स्याङ्जा । नेपाललाई कृषि प्रधान देश भन्छौ । तर कृषिका सेवा र अनुदानमा अझै नागरिकहरु बेखबर जस्तै छन् । कृषि र पशुका कार्यक्रममा नगरवासीको चासो कम हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकसगँ कृषि प्राविधिक कार्यक्रम संचालन गरेको छ ।
स्याङ्जाको गल्याङ् नगरपालिकाले पशु र कृषि उत्पादनमा नगरवासीलाई जोड्न कृषक सगँ कृषि प्राविधिक कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले छुट्टाएको कृषि बजेट कार्यक्रममा नगरवासको चासो कम हुन थालेपछि नगरपालिकाले कृषक सगँ कृषि प्राविधिक कार्यक्रम संचालन गरेको हो । यो कार्यक्रम मार्फत नगरपालिकाले नगरभित्रका हरेक टोलमा पुगेर कृषि र पशुपालन सम्वन्धी जानकारी दिने र समस्या लिने गरेको छ । कृषि तथा पशुपालन प्रविधि हाते पुस्तक र मौसमी, बेमौसमी तरकारीको बिऊ किसानलाई उपलब्ध गराउदै प्राविधिक ज्ञान दिने गरेको छ । जसले गर्दा नगरवासीमा उत्पादन गर्नुपर्छ भन्ने सचेतना बढ्दै गएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा कृषि र पशु शाखा रहेको समेत भुई किसानलाई थाहा नभएको महशुष भएपछि यो कार्यक्रम मार्फत कृषकहरुलाई निम्तो दिन गाउँ, गाउँ आएको पशु शाखाका प्रमुख शुशिल अर्यालले बताए । कृषि र पशुमा सामान्य रोग लाग्दा नीजि औषधी पसलमा धाउन बाध्य भएका कृषकलाई अब नगरपालिकाबाटै सेवा हुन्छ भन्ने सन्देश दिन खोजेको अर्यालले बताए ।
आफ्नै घरका लागि मात्रै उत्पादन गरेका यहाँका कृषक नगरपालिका देखि केन्द्रीयतह सम्म सरकारले ल्याएका कृषि अनुदान कार्यक्रमबाट बेखबर छन् । समुहमा अगुवाई गर्ने कृषक मात्रै यस्ता कार्यक्रममा लाभ लिने गरेको तथ्याङ्क देखिन्छ । सामान्य घरमा पशु र आफ्ना लागि भएपनि उत्पादन गर्दै आएका कृषकहरु भने सरकारले दिने अनुदानबाट बन्चित हुदै आएका छन् । नगरपालिकाले प्राविधिक सहित गाउँटोलमा आएर कृषि र पशुपालनमा सरकारले दिने अनुदान देखि समस्या र समाधानका बिषयमा गरेको कार्यक्रमबाट आफुहरुमा उत्साह थपिएको स्थानीय भीमसरा रानाले बताइन् । नगरपालिकाबाट सबै सुविधा हुन्छ भन्ने थाहा थिएन उनले भनिन्,‘अब थाहा पायौं, अबदेखी नगरपालिकाबाट पाउने सुविधा उपभोग गछौं ।’ यो कार्यक्रमले हाम्रो आँखा खुलाएको उनले बताइन् ।
११ वटा वडा रहेको गल्याङ नगरपालिकामा यो कार्यक्रम १० वटा वडामा सम्पन्न भइसकेको छ । कृषि र पशुपालनमा राम्रो सम्भावना भएको नगरपालिकामा सबै नगरवासीलाई कृषिपेसामा आवद्धता गराई आत्मनिर्भर बनाउन नगरपालिका लागि परेको छ । तरकारीको लागि राम्रो जमिन भएपनि सिंचाइका लागि पानीको समस्या हुँदै आएको यहाँका कृषकको गुनासो छ । नगरपालिकाले सिंचाईका लागि पलाष्ट्रिक पोखरीको व्यवस्था गर्ने योजना बनाएको गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले बताइन् । गाउँघरमा खानेपानीको पनि समस्या रहेको र सिंचाईका लागि पनि उस्तै समस्या रहेको उपप्रमुख न्यौपानेको भनाई छ । यसका लागि छुट्टै कार्ययोजना बनाएर नगरपालिका अगाडी बढ्ने योजनामा रहेको उनले बताइन् ।
पछिल्लो समय सरकारले कृषिका लागि छुट्टाएका अनुदानमा सक्कली कृषक भन्दा पनि नक्कली (झोले) कृषकले फाइदा उठाउदै आएका छन् । भुई कृषकले अनुदानबाट बन्चित हुनुपरेको अवस्था देखेपछि यो कार्यक्रम मार्फत जानकारी दिदै अनुदानलाई दुरुपयोग हुन नदिन टेवा पुग्ने नगरपालिकाले जनाएको छ । तरकारी देखि अन्नबालीमा भारतको भरपर्नु पर्ने समस्यालाई न्युनिकरण गर्न बाट सबै नगरवासीलाई उत्पादनमा जोडिनुपर्छ भन्ने अभियान नगरपालिकाको रहेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । नक्कली किसानले कागतजात मिलाएर अनुदान लैजाने नगर प्रमुख भट्टराईले भने,‘त्यस्तो गृहकार्यलाई निरुत्साही गर्नका लागि पनि यो कार्यक्रम अगाडी सारिएको हो ।’ सरकारी अनुगमन नहुँने र साना कृषक अनुदानबाट बन्चित हुने यो दुखद हो उनले भने । अब गल्याङ् नगरपालिकाबाट संघिय, प्रदेश र जिल्लामा हुने कृषि र पशु कार्यक्रमका लागि आउने सिफारिसमा समेत कडाई गरिने उनले बताए । अहिले सम्म ३५ सय कृषक यो कार्यक्रमबाट लाभान्वित भएको उनले बताए । हरेक किसानलाई हाते किताब दिएका छौं उनले भने,‘कितावमा जनप्रतिनिधि र प्राविधिकको फोन र कृषि र पशु सम्वन्धी उल्लेख छ ।’ जसले कृषकलाई ज्ञान पनि हुने र समस्या हुँदा फोन गर्न सहज हुने छ उनले भने ।
सरकारी अनुदानबाट बेखबर बनेका नगरवासीलाई कृषि र पशुपालनमा जोडाउने यो अभियान नागरीकमुखी छ । सबै नगरवासीलाई उत्पादनमा जोड्न सके कृषि र पशुमा नगरपालिका आत्मनिर्भर बन्ने छ । नक्कली कृषकले मात्रै दुरुपयोग गर्ने कृषि अनुदानको निरुत्साहीमा यो कार्यक्रमले टेवा पुग्ने छ । भुई किसानलाई सचेतना गराउने गल्याङ् नगरपालिकाको यो अभियान अरु नगरपालिकाले पनि सिक्न जरुरी छ ।






