इतिहासको मध्यकालमा नेपाल प्रवेश गर्दै थियो । त्यतिबेला दुई कुराको व्यापार निकै फस्टाएका थिए । खानका लागि नुन र ओढ्नका लागि ऊन ! नेपाल–तिब्बतको व्यापार यसैमा आधारित थियो । प्राचीन नेपाल पनि आफैंमा सापेक्ष आत्मनिर्भर थियो । उद्योगधन्दाको विकास भएको थिएन । औद्योगिक पुँजीको विकास भएको युरोप नेपालदेखि टाढै थियो ।
समयक्रमसँगै युरोपियनहरू समुद्र यात्रा गर्दै भारतीय उपमहाद्वीपमा प्रवेश गरेपछि ऊन र नुनसँगै अन्य सामान पनि आवश्यकताको सूचीमा थपिँदै गए । पश्चिमा वैदेशिक व्यापार र विनिमय हावी हुँदै गयो । त्यतिबेला चीनले रेशम खेती र रेशमी व्यापारमा श्रेष्ठता हासिल गर्दै थियो । रेशम व्यापारका लागि चीनले विश्वमा रेशमी मार्ग (सिल्क रोड) खोजी, निर्माण र विस्तार गरिरहेको थियो । नेपाल र भोटका बीचमा नुन र ऊनको सम्बन्ध बलियो नै थियो ।
नेपालको ऊन निकै प्रसिद्ध थियो । गुणस्तरीय भएकाले यसको व्यापारमा अन्य मुलुक पछाडि परेका थिए । चिनियाँहरूले यही परिवेशमा नेपाललाई ‘ने’ ‘पाल’ अर्थात् ‘ऊनको घर’ भनेर सम्बोधन गर्थे । भेडाको ऊनबाट कम्बल, राडीपाखी तथा लगाउने कपडाहरू बनाउने र बिक्री वितरण गर्ने गरिन्थ्यो ।
भारतीय उपमहाद्वीपमा हिन्दू प्रचलनअनुसार ऊनी र ऊनबाट बनेका वस्त्र चोखो र अमूल्य मानिन्थ्यो । ठूल्ठूला यज्ञादि गर्ने बेलामा चोखो आसनका रूपमा कम्बल प्रयोगमा ल्याइन्थ्यो । ऊनबाट बनेका वस्त्र सुनभन्दा पनि पवित्र मानिन्थे ।
तर, ऊनी वस्त्रको बाक्लो व्यापार तिब्बत हुँदै चीनसँग गरिन्थ्यो । चीनतिर र भोटमा पनि नेपाली ऊनबाट बनेका कम्बल, राडी, पाखी आदि निकै राम्रो व्यापार चलेको थियो । तात्कालीन नेपाल (मूलतः काठमाडौं खाल्डो) नै एक ठूलो व्यापारिक केन्द्र थियो । मानिसका शरीर ढाक्ने, ओढ्न र ओछ्याउन मिल्ने तथा बोकेर जहाँ पनि लैजान सजिलो हुने उच्च कोटीका वस्त्र थिए, यी । ऊनको व्यापारले नेपाललाई साच्चिकै आत्मनिर्भर बनाएको थियो ।
युरोपमा कारखानाबाट उत्पादित कपडा व्यापार भइरहँदा नेपालीपनको यो हस्तकला कपडाले दक्षिण एसियाको बजार खाइरहेको थियो । भेडा र चौंरीपालन निकै फस्टाएको थियो । नेपाली ऊनको गुणस्तर सबैभन्दा अब्बल थियो । नेपालमा उत्पादित ऊनी वस्त्र चिनियाँ र भारतीयहरूका लागि ‘नमूना उत्पादन’ थिए ।
तात्कालीन चिनियाँ तथा खोजकर्ता फिरन्ते व्यापारीले नेपालको बाटो भएर व्यापारका लागि युरोप पस्दा नेपाली ऊन र त्यसबाट निर्मित कम्बल तथा राडीपाखीको राम्रो प्रचार गरेको देखिन्छ । चिनियाँहरूले रेशम धागो र रेशमी कपडा युरोपसम्म विस्तार गरिरहँदा पनि ऊनी वस्त्र भने नेपालकै प्रयोग गर्थे । तर, दुर्भाग्य ! अहिले चीन र भारतले विश्व व्यापारमा यति ठूलो फड्को मारिरहँदा नेपालले भने ऊनको गुणस्तरीय उत्पादनसम्म पनि गर्नसकेन ।
पछि आएर त नेपाली ऊनको उत्पादन केवल प्राचीनता झल्काउने, पूजापाठ गर्दा प्रयोगमा आउने र एक क्षणिक पवित्र वस्त्रका रूपमा मात्र सीमित हुनगयो । यसको औद्योगीकरण हुनसकेन । झन् पछि झन् यसको अवस्था दयनीय हुनगयो । अहिले आएर त ऊनी कपडा परिवारिक तथा स्थानीय आवश्यकता टार्ने वस्तुमा सीमित हुँदै गए ।
आखिरमा यी केवल हिमाली भेगका लागि मात्र कामयावी हुने वस्त्रका रूपमा खुम्चिन पुगे । बाह्य उत्पादनले मिच्दै ल्यायो । आज पनि कम्बल र राडीपाखीको महत्व घटेको नदेखिए पनि यसको पुनर्जागरण गर्न जरुरी भइसकेको छ । नयाँ फेसनका रूपमा यसलाई विश्व बजारमा ल्याउन जरुरी भइसकेको छ । ऊनलाई औद्योगिक रूप दिन कति सम्भव छ, त्यो खोज, अनुसन्धान र बहसको विषय होला । तर, विश्वमा भिन्न नेपालीपन दिन सक्नेगरी यसको पुनरउत्पादन गर्नसके नेपाली ऊन बजार फस्टाउने सम्भावना भने मरेको छैन ।
(नेपालको आर्थिक इतिहास र पत्रपित्रकाको सहयोगमा)






