विज्ञ टोलीको खोरमा नरभक्षी चितुवा

बैतडी । बैतडीको तल्लोसोराडमा २०६८ सालयता मानवबस्तीमा पसेर क्षति पुर्याउँदै आएको नरभंक्षी चितुवा बिज्ञ टोलीले थापेको खोरमा फसेको छ । मेलौली नगरपालिका वडा नं ९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिए ।

खोरमा चितुवा फसाउन बाख्रो राख्ने गरिएको थियो । यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञ चितुवा प्रभाबित क्षेत्रमा पुगेर खोर निर्माण गरेका थिए । चितुवाले मानवबस्तीमा क्षति पुर्याएको ठाउँमा फलामे र काठे खोर गरी तीनओटा खोर राखिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले मेलौली नगरपालिका–९ असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राखेका थिए । नरभक्षी चितुवा खोरमा फसेको बिषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराईसकेको र त्यहाँबाट विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर स्थानान्तरण गरिने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए ।

नरभंक्षी चितुवाले तल्लोसोराड क्षेत्रमा २०६८ साल यता २५ जनाको ज्यान लिईसकेको छ । नरभक्षी चितुवा खोर फसेपछि स्थानीयबासी खुसी भएका छन् । लगातार मानवस्तीमा पसेर चितुवाले आक्रमण गर्दै आएकोमा चितुवा खोरभित्र फसेपछि त्रास हटेको स्थानीयबासि गौरीदत्त भट्टले जानकारी दिए ।

नरभंक्षी चितुवाले गएको फागुन २७ मा ओछ्यानबाटै मेलौली ९ असुरकी ८ बर्षीय सीता लुहारको ज्यान लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य