१ सय ५७ को मृत्यु, १ सय ९७ घाइते

राजधानी काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीसम्मै धक्का दिनेगरी शुक्रबार मध्यराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो संख्यामा मानवीय र भौतिक क्षति गराएको छ । जाजरकोटको ’boutकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको असर जाजरकोट र छिमेकी जिल्ला पश्चिम रुकुममा बढी परेको छ । रातको समयमा भूकम्प गएकाले पनि मानवीय क्षति बढी भएको हो ।

गत १७ असोजमा बझाङलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युड र गत वर्षको २२ कात्तिकान डोटीमा केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । यो हिसाबले भन्दा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प बझाङ र डोटीको बराबर हो । तर, मानवीय र भौतिक क्षति भने जाजरकोट भूकम्पले बढी नै गरायो ।

नेपाल सरकारको विपद् जोखिम न्यूनीकरणको पोर्टलमा राखिएको जानकारीअनुसार डोटीमा ६ जना र बझाङ र बाजुरामा एक÷एक जनाको मृत्यु भएको थियो ।

यो समाचार तयार पार्दासम्म जाजरकोट भूकम्पमा परी जाजरकोटमा १ सय ५ र पश्चिम रुकुममा ५२ जनाको निधन भएको छ । यसैगरी, भूकम्पबाट जाजरकोटमा १ सय ५, रुकुमपश्चिममा ८५, दैलेख र बैतडीमा तीन÷तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । त्यस्तै, जाजरकोट र पश्चिम रुकुममा भूकम्पमा परेका १ सय ९० जनाभन्दा बढीको उद्धार गरिएको छ । जाजरकोट र पश्चिम रुकुमका दुर्गम क्षेत्रको थप विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने देखिएको छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले भूकम्पमा परेकाको खोज तथा उद्धार गरिरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प भने होइन ।

‘जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प हो,’ अधिकारीले भने ।

जाजरकोट भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटरभित्र रहेको उनको भनाइ छ । सो भूकम्पपछि चारवटा परकम्प गएका थिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि १ घण्टाभित्रै चार परकम्प गएको थियो । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हो ।

भूगर्भ विभागका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार, रातको समय भएकाले पनि जाजरकोट भूकम्पको क्षति बढी भएको हो । ‘मध्यरातमा भूकम्प गएकाले मस्तसँग निदाएका मानिसले गुहार नै भन्न पाएनन् । घर धेरै भत्किएकाले पनि हताहती बढी हुन पुग्यो ।’

भूगर्भ विभागका भूकम्पविद् भट्टराईका अनुसार जाजरकोट भूकम्प बाजुरा र बझाङको भूकम्पबराबर भए पनि यसमा बढी क्षति हुनुका कारण विभिन्न छन् ।

उनले भने, ‘केन्द्रबिन्दुबाट बस्तीको दूरी, भौगोलिक, भौगर्भिक अवस्था, भौगर्भिक जटिलता, त्यस क्षेत्रमा यसभन्दा अघि गएका भूकम्पको पराकम्पलगायतले भूकम्पमा हुने क्षति बढी र घटी हुने गर्छ ।’

भूकम्पविद्हरूका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले धेरै क्षति हुनुमा पहिलो कुरा कमजोर भवन संरचना निर्माण हो । २०७२ सालमा नेपालको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि भूकम्पविद्हरूले पटक÷पटक पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा रहेकाले सजग हुन भनिरहेका थिए । तर, राज्यले त्यसतर्फ ध्यान नदिँदा ठुलो धनजनको क्षति हुन पुग्यो । दोस्रोः कमजोर भौतिक संरचनाका साथै मध्य रातमा ठुलो भूकम्प जाँदा स्थानीय बाहिर निस्कन नसक्दा जाजरकोट र रुकुमपश्चिममा मानवीय क्षति धेरै भएको मानिन्छ ।

भूकम्पविद् अधिकारीका अनुुसार भूकम्पबाट ९० प्रतिशतभन्दा बढी मृत्यु कमजोर भवन संरचना भत्किएर हुने गरेको छ । बलियो भौतिक संरचना बनाउन सकिएन भने क्षति बढी हुने गर्छ र सुरक्षित हुन पनि सकिँदैन । ठुलो भूकम्पको उच्च जोखिममा रहेको चिलीमा पटक÷पटक भूकम्प जाँदा पनि क्षति कम हुनुको कारण बलियो भौतिक संरचना निर्माणले गर्दा भएको विज्ञको भनाइ छ । नेपालमा पनि विगत र अहिलेको भूकम्पको जोखिम र भावी दिनमा जान सक्ने भूकम्पले बनाउने क्षतिबाट जोखिन सरकारले अहिले नै बलियो भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने विज्ञ बताउँछन् ।

नेपाल भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्छ । त्यसमा पनि नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ ।

१२ वैशाख २०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ठूलै भूकम्प आए पनि गोरखा पश्चिममा भने ठुलो भूकम्प गएको छैन । गोरखा भूकम्प र त्यसपछिका परकम्पले गोरखापूर्वका जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक र दोलखालाई बढी क्षति पु¥याएको थियो ।

गोरखा पश्चिममा बेलाबेलामा सानातिना भूकम्प गइरहे पनि भूकम्पको जोखिम क्षेत्रमा पर्ने गोरखा पश्चिम र भारतको देहरादुन पूर्वतर्फ ५ सय १८ वर्षदेखि महाभूकम्प गएको छैन । सन् १५०५ पछि पश्चिम नेपालमा ठुलो भूकम्प गएको छैन ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले नेपालको पश्चिम क्षेत्रमा विगत ५ सय वर्षदेखि ठुलो भूकम्प नगएकाले जुनसुकै बेला जान सक्ने भएकाले सचेत रहनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाणगंगाका जनप्रतिनिधिहरुले सपथसँगै पदभार ग्रहण