प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोस्रो कार्यकाल सुरू भएको केही समयपश्चातको कालखण्डको कथ्यमा आधारित एउटा घटनाको उल्लेख गर्दै छु । ओलीलाई विस्थापित गरेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनको दलभन्दा कांग्रेसको सदस्य संख्या अत्यधिक थियो । स्वाभाविक रूपमा कांग्रेस शक्तिशाली हुने नै भयो । यही परिवेशमा कांग्रेसको वरिष्ठतम् नेताको दरबारको बैठक कोठाको दृश्य हो यो । अझ भनौं नित्य सामूहिक दर्शन भेट र बिन्तीपत्र आदि इत्यादि चढाउने नियमित कार्यक्रमको एक बिहानको दृश्य हो यो । स्पष्ट गरिहालौं, त्यस बैठकमा म आफू उपस्थित भएको चाहिँ होइन । उपस्थित थिएँ भनेर दाबी गर्नेहरूबाट सुनेको हुँ । त्यसो भएको हुँदा सो घटना हुबहू उतार्न नसकिएको हुनसक्छ । थोरै कल्पनाशीलता र थोरै अतिशयोक्तिले काम गरेको पनि हुनसक्छ । तर, सो घटनाको सारतत्व र सत्यताप्रति भने आश्वस्त छु ।
दरबारको बैठक कोठा भरिएको थियो । बैठक भित्रभन्दा बाहिर पटांगिनीमा अझै भीड थियो । बैठकमा त केही हैसियतवाला ३०–४० जनाले मात्र प्रवेश पाएका थिए । बाहिर आँगनमा उभिने भीडमध्ये कतिपय त ‘राजासाहेब’को दर्शन गर्न आएकै थिएनन् । तीमध्ये केही ‘रानीसाहेब’का दर्शनार्थी थिए भने केही त हजुरिया जर्नेल भतिज बाबुसाहेबको मात्र दर्शन पाए पनि कृतार्थ हुनेहरू थिए । राजकुमार साहेब त अझै बाल्यावस्थामै होइबक्सन्थ्यो ! १ घण्टाजति पछि त स्वयं राजासाहेब बाहिर सवारी भएर एकपटक हात हल्लाइबक्सँदै दर्शन बक्सने कार्यक्रम हुन्थ्यो नै ।
भित्र बैठकमा राजासाहेब पालैपालो सबैको अर्जी बिन्तीपत्र श्रवण गरिबक्सँदै थियो । आफ् नो पालो आएपछि एक वरिष्ठ कार्यकर्ताले ‘दाइ’ भनेर सम्बोधन गर्दै आफ्ना भनाइ राखे । तिनको हाउभाउ र बोलीचालीबाट ती राम्रै सुपरिचित पुराना कार्यकर्ता भएको बुझिन्थ्यो । तिनले पार्टीका लागि दुःख पाएका र जेलनेल भोगेको पनि देखिन्थो । तर, तिनको औपचारिक पढाइचाहिँ मुश्किलले माध्यमिक तह उत्तीर्ण रहेछ । ती व्यक्तिले भने, ‘दाइ, अलि पछि हामी एकपटक फेरि शक्तिमा फर्केका छौं, पार्टीका लागि मेरो के कति योगदान छ ? त्यो त तपाईंलाई थाहा छ नै, मैले आजसम्म केही पाएको छैन । मेरो एउटा ठूलो रहर थियो । मैले एसएलसी पनि गरेको छैन । तर, मलाई प्रोफेसर बन्ने ठूलो रहर छ । शिक्षामन्त्रीलाई भनेर विश्वविद्यालय सभाबाट मलाई प्रोफेसरको उपाधि दिलाइदिनुप¥यो । त्यसपछि त म उपकुलपति बन्न योग्य भइहाल्छु । मलाई कुनै एउटा विश्वविद्यालयको उपकुलपति बनाइदिनुप-यो ।’ कार्यकर्ताको यस्तो कुरो सुनेर राजासाहेब अलमलिए ! भकभकाउँदै झोक्किएजस्तो गरी भने, ‘क्के के नचाहिने कुरो ग-या ! वाहियात !’ कार्यकर्ता महोदय पटक्कै हडबडाएनन् । उनले पुनः भने, ‘किन नहुने कुरो भो र ? म कहाँकहाँ ककस्को बाहुलीमा कति भेटी टक्र्याउनुपर्ने हो तयार छु । १–२ करोड त मसँगै छ । पुगेन भने दुई–चार कठ्ठा जगा बेचिदिउँला ! मेरो इच्छा पूरा गर्नैपर्छ ।’ नेताजी पुनः झोक्किए, ‘बेकारको कुरा गर्ने !’ कार्यकर्ताले पुनः भने, ‘फलानोफलानोलाई राजदूत बनाउन कसले कति बुझेको थाहा छ ? पार्टीको जिल्ला सभापति बनाउनसमेत लेनदेन भएकै छ !’ यति वार्तालापपछि त्यस दिनको बैठकै टुंगियो । सबै मुखामुख गर्दै निस्किए ।
दरबारको बैठक कोठा भरिएको थियो । बैठक भित्रभन्दा बाहिर पटांगिनीमा अझै भीड थियो । बैठकमा त केही हैसियतवाला ३०–४० जनाले मात्र प्रवेश पाएका थिए । बाहिर आँगनमा उभिने भीडमध्ये कतिपय त ‘राजासाहेब’को दर्शन गर्न आएकै थिएनन् । तीमध्ये केही ‘रानीसाहेब’का दर्शनार्थी थिए भने केही त हजुरिया जर्नेल भतिज बाबुसाहेबको मात्र दर्शन पाए पनि कृतार्थ हुनेहरू थिए
अब म आफू स्वयं प्रत्यक्ष साक्षी भएको एउटा वार्तालापको घटना सुनाउँछु । यो पञ्चायतकालीन घटना हो । स्वर्गीय कृष्णप्रसाद भट्टराई कुपण्डोल सानेपास्थित आफ्ना भाञ्जाको घरमा बस्नुहुन्थ्यो । त्यसबेला प्रतिबन्धित कांग्रेसका एक जल्दाबल्दा कायकर्ता नेता हुनुहुन्थ्यो– मछिन्द्र पाठक । मछिन्द्र पाठक शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विपीन कोइरालाका समकालीन समवयस्क सहकर्मी । पाठकको धेरै अघि अस्वाभाविक निधन भएको थियो । हामी किसुनजीको निवासमा पुग्दा त्यहाँ मछिन्द्र पाठकलगायत केही अन्य नेता कार्यकर्ता उपस्थित रहेको पाइयो । त्यहाँ छलफलका क्रममा मछिन्द्र पाठकले किसुनजीतर्फ मुखातिव हुँदै भने, ‘किसुनजी ! संगठनको कामका क्रममा मैले निकै दुःख कष्ट पाएको तपाईंलाई थाहा नै छ । पछिल्लो समय त नेविसंघको पर्चा छपाउन मैले आफ्नी श्रीमतीको कानको ढुंग्रीसमेत बन्धकी हालें । हामी शासनमा आउने सम्भावना अहिल्यै त देखिन्न । तर, केही गरेर शासनमा आइयो र मन्त्री भएँ भने आउने तलबले धान्न सकिन्न । आउने आगन्तुक र पाहुनालाई चिया खुवाउनसमेत गाह्रो होला । अरू केही नभए पनि श्रीमतीले त्यो मेरो ढुंग्री निखन्देऊ त भन्लिन् ! कसरी निखन्ने ? ‘घुस खा’ त भन्नुहुन्न होला ! मलाई यसखाले चिन्ताले पिरोलिरहन्छ !’ किसुनजी एकक्षण अलमलिनुभएको प्रतीत भयो । उहाँले बिनोदपूर्ण ढंगले केही जवाफ दिनुभयो र मछिन्द्र पाठकलाई चुप गराउनुभयो । त्यसबेला त्यहाँ उपस्थित हामीलाई वास्तवमा किसुनजीसँग यथोचित जवाफ थिएनजस्तो लाग्यो ।
