गरिब झन् गरिब किन हुन्छन् ?

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले भनेका छन्, ‘गरिब भएर जन्मनु तिम्रो कुनै गल्ती होइन, तर गरिबै भएर मर्नु चाहिं तिम्रो गल्ती हो ।’ हुन त पुगिसरी हुनेले जे भने पनि हुन्छ, तैपनि उक्त भनाइमा केही दम चाहिं अवश्य छ । विश्व बैंकको तथ्यांकअनुसार विश्व जनसंख्याको ९ दशमलव ३ प्रतिशत अर्थात् करिब ७० करोड जनसंख्या अति गरिबका रूपमा रहेका छन् । प्रतिव्यक्ति दैनिक २ दशमलव १५ डलरभन्दा कम आम्दानी हुनेहरू यस वर्गमा पर्दछन् । कोभिड–१९ का कारणले करिब ७ करोड नयाँ अति गरिब विश्वमा थपिएका थिए । सन् २०३० सम्म विश्वबाट अति गरिबको संख्या ३ प्रतिशत अर्थात् २५ करोडमा झार्ने भन्ने विश्व लक्ष्यलाई यसले ठुलो धक्का दिएको छ । करिब ६ दशमलव ८ प्रतिशत अर्थात् ५७ करोड जनसंख्या सन् २०३० सम्मै अति गरिबीमा रहने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकले गरेको अध्ययनअनुसार प्रतिव्यक्ति प्रतिदिन ३ दशमलव ६५ डलर र प्रतिव्यक्ति प्रतिदिन ६ दशमलव ८५ डलर कमाउनेको जनसंख्या क्रमशः १ दशमलव ८५ अर्ब (कुल जनसंख्याको २६ प्रतिशत) र ३ दशमलव ७१ अर्ब (कुल जनसंख्याको ४६ प्रतिशत) छ । विश्वका करिब आधा जनसंख्या गरिब रहेको तथ्य उजागर भएको छ । त्यसको पनि आधा हिस्सा ५ वटा देश (नाइजेरिया, कंगो, भारत, बंगलादेश र इथियोपिया)ले ओगट्छ । सबसाहारियन अफ्रिकन राष्ट्र र दक्षिण एसियन राष्ट्रमा विश्वको ८५ प्रतिशत गरिबहरू छन् । हामी पनि दक्षिण एसिया क्षेत्रलाई प्रतिनिधित्व गर्दछौं । गरिब झन् गरिब किन हुन्छन् भन्ने’bout गरिएको अध्ययनले केही विशेषतालाई कारणका रूपमा अघि सारेको छ ।

१) वित्तीय पहुँच : गरिबहरू वित्तीय सेवाको पहुँचबाट टाढा हुन्छन् । बैंकिङ सेवा लिनका आवश्यक पर्ने प्रक्रिया पूरा गर्न असमर्थ हुन्छन् । न्यूनतम मौज्दात, अन्य शुल्क र अपायकताका कारणले उनीहरूले सेवाबापत चुकाउने रकम बढी हुन्छ । सीमित अवसर र स्रोतबीच बाँच्ने उनीहरूसँग बचत गर्ने बानी नै हुँदैन वा भनौं सधैं गर्जो टार्न मात्र टुपुक्क पुग्छ । वित्तीय योजना नहुँदा भैपरी आउने खर्च टार्न उनीहरू स्थानीय साहुमहाजनको शरणमा पुग्छन्, जसको ब्याज निकै महँगो हुन्छ । गरिब बस्तीमा निःशुल्क बैंकिङ सेवाका लागि प्रयोग गरिने विभिन्न खाले प्रविधि, मेसिनहरू एवं शाखा अपर्याप्त हुन्छ । यस्तो अवस्थालाई बैंकिङ डिस्टर्ब भन्ने गरिन्छ ।

२) स्वास्थ्य उपचार : गरिबको स्वास्थ्य अवस्था निकै दयनीय र टिठलाग्दो हुन्छ । उनीहरूको क्षेत्रमा डाक्टर, अस्पताल, औषधी पसल निकै कम मात्रामा हुन्छन् । जसका कारण उनीहरूले आप्mनो रोग पत्ता लगाउनै महँगो मूल्य तिरिसकेका हुन्छन् । गरिबीका कारणले उनीहरूको प्राथमिकतामा स्वास्थ्यको हेरचाह लगभग पर्दैन । बाल मृत्युदर र मातृ मृत्युदर यी वर्गमा निकै बढी हुन्छ । उपचार खर्चका लागि पनि यिनीहरू अरूको मुख ताक्ने बाध्यतामा हुन्छन् र महँगो ब्याजको भारीले थिचिन पुग्छन् । यस्तो अवस्थालाई मेडिकल डिस्टर्ब भन्ने गरिन्छ ।

