
आज १४ पुस । स्वर्गीय राजा वीरेन्द्रको जन्मदिन । राजा वीरेन्द्रलाई सम्झेर श्रद्धाञ्जली दिने र त्यही श्रद्धाञ्जलीको बाटो भएर राजतन्त्र पुनर्स्थापनाको गन्तव्यतर्फ पुग्ने सपना सँगाल्नेहरूको लर्को देखिन्छ होला । यस अवसरमा म आज राजा वीरेन्द्रसँग सम्बन्धित दुई घटनाहरूका वारेमा उल्लेख गर्न गइरहेको छु । पहिलो घटना भुटानी नेता टेकनाथ रिजालसँग सम्बन्धित छ र यो घटनाका वारेमा स्वयं रिजालले आफ्नो पुस्तक ‘निर्बासन’मा उल्लेख गरेका छन् । दोस्रो घटनाचाहिँ तत्कालीन शाहज्यादा पारसको विवाहको अवसरको हो । यस घटनाको म प्रत्यक्षदर्शी वा साक्षीचाहिँ होइन । त्यस घटनाको प्रत्यक्षदर्शी भनेर दाबी गर्ने तेस्रो व्यक्तिको मुखबाट सुनेको हुँ । तसर्थ, यो दोस्रो घटनमा थोरै नाटकीयता वा अतिशयोक्ति पनि हुनसक्छ ।
अब आऊँ पहिलो घटनातर्फ । दक्षिण भुटानमा जन्मेर भुटानी शासन प्रणालीको उच्च तहसम्म पुगेका टेकनाथ रिजाल कालान्तरमा भुटानी राजा जिग्मेसिंगे वाङ्चुकका नजरमा ‘बागी’ ठहरिए । रिजालले दक्षिण भुटान निवासी नेपाली भाषी भुटानीहरूको पक्षमा आवाज उठाउन थालेपछि राजा वाङ्चुकलाई उनी पाच्य भएनन् । भुटानमा बस्नै नसक्ने अवस्था सिर्जना भएपछि रिजाल २०४५ सालमा नेपाल प्रवेश गरे । स्मरणीय छ, त्यसबेला नेपालमा राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायती शासन प्रणाली कायम थियो । राजा वीरेन्द्रलाई पनि नेपाली भाषा र वेशभूषा अनि पहिचानका लागि लड्ने टेकनाथ रिजाल पाच्य भएनन् । रिजाललाई कुनै औपचारिक आरोप नलगाईकनै जबर्जस्ती गिरफ्तार गरियो र क-यापकुरूप पारेर विमानस्थल पु-याइयो । विशेष विमान लिएर उनलाई लिन आएका भुटानी अधिकारीलाई बुझाइयो । हेक्का रहोस्, यी सब काम अनौपचारिक कुनै कानुनी प्रक्रिया पूरा गरेर सम्पन्न गरिएको थिएन । त्यसपछि रिजालले वर्षौंसम्म कस्तो यातना र कष्ट बेहोर्नुप¥यो भन्ने विषय जान्न इच्छा लाग्नेले उनको ‘निर्बासन’ पढ्दा हुन्छ ।
राजा महेन्द्र र राजा वीरेन्द्र दुवै महान् राष्ट्रवादी र नेपालीको पहिचानका कट्टर प्रवर्तक एवं प्रबद्र्धक मानिन्थे । यी राजाहरूको नेपाली भाषा वेशभूषा र संस्कृतिप्रतिको प्रेमका गाथाहरू गाइन्थ्यो सुनाइन्थ्यो । तर, अचम्म ! नेपाली भाषा, वेशभूषा, संस्कृति र पहिचानका लागि लड्ने एक योद्धा राजालाई पाच्य भएन । ती योद्धालाई एक क्रूर तानाशाहको हातमा बुझाइयो । शरणको मरण नगर्ने नेपाली संस्कृति, वेशभूषा भाषा प्रेम र पहिचानप्रतिको गौरव सबै बिलायो !
किन र कसरी यस्तो भयो ? स्वाभाविक रूपमा प्रश्न उठ्छ । दौरा सुरुवालरूपी राष्ट्रिय पोसाक, नेपाली भाषा र नेपाली संस्कृतिका पालक पोषक राजाबाट यस्तो अनौठो कदम किन चालियो ? क्रूर शासक जंगबहादुरले समेत शरणागत बेगम हजरत महललाई संरक्षण दिएका थिए ! बुझिनसक्नु छैन त ? थोरै घोत्लिए कुरो बुझिन्छ । राजा वीरेन्द्रलाई नेपाली भाषा, संस्कृति वा पोसाकप्रति कुनै विशेष मोह थिएन ! उनलाई ‘एउटै भाषा एउटै भेष’ भन्ने नाराचाहिँ अत्यन्तै प्रिय थियो किनकि त्यस नारामा ‘हाम्रो राजा, हाम्रो देश’ पनि जोडिएको थियो ।
तराईदेखि हिमालसम्म एउटै पोसाक अर्थात् दौरा सुरुवाल र एउटै भाषा अर्थात् नेपाली भाषालाई स्थापित गराएर नै राजाको अकण्टक राज्य व्यवस्था कायम गर्न सकिन्थ्यो । तराईका धोती लगाउनेदेखि हिमालका बक्खु लगाउनेसम्मलाई दौरा थोपरेर अनि भोजपुरी मैथिलीदेखि तामाङ र शेर्पा बोल्ने सबैलाई नेपाली भाषा कोचेर राजाप्रति बफादार रैती बनाउने रणनीतिको एक अंग थियो ‘एउटै भाषा एउटै भेष’को नारा !
भुटानी राजा जिग्मेसिंगे वाङ्चुक पनि त्यही नाराका अनुयायी थिए । उनीचाहिँ भुटानमा बक्खु पोसाक थोपर्दै थिए र जोङ्खा भाषा कोच्दै थिए । नेपाली र भुटानी राजाको नारा एउटै थियो र उद्देश्य पनि एउटै थियो– अकण्टक तानाशाह बन्ने ! यसैकारण अर्थात् तानाशाह बन्ने उत्कट अभिलाषाका कारण राजा वीरेन्द्रलाई नेपाली पोसाक, भाषा र संस्कृतिका उपासक टेकनाथ रिजालभन्दा तानाशाह जिग्मेसिंगे वाङ्चुक प्यारो भएका थिए ।
अब आऊँ दोस्रो घटनातर्फ । ११ माघ २०५६, तत्कालीन शाहज्यादा पारसको विवाह सम्पन्न भयो । भनिन्छ, त्यस विवाह समारोहमा सम्पूर्ण शाही नातेदार एकत्रित भएका थिए । २०२६ सालमा सम्पन्न तत्कालीन युवराज वीरेन्द्रको विवाहपश्चात् सबैजस्तो शाही नातेदार जम्मा भएको यो पहिलोपटक बताइन्छ । वीरेन्द्र र ज्ञानेन्द्रका भारतीय फुपू–फुपाजुलगायत सबै जम्मा भएका थिए रे !
त्यस्तै, एक जमघटमा राजाका एक फुपाजु (सायद मयुरभंजका महाराज)ले कुरैकुरामा राजातर्फ मुखातिव हुँदै केही गम्भीर कुरा गरेछन् । अंग्रेजीमा व्यक्त सो भनाइमा फुपाजुले ‘योर म्याजेस्टी’ भनेर सम्बोधन गर्दै भनेका थिए, ‘नेपाली जनतामा निकै छटपटी रहेको मैले बुझें । वर्तमान व्यवस्था (संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था) प्रति जनतामा व्यापक असन्तुष्टि छ भन्ने सुनिन्छ । सरकार सक्रिय होइबक्सनुप-यो । कडा कदम चाल्नेबेला भएन र !
निकै लामो भूमिका र व्याख्यासहित उनले यो कुरा भनेका थिए भन्ने बताइन्छ । उनले यी भनाइ राखिरहँदा नेपालका रैथाने राजपरिवार र शाही नातेदारहरू चूपचाप सुनिरहेका थिए । तर, तिनीहरूको मौन सहमति राम्रै झल्किन्थ्यो । निकै लामो भनाइ सुनेपश्चात् राजा वीरेन्द्रले जवाफका रूपमा केही बोल्नैपर्ने भयो । यसभन्दा अघि यदाकदा यस्तै झिनोमसिनो आवाज उठ्दा सायद उनी चूप बस्दथे । तर, यसपटक वरिष्ठ फुपाजुबाट यस्तो लामो व्याख्यासहितको आख्यान र सुझाव आएपछि उनलाई बोल्नैपर्ने भयो ।
राजा वीरेन्द्रले अत्यन्तै दृढ आवाजमा भने, ‘२०४७ सालमा निर्दलीय व्यवस्था मैले त्यत्तिकै भंग गरेको होइन । बहुदलीय व्यवस्था र संवैधानिक राजतन्त्र मैले आफ्नो रहरले वा इच्छाले अथवा मलाई राम्रो लागेर दिएको पनि होइन । लाखौंको संख्यामा आमजनताले दरबार घेर्न आउने अवस्था देखेपछि स्विकारेको हुँ । बुबाज्यूको सालिक तोडफोड भएपछि मानेको हुँ । अब अहिले २-४ सय मानिस ‘राजा आऊ देश बचाऊ’ भन्दै सालिक ’round झुम्मिँदैमा म कसरी व्यवस्था उल्टाउनसक्छु ! त्यस्तै निर्णायक आन्दोलन भयो भने बेग्लै कुरो !’
