्रकाश सपूत । उनी पनि विदेशको विछोड गाउन माहिर छन् । ‘बोलमाया’ सिक्वेल भिडियो दर्शक–स्रोताको मनमनमा बसेका छन् । चर्चित गायक समेत रहेका सपूतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेकोले आफू जोडिएको बताए । गीत संगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर आबद्ध भएको उनले बताए ।

अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको जनाइन् । प्रदर्शनका हिसाबले यो फिल्म आफ्नो ३३ औं फिल्म भएको उनले जनाइन् । प्रकाश सपूतलाई फिल्म क्षेत्रमा स्वागत गर्दै केकीले प्रकाशको अभिनय कौशलतालाई हेर्दा नयाँ जस्तै नलागेको भन्दै प्रशंसा गरिन् ।

फिल्ममा प्रकाश र केकीको अलावा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त लगानीमा निर्मित फिल्ममा मानकृष्ण महर्जनको छायांकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ । अष्ट महर्जनको द्वन्द्व, श्याम श्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन छ ।

फिल्मको शुक्रबार बागलुङमा प्रिमियर शो भयो । प्रचारका लागि फिल्म युनिट ‘परदेशी–२’ मा आधारित नाटक पनि देखाउँदै स्कुल–स्कुलमा पुग्ने गरेको छ । फिल्म प्रचारको यो शैलीलाई पनि धेरैले रुचाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी