जसपा ‘कम्युनिस्ट’ नबन्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) निर्माण हुने भनिएको कम्युनिस्ट पार्टीमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । विभिन्न चार पार्टी मिलेर गठन भएको समाजवादी मोर्चालाई पछि गएर कम्युनिस्ट पार्टीको रूप दिने चर्चाबीच जसपाले त्यस्तो कम्युनिस्ट पार्टी निर्माणमा सहभागी नहुने बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर केही समयअघि समाजवादी मोर्चा निर्माण गरिएको थियो । यस मोर्चाले विभिन्न प्रदेश एवं जिल्लामा सभा गरिसकेको छ ।

समाजवादी मोर्चामा सहभागी तीन कम्युनिस्ट पार्टी रहेका छन् । उनीहरूका बीचमा पार्टी एकीकरण गर्ने भित्रभित्रै छलफल हुनुका साथै सार्वजनिक रूपमा समेत कतिपय नेताले पार्टी एकीकरण गर्न सकिने भन्ने अभिव्यक्ति दिँदै आएका छन् । सोही कारण जसपा अध्यक्ष उपेन्द्र यादवले जसपा कम्युनिस्ट पार्टीको रूपमा एकीकरण गर्न नसक्ने प्रस्टीकरण दिएका छन् ।

जसपा सैद्धान्तिक रूपले सामाजिक लोकतान्त्रिक पार्टी भएको र कम्युनिस्ट पार्टी हुन नसक्ने यादवले उल्लेख गरेका छन् । वर्तमान अवस्थाको समाजवादी मोर्चा कम्युनिस्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन नसक्नेसमेत उनले स्पष्ट गरेका छन् ।

यादवले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘एउटा समाजवादी पार्टीको लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टीहरूबीच सहकार्य र मोर्चा मात्र हुनसक्छ ।’ जसपा कुनै पनि हालतमा एउटा कम्युनिस्ट पार्टी वा साम्यवादी मोर्चाका रूपमा रूपान्तरण हुन नसक्ने उनले स्पष्ट गरेका छन् ।

‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक, आर्थिक शोषण, उत्पीडनका साथै वर्गीय, जातीय र लिंगका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मूलन गर्दै आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक आर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिस्ट वा साम्यवादी हुन सकिँदैन,’ यादवले उल्लेख गरेका छन् ।

समाजवादी मोर्चालाई नै कम्युनिस्ट पार्टीको रूपमा रूपान्तरण गर्ने चर्चाका बीचमा उनले कुनै किसिमको भ्रम वा दुविधामा नरहनसमेत आग्रह गरेका छन् । जसपा सम्मिलित समाजवादी मोर्चालाई कतिपयले साम्यवादी मोर्चाका रूपमा बुझने, बुझाउने गरेको र त्यसले पार्टीपंक्तिमा केही भ्रम सिर्जना गरेको सन्दर्भमा पार्टीको सो धारणा सार्वजनिक भएको पार्टीका नेता प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

समाजवादी मोर्चा गठन भएपछि जसपा र एकीकृत समाजवादीका बीचमा पार्टी एकीकरणका लागि पटकपटक छलफल भएको थियो । दुवै पार्टीले वार्ता समिति गठन गरी एकअर्काको विधान, दस्तावेजसमेत अदानप्रदान गरी अध्ययन गर्नुका साथै एकीकरणका लागि छलफल गरेका थिए । तर, पछिल्लो समय एकीकरणका लागि छलफल भएको छैन ।

उता, एकीकृत समाजवादी र माओवादी केन्द्रका बीचमा समेत पार्टी एकीकरण हुने चर्चा हुन्थ्यो । दुवै पार्टीले त्यसका लागि वार्ता समिति गठन गरी छलफल गरे पनि अन्तिम टुंगो लाग्न सकेन । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाका बीचमा एकीकरणका लागि छलफल भएको थियो । त्यो छलफल अझै जारी भए पनि एकीकरण कहिले गर्ने भन्ने टुंगो नेताहरूले लगाउन सकेका छैनन् ।

पछिल्लो समय पार्टी एकीकरणकै लागि माओवादी केन्द्रले पार्टीको नामबाट माओवादी केन्द्र हटाउन सकिने भन्ने निर्णय गर्दै त्यसका ’boutमा पार्टीभित्र छलफल थालेको छ । माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लवको नेकपालगायतका पार्टीसँग एकीकरणका लागि छलफल गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि