बैतडी । बैतडीको तल्लोसोराडमा २०६८ साल यता चितुवाले २५ जनाको ज्यान लिइसकेको छ । उक्त चितुवालाई पासोमा पार्न धेरै पटक प्रयासहरु थालिएपनि बिहिबार राति बिज्ञहरुको समूहले थापेको खोरमा फसेको छ ।
मानवबस्तीमा पसेर क्षति पुर्याउँदै आएको नरभक्षी चितुवा मेलौली नगरपालिका वडा नं ९ असुरमा विज्ञ टोलीले स्थानीय सामग्रीको सहयोगमा बनाएको खोरमा फसेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिए । खोरमा बाख्राको पाठी राखेर चितुवालाई खोरमा फसाईएको थियो ।

लगातार मानवस्तीमा पसेर चितुवाले आक्रमण गर्दै आएकोमा चितुवा खोरभित्र फसेपछि त्रास हटेको स्थानीय महेशदत्त भट्टले जानकारी दिए । नरभक्षी चितुवाले गएको फागुन २७ मा ओछ्यानबाटै मेलौली ९ असुरकी ८ बर्षीय सीता लुहारको ज्यान लिएपछि विज्ञ टोलीको सहयोगमा खोर राखिएका थिए ।
हाल सम्म चितुवाले २५ जनाको त ज्यानै लिएको छ भने, दर्जनौँ ब्यक्तिहरुलाई घाइते बनाएको । यस बिषयमा बैतडीबाट निर्वाचित सघिंय सांसद दामोदर भण्डारीले पटक पटक सदनमा बोलेका थिए । गत फागुन २७ गते समेत चितुवाले बालिकाको ज्यान लिएपछि तत्काल बन मन्त्री सक्तिबहादुर बस्नेत संग आग्रह गरि बैतडीका बिज्ञहरुको टोलि पठाउन आग्रह गरेका थिए । उक्त घटना भएको ४ दिनभित्र प्रभाव क्षेत्रमा पुगेका बिज्ञहरुको टोली चितुवालाई पासोमा पार्न सफल भएको हो ।
यही चैत १ गते राष्ट्रिय प्रकृति संरक्षण कोषका दुईजना विज्ञ असुरमा पुगेर खोर निर्माण गरेका थिए । चितुवाले मानवबस्तीमा क्षति पुर्याएको ठाउँमा फलामे र काठे खोर गरी तीनओटा खोर राखिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा र प्राविधिक रमेश दराईले मेलौली नगरपालिका–९ असुर गाउँमा पुगेर चितुवालाई नियन्त्रणमा लिनका लागि खोर राखेका थिए ।
काठको खोरमा चितुवा फसेको स्थानीय गौरीदत्त भट्टले बताए । उनले भने ‘बिहीबार राती काठको खोरमा बाख्राको पाठी राखेका थियौं’ । चितुवा त्यही पाठी खान जाँदा फसेको छ । चितुवा खोरमा स्थानियबासि निकै खुसी भएको उनले बताए ।
नरभक्षी चितुवा खोरमा फसेको बिषयमा राष्ट्रिय निकुञ्ज विभागमा जानकारी गराईसकेको र त्यहाँबाट विज्ञहरुको टोली आएपछि चितुवालाई बेहोस बनाएर स्थानान्तरण गरिने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीले बताए । यसअघि २–३ फलामको पासोमा पार्न कोसिस गरिएपनि यसपालि अझै प्रभावकारि पासो तयार गरेकाले चितुवा पसेको उनले बताए । चितुवा पक्रिने बर्षौ देखिको प्रयास अहिले सफल भएको उनले बताए ।