जनता धनी भए देश धनी हुने हो । आन्तरिक उत्पादकत्वले भन्दा पनि रेमिट्यान्स आप्रवाहका कारण हाम्रो गरिबी दर घटेको तथ्यलाई हामीले बिर्सन हुँदैन । गरिबी बढ्नुका अन्य कारण पनि होलान् तर, सरकारले उल्लेखित तथ्यलाई आत्मासात गरेर नीति र कानुनको कार्यान्वयनमा कडाइ र समय नघर्किंदै संशोधन र परिवर्तन नगरेसम्म गरिब र गरिबी बढ्ने क्रमलाई सायदै रोक्न सकिन्छ

३) यातायात सुविधा : विकट क्षेत्रमा यातायातको पहुँच पनि कम हुन्छ । गरिबहरू बस्ने क्षेत्रको विकटताका कारणले उनीहरू सहज यातायातको सुविधाबाट वञ्चित हुन्छन् । जसका कारण उनीहरूलाई रोजगारीका लागि गन्तव्यमै पुग्न समय र खर्च बढी लाग्ने गर्दछ । आपतविपतका बेलामा पनि यिनले समयमै सुविधा नपाउने मात्रै होइन, पाइहाले पनि महँगो भाडाको मार खेप्नुपर्ने हुन्छ । विद्यालय शिक्षाका लागि पनि यही समस्याबाट यिनीहरू गुज्रिने गर्दछन् । यसले पनि गरिबलाई झन् गरिब हुन बाध्य पारिरहेको हुन्छ ।

४) खाद्यान्नमा पहुँच : गरिबीका कारणले आधारभूत खाद्यान्नमै उनीहरूको पहुँच कम हुन्छ । खाद्यान्न उत्पादन गर्न उनीहरूसँग आफ्नै खेतबारी हुँदैन । बिडम्बना के भने गरिबले खाने दालचामल, नुन, तेलको भाउ र धनीले खाने तिनै वस्तुको भाउमा खासै अन्तर हुँदैन । यीलगायतका चिजबिज यातायातको सुविधा, ठुलो परिमाणमा खरिद र व्यक्तिगत पहुँचका कारणले गरिबले भन्दा सस्तोमा धनीहरूले नै खरिद गर्ने गर्दछन् । हुँदा खाने बाध्यताका कारणले गरिब बस्ती छेउकै सानो पसलमा निर्भर रहने गर्दछन्, जहाँको भाउ बढी हुने गर्दछ । यस्तो अवस्थाका कारणले गरिबहरू पोषिलो र ताजा खाद्यान्नबाट पनि वञ्चित हुन्छन् । खाद्यान्नबाहेकका अन्य वस्तुभाउमा पनि यही चक्रले काम गरिरहेको हुन्छ ।

५) उपयोगिता : दैनिक प्रयोग हने उपयोगिताका सेवामा पनि यिनले बढी भार बेहोर्नु परिरहेको हुन्छ । बिरलै प्राप्त हुने बिजुली, खानेपानी, ग्यास, इन्धन, टेलिफोन, इन्टरनेटलगायतका सेवाहरू प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क समयमै नतिर्दा थप जरिमाना तिर्न बाध्य हुन्छन् । कमाइको ठेगान नहुँदा लामो समयका लागि यी सेवाको कटौतीको मारमा पर्दा अन्य विविध समस्याबाट यिनलाई पीडित हुनुपर्ने हुन्छ ।

६) सरकारी सेवा : गरिबसँग कमाउने आधारको अभावका कारण सीमित स्रोतमा बाँच्ने बाध्यता हुन्छ । तर, सरकारी सेवामा लाग्ने शुल्कको दर धनी बराबरकै हुन्छ । जन्मदर्तादेखि मृत्यु दर्तासम्मको रकममा कुनै अन्तर हुँदैन । पहुँचको अभाव र पूर्वयोजनाबिनाको आवश्यकता र समस्याका कारणले यी खर्चमा पनि गरिब महँगो ऋणकै भरमा हुन्छन् । अशिक्षा र अचेतनाका कारणले निःशुल्क वा कम मूल्यमा पाइने सरकारी सेवाका लागि पनि यी दलालको चंगुलमा फस्दा बढी मूल्य तिर्न बाध्य हुन्छन् ।

७) लघुकर्जा : गरिबीका कारणले हातमुख जोर्नै हम्मेहम्मे पर्ने जीवनयापन गर्ने उनीहरूका लागि सहज, सुलभ र सस्तो कर्जाको अवसर बिरलै प्राप्त हुन्छ । चेतना, ज्ञान र पुँजी अभावले गर्दा ठुला उद्योगका सपना उनका बसभित्र पर्दैनन् । लघु तथा घरेलु उद्यमका लागि पनि लघुकर्जाको असहजताका कारण उनीहरू उद्यमशीलताबाट धेरै पर धकेलिएका हुन्छन् । लघुकर्जाहरू यिनका प्रगतिका आधार बन्नुका साटो महँगो ब्याजदरका कारणले अधोगतिका माध्यम बनिरहेका छन् । करिब सयकडा ३ प्रतिशतका दरले व्याज तिर्न यी अहिले पनि बाध्य छन् ।

८) बिमा सेवा : बिमाका फाइदाहरू प्रशस्त छन् तर सःशुल्क । गरिबहरू बिमा सुविधाको नजिकै पुग्न सक्दैनन् । शिक्षाको कमी, कमाइको बेठेगान, जीउनमै सास्तीलगायतका कारणले बिमाका सुविधा गरिबका लागि आकाशका फल जस्तै हुन् । जसका कारण सानातिना घटना वा दुर्घटनाले पनि उनीहरूलाई उठ्नै नसक्ने गरी सदाका लागि ऋणको पासोमा पु¥याइदिन्छ ।

९) रोजगारी : असीमित गरिबका लागि सीमित रोजगारीको अवसर उपलव्ध हुन्छ । स्थायी प्रकारका काम पाउनु गरिबका लागि सपनासरि नै हुन्छ । ज्यालादारीमै जीवन सक्ने यिनीहरूको पोल्टामा खतरनाक, कमसल र कठिन कामहरू मात्र पर्दछन् । न्यून दैनिक ज्याला, असुरक्षित संरचना र जीवन नै गुम्न सक्ने जोखिमसँग यिनको जहिल्यै सामना भइरहन्छ । रोजगारीका क्रममा अपायक, अमिल्दो र अनकन्टार ठाँउमा यिनले पुग्नुपर्ने हुन्छ । कमाइभन्दा बढी खर्च, समय र सास्ती भोग्नु यिनको नियति जस्तै हो ।

०) शिक्षा : शिक्षा हिजोआज महँगो छ । गरिबका लागि स्तरीय शिक्षाको सहज व्यवस्था बिरलै उपलव्ध छ । सन्तान पढाउने रहरमा यिनले केही लगानी आफ्नो गाँस काटेरै भए पनि गर्दछन् । तर, निरन्तरता दिन नसक्दा उनीहरूको लगानी बालुवामा पानी जस्तै हुने गर्दछ । त्यहाँ गरिएको लगानी अन्य कुनै उत्पादनशील क्षेत्रमा गर्न सकेको भए यिनको जीवनमा केही सहयोग पुग्न सक्थ्यो । अपुरो शिक्षामा गरिएका लगानीका कारण वित्तीय बोझले यिनीहरूलाई थप पिरलो दिन्छ ।

११) वातावरण : खोलाको किनार, कमजोर भूभाग, मक्किएको छाप्रो, मठमन्दिरका पौवापाटी, सुकुम्बासी बस्तीहरू, खतराका सूचीमा रहेका क्षेत्रहरू यिनका वरिपरिका वातावरण हुने गर्दछन् । मानिस बस्न चाहिने न्यूनतम सुविधाको व्यवस्था पनि यिनको भागमा हुँदैन । अपराध र अपराधीको बिगबिगी त्यत्तिकै मात्रमा हुने गर्दछ । गलत वातावरणका कारण गलत वा आपराधिक क्रियाकलापमा संलग्न हुँदा त्यसबापत खर्चिनुपर्ने रकमले पनि यिनैको ढाड सेक्ने गर्दछ ।

१२) न्यायिक सेवा : मुद्दामामिला सायद गरिबसँगै जन्मिन्छ । झिनामसिना कुरामा पनि यिनीहरू मुद्दामामिलाको तहसम्म पुग्दछन् । खाने खर्चको जोहो हुँदैन, अर्को गरिबलाई होचो देखाउँनैका लागि ऋण काढेरै भए पनि मुद्दामामिलाको झमेलामा ऊर्जाशील समय खर्चिन्छन् । दलालको दलालीमा फस्दा र अज्ञानताका कारणले न्यायका लागि यिनले तिर्ने रकम धनाढ्यको भन्दा बढी हुन्छ । चिनजान र पहँुचको कमीले गर्दा गरिबका लागि न्याय निकै महँगो पर्ने गर्दछ । मुद्दामामिला जितेर हुने कमाइभन्दा कैयौं गुणा खर्चिँदा ढ्याकै ब्याजले यिनको जीवनलाई निलिसकेको हुन्छ ।

भर्खर सायद नेपाललाई एसियाकै सबैभन्दा गरिब देश भनेर घोषणा गरिएको छ । जनताहरू धनी भए देश धनी हुने हो । आर्थिक सर्वेक्षण २०२२/२३ का अनुसार नेपालको कुल जनसंख्याको १५ दशमलव १ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । विश्व औसतमा हेर्ने हो भने हामी निकै माथि छौं । आन्तरिक उत्पादकत्वले भन्दा पनि रेमिट्यान्स आप्रवाहका कारण हाम्रो गरिबीदर घटेको तथ्यलाई हामीले बिर्सन हुँदैन । माथिका तथ्यले हाम्रो देशको अवस्थालाई प्रतिनिधित्व गर्दछ । गरिबी बढ्नुका अन्य कारण पनि होलान् तर, सरकारले उल्लेखित तथ्यलाई आत्मासात गरेर नीति र कानुनको कार्यान्वयनमा कडाइ र समय नघर्किँदै संशोधन र परिवर्तन नगरेसम्म गरिब र गरिबी बढ्ने क्रमलाई सायदै रोक्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 412 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?