कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवाका ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो। उनीहरुलाई घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतिलाल क्षेत्रीले बताए ।
सर्पले डसेको थाहा पाएलगत्तै बिहान ४ बजे गोरुसिँगे स्थित सर्पदशं उपचार केन्द्रमा लगिएकामा थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उपचारका क्रममा ३ वर्षीय बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए । आठ वर्षीय इशिकाको भेण्टीलेटरमा राखेर उपचार भइरहेको डा. रानाले बताए ।
परिवारले ३ वर्षिय रितिकालाई सर्पले टोकेको आशंका गरी सर्पदंश अस्पताल गोरुसिँगेमा पुर्याएकामा उनलाई थप उपचारका लागि बुटवल रेफर गरिएको सर्पदंश अस्पतलाका व्यवस्थापक नबिन भण्डारीले बताए । त्यसपश्चात तीन वर्षीय बालिकालाई पनि आशंका मानी उपचारका लागिसँगै अस्पताल लगिएको बताइएको छ । एक जनाको कान र एकजनाको हातमा सर्पले डसेको बताइएको छ ।






