चार महिनामा लैङ्गिक हिंसाका ३६४ घटना दर्ता

मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्षमा लैङ्गिक हिंसा सम्बन्धी ३६४ वटा घटना भएका छन् । यही समयमा ४२२ वटा घरेलु हिंसाका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्क छ ।

लैङ्गिक हिंसाका घटनाको तथ्याङ्कमा बागमती प्रदेशको उपत्यका बाहेकको १० जिल्लाहरुमा सबैभन्दा बढी चितवनमा ८१ वटा र सबैभन्दा कम रसुवामा २ वटा छन् ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा बागमती प्रदेशका १० जिल्लामा २ हजार २१९ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको थियो भने आर्थिक वर्ष २०७८–०७९ मा २ हजार ५२८ र गत आर्थिक वर्ष २०७९–०८० मा २ हजार ५२० वटा घटना भएको छ । १० जिल्लामा चालु आर्थिक वर्षमा ७८६ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक किरण राणाले जानकारी दिइन् ।

गत आवमा चितवनमा सबैभन्दा बढी लैङ्गिक तथा घरेलु हिंसाका घटना भएको तथ्याङ्क छ । चितवनमा गत आवमा ७३९ हिंसाका घटना दर्ता भएको थियो । चाुल आवको हालसम्म चितवन जिल्लामा अन्य समेत गरी २ सय ४८ दर्ता भएको राणाले बताइन् ।

यसैगरी, गत आवमा मकवानपुरमा ६ सय ३ तथा चालु आवको हालसम्म १ सय ५७ जना, सिन्धुलीमा गत आवमा २ सय ६ तथा चाुल आवको हालसम्म ५३, धादिङमा गत आवमा १ सय ७१, चालु आवमा ६०, काभ्रेमा गत आवमा २ सय ९८, चालु आवमा १ सय २२, रामेछापमा गत आवमा ८१, चालु आवमा १७, सिन्धुपाल्चोकमा गत आवमा १ सय ७७, चालु आवमा ५१, दोलखामा गत आवमा ९८, चालु आवको हालसम्म २६, नुवाकोटमा गत आवमा १४७ चालु आवमा ४९ र रसुवामा गत आवमा शुन्य चालु आवको हालसम्म अन्य समेत गरी ३ वटा हिंसाको घटना दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ ।

जिल्लागत रुपमा तथ्याङ्क अनुसार उपत्यकाका ३ जिल्ला बाहेक चालु आवको हालसम्म चितवनमा ८१ वटा, काभ्रेमा ६२ वटा, मकवानपुरमा ५५, धादिङमा ३७ वटा, सिन्धुलीमा ३४ वटा नुवाकोटमा ३१ वटा, दोलखामा २० वटा, सिन्धुपाल्चोकमा ३० वटा, रामेछापमा १२ वटा र रसुवामा २ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । यस्तै चालु आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा मध्ये चितवनमा १ सय ६७ वटा, काभ्रेमा ६० वटा, मकवानपुरमा १ सय २ वटा, धादिङमा २३ वटा, सिन्धुलीमा १९ वटा, नुवाकोटमा १८ वटा, दोलखामा ६ वटा, सिन्धुपाल्चोकमा २१ वटा, रामेछापमा ५ वटा र रसुवामा १ वटा घरेलु हिंसाका घटना भएका छन् ।

गत आर्थिक वर्ष चितवनमा ८ सय र रसुवामा २७ वटा लैङ्गिक हिंसाका घटना भएका थिए । घरेलु हिंसातर्फ भने मकवानपुरमा १ हजार १ सय ४६ वटा र सबैभन्दा कम रसुवामा ५ वटा घटना भएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा ७ हजार ३ सय २१ वटा लैङ्गिक हिंसाका घटना भएको थियो भने ४ हजार ४६ वटा घरेलु हिंसा भएको थियो ।

गत तीन आर्थिक वर्षमा राजधानी उपत्यकासहित ७ वटै प्रदेशमा ५५ हजार २ सय १४ लैंगिक हिंसा भएकोमा मधेस प्रदेशमा सबै भन्दा बढी १३ हजार ६ सय ७६ वटा लैंगिक हिंसा भएको तथ्याङ्कमा उल्लेख छ । उक्त अवधीमा सबै भन्दा कम कर्णाली प्रदेशमा ३ हजार ४४ वटा घटना भएकोमा बागमती प्रदेश बढी उपत्यका र लुम्विनी प्रदेशपछि ४ औ स्थानमा रहेको तथ्याङ्क प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । २५ नोभेम्बर महिला हिंसा अन्त्य दिवसदेखि १० डिसेम्बर अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म १६ दिनसम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष २५ नोभेम्बरलाई महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरे बमोजिम सन् १९९१ देखि बिश्वब्यापी रुपमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । नेपालमा बि.सं. २०५४ साल देखी यो अभियान सञ्चालन हुँदै आईरहेकोमा नेपाल सरकारको २०७६ साल जेठ ६ गते वर्ष २०७६ लाई लैंगिक हिंसा बिरुद्धको अभियान बर्ष घोषणा गरेको थियो ।

यो वर्ष “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ । अभियानको क्रममा सरकारी कार्यालय, सुरक्षा निकाय, सामुदायिक सेवा केन्द्र, महिला सम्बद्ध संघ संस्थाहरुले अभियानमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

हरेक वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइने गरेको भए पनि तथ्याङ्कले लैंगिक तथा घरेलु हिंसाको घटना बढेको देखाउँछ । अधिकारकर्मीहरु भने सचेतनाको कारण हिंसाको घटनाहरु बाहीरीन थालेको कारण तथ्याङ्कमा बढेको बताउँछन् ।

“पहिलो जस्तो हिंसा सहेर बस्नेहरु अब छैनन्, कानूनी उपचारका लागि लड्नेहरु बढेका छन्, यसलैले तथ्याङ्कमा बढी देखिएको हो” हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले भनिन् ।

तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामा आर्थिक वर्ष २०७७–०७८ को तुलनामा गत आर्थिक वर्ष २०७९–०८० मा लैङ्गिक तथा घरेलु हिंसाका घटना १४ प्रतिशतले बढेको छ ।

लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि प्रदेश प्रहरी कार्यालय हेटौंडा मार्फत् विभिन्न क्रियाकलाप भएको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् । उनका अनुसार लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणका लागि प्रदेशका १० जिल्लामा १० वटा जिल्लास्तरीय समिति गठन गरिएको छ भने महानगरस्तरीय एक वटा, नगरपालिकास्तरीय २५ वटा, गाउँपालिकास्तरीय ६१ वटा र वडास्तरीय ७७५ वटा सहित ८७२ वटा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको उनले बताइन् ।

‘लैङ्गिक हिंसा विरुद्ध एकिकृत सेवा दिन जिल्ला अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ’ उनले भनिन् जसले लैगिंक हिंसाका पिडितलाई आश्रय दिने, घाइते भए उपचार गर्ने, सामाजिक मनोविमर्श दिने, कानूनी सल्लाह उपलब्ध गराउने र पूर्नस्थापनाको लागि पहल गर्ने कार्य गरिरहेको छ ।’ उनका अनुसार हालसम्म १ हजार ६ सय १६ जनाले एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत सेवा लिएका छन् ।

प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्र र प्रहरी सेवा केन्द्रद्वार स्थानिय स्तरमा सचेतना अभिबृद्धी गर्ने कार्य गरिदै आएको छ भने लैंगिक हिंसा र घरेलु हिंसामा संलग्न पिडकलाई नियन्त्रण तथा पक्राउ गरी कानुनी दायरामा ल्याउने गरिएको बताइएको छ। हिंसा न्युनीकरणमा बागमती प्रदेश प्रहरी कार्यालयले समुदायसँग प्रहरीद्वारा सञ्चालित कार्यक्रमहरुमा सक्रिय सहभागिता, समन्वय र सहकार्य, पिडितलाई परामर्श र सहयोग, पिडतको उद्दार तथा पुनस्थापनामा सहयोग प्रदान गर्न सहयोगको अपेक्षा समेत गरेका राणाले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गृह जिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद