धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा सुरु गरेको छ । उपमहानगरभित्र आगलागी हुँदा छिटो घटनास्थलमा पुगेर क्षति न्यूनीकरण गर्न सकियोस् भनेर मोबाइल एपबाटै दमकल बोलाउन सकिने सेवा व्यवस्था गरेको हो ।
आगलागी भएको समयमा सो स्थानको जाने बाटो गुगल म्याप्सबाट देखाउनेगरी विपद्मा छिटो सेवा प्रवाह गर्न मोबाइलबाटै सम्पूर्ण जानकारी दिने सेवा सुरु गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । उपमहानगरपालिकाले प्रयोग गर्दै आएको लुना जीपीएस एपमार्फत यस्तो सेवा सञ्चालनमा ल्याइएको हो ।
सेवाग्राहीले आगलागी भएको जानकारी दिनासाथ उपमहानगरको विपद् शाखामा –विपद्, दमकल, नगर प्रहरी)मा कसले, कुन ठाउँबाट र कुन नम्बर प्रयोग गरी दमकल बोलाएको छ भन्ने कुराको जानकारी पुग्छ । ‘आगलागी भएको बेला पूरा विवरण एकैपटक पठाउन मिल्ने र छिटो सेवा लिन सकिने नेपालमै नेपाली वैज्ञानिकले तयार पारेको प्रविधि हो,’ नगरप्रमुख हमालले भने, ‘यो नेपालमै पहिलोपटक धनगढी उप–महानगरपालिकाद्वारा सुरु गरिएको सेवा हो ।’
नगरप्रमुख हमाललले नगरवासीले लुना जीपीएस नामक एप प्रयोग गरी यो सेवा उपयोग गर्न सक्ने र सो एप गुगल ड्राइभबाट इन्स्टल गर्न सकिनेछ । गुगल ड्राइभबाट एपको एपीके फाइल डाउनलोड गरेर इन्स्टल गर्नुपर्नेहुन्छ । त्यसपछि नागरिकताको फोटो अपलोड गरी अकाउन्ट बनाएर एप प्रयोग गर्न सकिन्छ । आगलागी नभएको बेला सो एपमा रहेको सो फिचर प्रयोग नगरिदिन धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ ।