काठमाडौं । लामो समयपछि अभिनेता दयाहाङ राई र अर्का अभिनेता आर्यन सिग्देल फेरी नयाँ चलचित्रमा जोडिएका छन् । यि दुबै अभिनेता यतिबेला नयाँ चलचित्र ‘गाउँ नै रमाइलो’मा जोडिएका हुन् ।
यी दुईलाई डेढ दशक अघि निर्देशक सुदर्शन थापाले चलचित्र ‘मेरो एउटा साथी छ’मा उतारेका थिए । यो नै दयाहाङको पहिलो चलचित्र थियो । त्यसपछि अर्को चलचित्र लोफरमा आर्यन र दयाहाङ प्रस्तुत भएका थिए । यसरी लोफरमा सहकार्य गरेको एक दशकपछि आर्यन र दयाहाङ सँगै पर्दामा आउन लागेका हुन् ।
यी दुई चलचित्रपछि आर्यन र दयाहाङ यतिबेला नयाँ चलचित्र ‘गाउँ नै रमाइलो’मा जोडिएका हुन् । यो चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् । यतिबेला नयाँ चलचित्र पुजार सार्कीको छायाँकन तयारीमा रहेका दिनेशले चलचित्र गाउँ नै रमाईलोको छायाँकन आगामी बैशाखबाट गर्ने बताएका छन् ।
ग्रामिण परिवेशको कथामा निर्माण हुने यो चलचित्रमा अरु पनि केही चर्चित अभिनेता अभिनेत्री जोडिने निर्देशक राउतले बताए,‘अरु कलाकारसँग पनि कुराकानी भईरहेको छ । केही दिन भित्रै हामी गाउँ नै रमाईलोका कलाकारहरु चयन गरेर त्यसपछिको तयारीमा जुट्ने छौं ।’ उनले राजधानीसँग भने ।
हालै चलचित्र ‘नाङ्गो गाउँ’का निर्माण गरेका हिमाल कडरियाले चलचित्र गार्उँ नै रमाईलोको निर्माण गर्दैछन् । चलचित्रको कथा निकै प्रभावशाली भएकाले आफुले यो चलचित्र निर्माण गर्न लागेको निर्माता कडरियाले बताएका छन् ।






