कोभिड–१९, लकडाउन र अर्थोपार्जन

विश्व यतिखेर कोरोना भाइरसविरुद्ध लडाइँमा केन्द्रित छ । करिब तीन महिनाअघि चीनको वुहान प्रान्तबाट पैmलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले चीनमा मात्र सीमित नरहेर विश्वका २ सयभन्दा बढी मुलुकमा महामारीका रूपमा फैलिसकेको छ । यो महामारीबाट अहिलेसम्म ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने विश्वव्यापी रूपमा संक्रमितको संख्या १० लाख नाघिसकेको अवस्था विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताएको छ । अमेरिकामा मात्र संक्रमितको संख्या २ लाख नाघिसकेको तथ्यांकले बताएको छ । यो संक्रमणबाट इटाली, स्पेन जर्मन, फ्रान्स, बेलायत, अस्ट्रेलिया, जापान, इरानलगायत खाडी मुलुक बढी प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले यो नयाँ संक्रमणलाई कोभिड–१९ नाम दिएसँगै विश्वभर यो संक्रमणको प्रभावले मानव जीवनका सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक एवं दैनिक गतिविधिसमेत निस्तेज प्रायः छन् ।

कोभिड–१९ कै कारण मानव–मानवबीचको सम्बन्धलाई टुटाइदिएको छ भने शैक्षिक संस्था, विश्वविद्यालय, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था होटल रेस्टुरेन्ट एवं दैनिकजसो लाग्ने हाटबजार सबै बन्द भएका छन् । दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग नराम्रोसँग प्रभावित भएका छन् । सर्वसाधारणको दैनिकी एकदम कष्टपूर्ण एवं आर्थिक रूपमा संकटापन्न अवस्थामा पुगेको छ । विश्वका ठूलाठूला देशसमेत कोभिड–१९ कै महामारीका कारण लकडाउनमा छन् ।

कोभिड–१९ को संक्रमण विश्वव्यापी बढेसँगै पूरा विश्व नै लकडाउनको अवस्थामा पुग्नुले यो दशक नै विश्व अर्थतन्त्रका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ

अहिलेसम्म यो संक्रमणको कुनै पनि उपचार सम्भव देखिएको छैन । मानिसको आन्तरिक शक्तिलाई मजबुत बनाएर भाइरसविरुद्ध लड्न सक्ने बनाउनु नै यसको रोकथामको उत्तम विकल्प भएको विशेषज्ञको सुझाव छ । यही कारणले गर्दा भविष्यमा यस्ता खालका अज्ञात संक्रमणले सम्पूर्ण मानवजातिलाई नै प्रभावित पार्र्ने हो कि भन्ने चिन्तासमेत यसले बढाएको छ । मानिस–मानिसबीचको सम्पर्कबाट मात्र फैलिने भएकाले संक्रमणले डरलाग्दो रूप लिन नसकोस् भनेर विश्वका शक्तिसम्पन्न राष्ट्रले आआफ्ना देशका हरेक गतिविधि बन्द तथा रद्द नै गरेका छन् । मानिसको आवतजावत नै बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुनुले विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने देखिन्छ । धेरै मानिस वैदेशिक रोजगारमा जान नपाएर बेरोजगार बस्नुपर्ने अवस्थाको सिर्जना हुनुले देशको कुल गार्हस्थ्य उत्पादनमा नै नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

कोभिड–१९ को संक्रमण विश्वव्यापी बढेसँगै पूरा विश्व नै लकडाउनको अवस्थामा पुग्नुले यो दशक नै विश्व अर्थतन्त्रका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ । यो विषम परिस्थितिसँग जुध्नलाई हरेक मुलुकले आफ्नो विकास निर्माणको बजेटलाई कटाएर संक्रमणको मारमा परेका आफ्ना नागरिकको जीवन बचाउन ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्थाको सिर्जना हुनुले अर्थतन्त्र डामाडोलको अवस्था पुग्ने अनुमान गर्न सकिन्छ । अर्थतन्त्रका हरेक आयामसँग कोभिड–१९ को प्रत्यक्ष असर पर्न गएर विश्व अर्थतन्त्रमा १९३० पछिको अर्काे ठूलो आर्थिक मन्दी, गतिहीनता र गिरावट आउन सक्ने चुनौतीपूर्ण सँघारमा अहिलेको विश्व अर्थतन्त्र रहेको छ ।

शक्तिसम्पन्न राष्ट्रहरूलाई आफ्नो सुरक्षा बजेटलाई उल्लेख्य रूपमा कटौती गरेर जनतालाई राहत दिनका लागि खर्च गर्नुपर्ने चुनौती थपिदिएको छ । सम्भावित संक्रमणको जोखिमबाट बच्नकै लागि र यसलाई फैलन नदिन होटल तथा पर्यटनसँग सम्बन्धित सबै गतिविधि ठप्प हुनुले देशको अर्थतन्त्रको मुख्यस्रोत नै नराम्रोसँग प्रभावित भएको छ । कोरोना संक्रमणकै कारण जर्मनको हेसेन राज्यका अर्थमन्त्री थोमस स्याफरले चलिरहेको द्रुत गतिको रेलबाट हाम फलेर आत्महत्या गरेको समाचार पनि बाहिर आएको छ । कोरोना संकटबाट जनताको आवश्यकता पूरा गर्न सक्छु÷सक्दिन भनेर उनले आत्महत्या गरेको बताइएको छ । यो घटनाबाट पनि समस्या कति गम्भीर रूपमा रहेको छ भनेर आँकलन गर्न सकिन्छ । औद्योगिक एवं आर्थिक अवस्था बलियो भएका मुलुकहरूको त यो हालत छ भने हाम्रोजस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकमा आगामी दिनमा झन् कस्तो अवस्था आउला ? यो विषयमा सरकार अहिलेदेखि नै सशक्त रूपमा अवस्थालाई थप बिग्रन नदिन लाग्नुपर्ने देखिन्छ ।

अहिले सरकारमाथि धेरै आशा, भरोशा, उत्तरदायित्व, जिम्मेवारी एवं दबाब छ

कोभिड–१९ र लकडाउन कै कारण विश्वभर पर्यटन र एयरलाइन्स सम्बद्ध क्षेत्रले सन् २०२० मा मात्र ७ खर्ब डलर गुमाउने प्रक्षेपण विश्व बैंकको रहेको छ । मुलुकले दैनिक रूपमा अर्बौं रुपैयाँको घाटा बेहोरिरहेको अवस्था छ भने अर्कोतर्फ वैदेशिक रोजगारमा भएका पनि धमाधम घर फर्कनुले अर्थतन्त्रलाई थप सिथिल बनाइरहेको तर्फ सरकार संवेदनशील भएर सोहीअनुरूपका सुधारका कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । भ्रष्टाचार, अनियमितता, कमिसन एवं लुटका घटना यो संक्रमणकालीन समयमा अब नदोहोरिऊन् । यस्तो महामारीको समयमा पनि कमिसन र भ्रष्टाचारको गन्ध आउनु मुलुक र पीडित जनताप्रतिको बेइमानी ठहर्नेछ । अहिलेको महामारीले सिर्जना गरेको विषम परिस्थितिसँग जुध्न र बिग्रदो अर्थतन्त्रलाई सही दिशा दिन अहिलेदेखि नै विश्वका खासगरी युरोप, अमेरिका, चीन, जापान, इटाली, बेलायतजस्ता मुलुकले अर्बांै डलरको राहत कोषको घोषणा पनि गरिसकेका छन् ।

भाइरस संक्रमणको उद्गमस्थल मानिएको चीनले यसका लागि झन् प्रभावकारी थालनी गरिसकेको छ । भविष्यमा खस्कन सक्ने अर्थतन्त्रलाई मध्यनजर गर्दै कसरी सम्हालेर जनजीवनलाई पुरानै अवस्थामा फर्काउने भन्ने विशेष योजनासहित सरकार अघि बढ्नुपर्दछ । आज यो समस्या कुनै एउटा खास भूगोलको मात्र नभएर पूरा विश्वकै भएकाले समस्यासँग जुधेर आफ्नो मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन आपसी सहयोग र सहकार्यको संस्कृतिलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