टेकनाथ रिजालसँग सम्बन्धित इतिहासमा अंकित घटनाले राजा वीरेन्द्रको मूल मानसिकता झल्काउँछ । उनमा तानाशाही प्रेम र प्रवृत्ति थियो । पारसको विवाह प्रकरण कथ्यले पनि मूलतः एकतन्त्रीय शासन व्यवस्था नै चाहन्थे भन्ने बुझिन्छ । उनको व्यक्तित्वको एक थप आयाम भने यस घटनाले उजागर हुन्छ । उनी जनदबाब थेग्न भने सक्दैनथे र जनताको दबाब मनस्थिति बुझ्ने क्षमता भने उनमा तुलनात्मक रूपमा बढी नै देखियो । सम्भव भएसम्म त उनी तानाशाही व्यवस्था नै चाहन्थे तर दबाब थेग्न नसक्ने अवस्थामा झुक्न तयार भए ! आजकल महिमामण्डन गरिएजस्तो उनी ‘लोकतान्त्रिक’चाहिँ छँदै थिएनन् । नबिर्सौं, क्याप्टेन यज्ञबहादुरदेखि भीमनारायणसम्म, लीला ठगीदेखि गोकर्ण र खगेन्द्रसम्म र सुखानी हत्याकाण्डसम्म सबै वीरेन्द्रकै पालामा भएको थियो ! तर, जनताको थेग्न नसकिने दबाबका सामु झुक्ने र त्यो दबाबको मात्रा बुझ्ने क्षमताका कारण राजतन्त्र जोगिएको थियो ।
वीरेन्द्र पछि राजा बन्ने सौभाग्य पाएका ज्ञानेन्द्र शाहमा पनि तानाशाह बन्ने उत्कट अभिलाषा थियो नै । उनको पहिला १८ असोज र पछि १९ माघको कदमले यो कुरा उजागर गर्छ । तर, वीरेन्द्रको तुलनामा जनताको मनोभावना बुझ्ने र राजनीतिक घटनाक्रमको सूक्ष्म विश्लेषण गर्ने क्षमतामा भने उनी अत्यन्तै कमजोर देखिए । उनले भन्ठाने– विद्रोही माओवादी र संसद्वादी दलहरू (विशेषतः कांग्रेस) एकठाउँमा आउनै सक्दैनन् । तर, कसैलाई पनि भित्तासम्म च्याप्यो भने असम्भव भनिएको कुरो सम्भव हुन्छ भन्ने उनले बुझेनन् । युरोप, अमेरिका र भारतले माओवादीलाई स्थापित गराउने मूल्यमा राजतन्त्रलाई फ्याँक्दैनन् भन्ने उनले सोचे ! तर, जनबल र जनइच्छाका सामु जस्तोसुकै ठूलो शक्ति पनि बाध्य हुन्छ भन्ने उनलाई यादै भएन ।
दलहरू अलोकप्रिय छन् र त्यसकारण म स्वतः लोकप्रिय छु भन्ने उनलाई लागेको थियो । वास्तवमै दलहरू अलोकप्रिय थिए, तर उनी झनै अलोकप्रिय भएको तथ्य उनलाई यादै भएन । उनको अलोकप्रियताको पछाडि जायज कारण थियो या थिएन लामै बहस हुनसक्ला । ‘दाइमारा’को छवि सायद जायज थिएन, तर ‘पारसका पिता’को छवि जायज नै थियो । ‘टुट्ने तर नझुक्ने’ उनको हठ त छँदै थियो र अझै सायद छ । यी सब कारणले राजतन्त्र सखाप भयो । नेपालमा गणतन्त्र आएदेखि आजका मितिसम्म आइपुग्दा स्वयं ‘राजा’को दिमागमा र जनताको मनस्थितिमा के कस्ता परिवर्तन भए ? पुनः राजतन्त्र पुनस्र्थापित हुने भरपर्दो आधार के ? यी प्रश्नको जवाफ खोज्ने हो भने उत्तर आउन गाह्रै होला ।