अब फर्कौं पुनः आजको कार्यकर्ताको राजासाहेबसँग उपकुलपति बनाइदिने मागको सन्दर्भतर्फ । ती कार्तकर्तालाई बैठकबाट निस्केलगत्तै एक–दुई जनाले ‘धत् ! त्यस्तो पनि भन्ने, नेतालाई त्यसरी व्यंग्य गर्नु र बिझ्नेगरी कटाक्ष गर्नु त ठीक होइन नि’ भन्दै हपारेजस्तो गरी सम्झाउन पनि खोजे । ती कार्यकर्ताको जवाफ थियो, ‘मैले कटाक्ष गरेको वा जिस्काएको हुँदै होइन । मेरो उपकुलपति बन्ने इच्छा साँच्चिकै हो । मैले धरातलीय यथार्थलाई बुझेर स्विकारेको हुँ । यस्तो गर्नु उचित हो भनेरै गरेको हुँ ।’ वास्तवमा ती कार्यकर्तालाई पूरा विश्वास रहेछ– यथोचित द्रव्य चढाउन सकियो भने ८ कक्षा उत्तीर्ण व्यक्ति पनि उपकुलपति बन्न सम्भव छ । उनलाई ती नेताप्रति गुनासो पनि रहेनछ । त्यसरी रकम कलम बुझेर मनपरी नियुक्ति दिने प्रथालाई सर्वथा उचित भनेर आत्मसात गरिसकेका रहेछन् र प्रक्रिया पूरा गरेरै आफ्नो आकांक्षा पूरा गर्न कम्मर कसेका रहेछन् । सायद राजासाहेब नेताजीको पनि दोष छैन । उनलाई थाहा भयो होला– आदर्शले चिउरा भिज्दैन । कार्यकर्ता पाल्न, दसैं खर्च बाँड्न र बाटो खर्च दिन धन चाहिन्छ । बिनाधन वरिष्ठ नेता वा आलंकारिक राष्ट्रपति त बनिएला, तर कार्यकारी प्रधानमन्त्री वा पार्टी सभापति बन्न सकिन्न भन्ने तत्वज्ञान प्राप्त भयो होला । अनि धनसंग्रह गर्नैप-यो । त्यसक्रममा आफ्नी श्रीमती, छोरा र नाति पनातिको सम्म भविष्य सुरक्षित गर्न खोज्नु त्यति नाजायज लागेन होला ।
आज मछिन्द्र पाठक जीवित भएको भए कस्तो हुन्थ्योहोला ? यकिन साथ भन्न सकिन्न । त्यसबेला मछिन्द्र पाठकको दिमागमा असल खराब, नैतिक अनैतिक र जायज नाजायजबीचको पर्खाल नाघ्ने साहस थिएन । धरातलीय यथार्थ उनले पनि बुझेका थिए र आजका उपकुलपति बन्ने आकांक्षी कार्यकर्ताले पनि बुझेका छन् । मछिन्द्र पाठकलाई नैतिकताको पर्खाल नाघ्ने साहस थिएन र नै आफ्नो प्रश्नको स्पष्ट जवाफ नदिने किसुनजी प्यारो लाग्थ्यो । आजका कार्यकर्तालाई कटुसत्यलाई स्विकार्ने र कथित नैतिक बन्धनको पर्खाल नाघ्ने ‘साहस’ छ र त्यसैकारण आदर्शको घेरामा नबाँधिने नेताज्यू राम्रो लाग्छ ।
सनातनीहरूबीच अत्यन्तै कठिन मानिने एउटा मत छ । अघोर पंथ भनिने त्यो मतावलम्बीहरूको संख्या अत्यन्तै थोरै छ । त्यो मत आफैमा अद्वितीय छ र अरू कुनै सम्प्रदाय वा पंथभन्दा नितान्त बेग्लै छ । देवाधिदेव महादेवको अघोर रूपका उपासकहरू कठिन एवं दुसाध्य तान्त्रिक साधना गर्छन् । श्मशान र एकान्तवासी अघोरीका नजरमा सांसारिक दृष्टिले असल खराब अथवा राम्रो नराम्रो सबै समान हुन्छ । तिनीहरूले शव साधना गर्छन् र भनिन्छ शवसँग भोगविलासमा समेत रत रहन्छन् । तिनले मनुष्य मांससमेत भक्षण गर्छन् भनिन्छ । ती अघोरीहरू अत्यन्तै शक्तिशाली र क्रोधी हुन्छन् । सांसारिक दृष्टिले सबखाले कूकर्म गरे पनि तिनको विरोध कसैले गर्दैनन् । तिनीहरूको तान्त्रिक शक्तिसँग सबैजना भयभीत रहन्छन् । सायद हाम्रा आजका नेताज्यूहरू पनि अघोरी बाबाजस्तै हुन् । अघोरी बाबाको विरोध गर्नै मिल्दैन ।