अंग्रेजी नयाँ वर्ष मनाउने तरखर गर्दै गर्दा चीन भने कोरोना भाइरसविरुद्ध प्रारम्भिक लडाइँमा थियो । कतिपय विश्वका शक्तिशाली राष्ट्रले चीनलाई मजाकको विषय बनाएर चिनिया भाइरसको संज्ञा पनि दिए । कोभिड–१९ को नियन्त्रणमा चीनले आफ्नो विकास निर्माणलाई थाती राखेर सबै शक्ति केन्द्रित गर्नुपर्ने भयो, चीनको अर्थतन्त्र यो दशककै खराब स्थितिमा पुग्ने भयो भनेर आत्मरतिमा रमाउने युरोप, अमेरिकालगायत अहिले त्यही भाइरसविरुद्धको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाइरहेका छन् । नेपालीमा एउटा उखानै छ, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेजस्तै अहिलेको पीडा चीनलाई मात्र थाहा भइरहँदा सम्पूर्ण विश्व हामीलाई केहीले छुदैन, हामी अर्कै विश्वका मनिस हौं भनेझैं गरेर भोजभतेरमा रमाइरहेका देखिन्थे । तर, अहिले तिनै मुलुकमा ठूलो क्षति भएको छ । समयमै सजगता अपनाएको भए सम्भवतः यति ठूलो क्षति बेहोर्नुपर्ने थिएन होला । अर्थतन्त्र यस्तो डामाडोलको अवस्थामा पुग्ने थिएन होला । के गर्ने हामी मानवजातिको स्वभाव नै यस्तै छ । अर्कालाई संकट पर्दा भोलि त्यस्तै संकट आफूलाई पनि आइपर्न सक्छ होला भन्ने हेक्का राखेर सोहीअनुरूपको सजगता भोलि होइन, आजैबाट अपनाउनु ठीक भन्ने बुद्धिमतापूर्ण निर्णयले काम गर्नु नै संकट समाधानको उत्तम विकल्प हुन्छ ।

हामी शक्तिशाली र छिमेकी मुलुकले केकस्तो निर्णय गर्छन् भनेर कुरेर बस्छौं । आफ्नो निर्णय आफैं गर्न सक्दैनांै । हाम्रो शासनशैली, निर्णय क्षमता र इमानदारिता सबै कमजोर छ । विकसित र औद्योगिक मुलुकलाई त कोरोनाले आत्मसर्मपणकै बाटोमा पु-याइसक्यो भने अरूको सहयोग र भरोसामा बाँचेका हाम्रोजस्तो मुलुकको महामारीमा कस्तो हालत होला एकपटक कल्पना गरौं त ?

समयसमयमा देखापर्ने ग्लोबल क्राइसिसले मानवजातिलाई मात्र पाठ भने अवश्य सिकाएको छ । मानिसको सोच, निर्णय क्षमता, व्यवहार र दम्भमाथि प्रश्नचिह्न लगाइदिएको छ । अहिलेको संकटले मानवीय अहंता शस्त्रास्त्रको होडबाजी, महाशक्ति बन्ने होड एवं विश्व अर्थतन्त्रको बाघ बन्ने अहंतासमेतलाई चकनाचुर पारिदिएको छ । यसले विश्व बन्धुत्वको भावनासहित अघि बढ्न पनि पे्ररित गरेको छ । अहंता र अस्वस्थ्य प्रतिस्पर्धाले होइन, आपसी सहयोग सहकार्य र मानवताको भावनाले अघि बढे मात्र जस्तोसुकै प्रकोपसँग पनि लड्न सकिने पाठ कोभिड–१९ ले विश्वलाई सिकाएको हुनुपर्दछ ।

ढिलै भए पनि नेपालले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेको छ । तर, व्यवस्थापकीय कमजोरी, निर्णय क्षमता, राइट टाइम राइट डिसिजनजस्ता कुराले सरकारको संकटसँग जुध्ने तागतलाई प्रतिबिम्बित गर्दछ । समयमा नै गरेको सही निर्णयले मुलुकलाई दशकौं पछि धकेलिनबाट जोगाउन सक्छ । अहिले सरकारमाथि आशा, भरोसा, उत्तरदायित्व, जिम्मेवारी एवं दबाब धेरै छ । त्यसै पनि दुई तिहाइ जनमत प्राप्त बलियो भनिएको सरकार । अहिलेको विश्वव्यापी महामारीबाट राष्ट्र र जनतालाई बचाउनुपर्ने चुनौती । आशा गरौं, संक्रामक कोभिड–१९ ले उत्पन्न गराएको लकडाउनको अवस्थाले थिलथिलो बनाएको अर्थतन्त्रलाई मलपट्टी लगाई पीडित नागरिकलाई आशाको आमसञ्चार गराउन सरकार सफल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : अनुगमन गरिएका २४ मध्ये २१ वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल