रथीमा सिफारिस पाण्डेविरुद्ध कुनै उजुरी परेन

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएलगत्तै रथी बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । भावी प्रधानसेनापतिसँग जोडिएको विषय हुनाले रथी बढुवा प्रक्रियाले विशेष महत्व राखेको छ । प्रधानसेनापति शर्मा आज (बिहीबार) स्वदेश फर्किंदै छन् ।

भावी प्रधानसेनापति निश्चित

सैनिक ऐनले रथी बढुवाका लागि सिफारिस गर्ने अधिकार प्रधानसेनापतिलाई दिएको छ । प्रधानसेनापतिले सिफारिस गरेपछि रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले बढुवाको अन्तिम निर्णय गर्नेछ ।

प्रधानसेनापति शर्मा अध्यक्ष रहेको बढुवा समितिले उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न यसअघि नै सिफारिस गरिसकेको छ । सेनाको युद्धकार्य महानिर्देशनालयका महानिर्देशकसमेत रहेका पाण्डे वरीयतामा सबैभन्दा वरिष्ठतम् उपरथी हुन् । उनलाई रथी बढुवाका लागि गत ३० असोजमै सातदिने सूचना जारी गरिएको थियो । सूचनाको म्याद सकिइसकेको छ । पाण्डेविरुद्ध बुधबारसम्म कुनै पनि उजुरी नपरेको सैनिक मुख्यालयले जनाएको छ ।

यस अवधिमा पाण्डेविरुद्ध बढुवा समितिमा कुनै उजुरी नपरेकाले अब बढुवाको प्रक्रिया अगाडि बढ्ने सैनिक मुख्यालयका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । सैनिक नियमावलीनुसार बढुवाका लागि सूचना सार्वजनिक भएको सात दिनभित्रमा बढुवा सिफारिस हुने व्यक्तिविरुद्ध उजुरी गर्न सकिने व्यवस्था छ । तर, पाण्डेविरुद्ध कुनै उजुरी नपरेकाले बढुवाको प्रक्रिया केही दिनमै अगाडि बढ्ने भएको हो ।

उपरथी पाण्डेको उपरथीको पदावधि २३ मंसिरसम्म बाँकी छ । रथीमा बढुवा भए उनी ४५औं प्रधानसेनापतिका स्वाभाविक हकदार हुनेछन् । हालका प्रधानसेनापति शर्मा आगामी २४ भदौ २०८१ मा अवकाशमा गएपछि पाण्डे प्रधानसेनापति बन्नेछन् । सैनिक ऐनले बहालवाला प्रधानसेनापतिलाई भावी प्रधानसेनापति सिफारिस गर्ने समेत अधिकार दिएको छ ।

पाण्डेभन्दा अघिल्लो वरीयतामा रथी सीताराम खड्का छन् । उनी आगामी ३ पुसमा उमेर हदका कारण अवकाशमा जानेछन् । उनको अवकाशपछि पाण्डे वरिष्ठतम् रथी बन्ने भएकाले भावी प्रधानसेनापतिको रोलक्रममा रहने भएका हुन् ।

पाण्डेले सेनाको सम्भाररथी, सैनिक गुप्तचर विभागको प्रमुखको जिम्मेवारी बहन गरिसकेका छन् । उनले अहिले बहन गर्दै आएको युद्धकार्य महानिर्देशनालय सेनाको सबैभन्दा शक्तिशाली निकाय मानिन्छ । उनले मध्यपृतना हेटौंडाको पृतनापतिको जिम्मेवारीसमेत बहन गरिसकेका छन् ।

पाण्डेलाई रथी सरोजप्रताप राणाको ठाउँमा बढुवा गर्न लागिएको हो । हालका रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अनिवार्य अवकाश पाइसकेका छन् । राणा अवकाश हुनु १५ दिन अघिबाटै बिदामा थिए । उनी अवकाश हुने भएपछि रिक्त रहने रथी पदमा बढुवाका लागि सैनिक मुख्यालयले उपरथी पाण्डेको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

पाण्डेभन्दा नौ महिना पछि उपरथीमा बढुवा भएका अशोक सिग्देल भने खड्काको अवकाशपछि रथी बढुवाको लाइनमा छन् । सिग्देल सेनाको नीति विभागमा कार्यरत छन् । सिग्देल र पाण्डे दुवै एकै बेसिकका अधिकृत हुन् ।

यता, पाण्डे रथीमा बढुवा हुने निश्चितजस्तै भएपछि विगतमा झैं यसपटक पनि जन्ममितिको लफडा सिर्जना गरिएको छ । तर, पाण्डेले यस विषयमा यसअघि नै क्लिन चिट पाइसकेका छन् ।

उता, सैनिक मुख्यालयले रथी दर्जामा पदोन्नति प्रक्रिया’bout सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै विज्ञप्तिसमेत जारी गरेको छ । सेनाले विज्ञप्तिमा भनेको छ, ‘स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावलीलगायतका कानुनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यासअनुरूप नै पदोन्नतिको प्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेरसम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायतका निकायबाट यकीन भइसकेकामा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएका टीकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ ।

पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहुँदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढंगले सञ्चारमाध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ ।’

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व