सार्वजनिक मिडियामा अहिले हट न्युज बनेको छ, त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको विषय । यदि, विश्वविद्यालय स्वायत्त हुन्थ्यो भने यो विषय त्यत्रो हल्लाको विषय नै बन्ने थिएन होला । तर, दुर्भाग्य हाम्रो मुलुकको उच्च शिक्षाको गहन जिम्मेवारी बोकेको संस्थाको प्रमुख को हुने ? कसलाई बनाउने ? यो विषय यति हलुका र सतही ढंगले सडकमा पोेखिएको छ । यसले सबैलाई चकित पनि बनाएको छ । अन्य समयको भन्दा यसपटक उपकुलपति छनोटको विषयले विशेष चर्चा पाएकाले पनि आगामी उपकुलपति चामत्कारिक भिजन र इच्छाशक्ति भएको व्यक्तिले नेतृत्व लिनेछन् भन्नेमा आशावादी हुन सकिन्छ । प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा त्रिवि नेतृत्वका ’boutमा बोलेका कुरा र गरेका वाचा पूरा हुने हो भने यसपटक त्रिविले इतिहास रच्ने कुरामा विश्वस्त हुन सकिएला । आफूले उच्च शिक्षा हाँसिल गरेको संस्थाको दुर्गति हुनै लाग्दा सो संस्थाप्रतिको अगाध स्नेह र भावनात्मक सामीप्यताले घचघच्याउनु स्वाभाविक पनि हो ।
अहिले त्रिवि मात्र होइन हाम्रा अन्य विश्वविद्यालय र ती माताहतका उच्च शिक्षाप्रदायक निकायहरूको प्राज्ञिक वातावरण एउटा आधारभूत विद्यालयजस्तो बनेको छ । यो त्राशदीपूर्ण अवस्थालाई ट्र्याकमा ल्याउन पनि अबको त्रिवि नेतृत्व दूरदर्शी एवं समन्वयकारी हुुनु जरुरी छ ।
भाइस चान्सलर भनेको प्राज्ञिक हैसियतले मुलुकको कार्यकारी प्रमुखजतिकै हैसियत राख्ने हुनुपर्छ । राट्रिय अन्तर्राट्रिय स्तरमा समेत विश्वविद्यालयको प्रतिष्ठा र इज्जत जोडिएको हुन्छ । नाम मात्रका प्राडाले विश्वविद्यालयको गरिमा र प्राज्ञिकतालाई बचाउने कुरा असम्भव प्रायः हुन्छ । विषयगत प्राज्ञिक श्रेष्ठता र खारिएको अनुभव त चाहिन्छ नै । यसका अलावा विश्वविद्यालयलाई कुन मोडलमा विकास गर्ने भन्ने दीर्घकालीन सोच राखेर काम गर्ने व्यक्ति नै अहिलेको विश्वविद्यालयको उपकुलपति बन्नुपर्छ । इमानदारिता, नैतिकता, प्राज्ञिकता र लगनशीलता सिकाउनुपर्ने विश्वविद्यालयमा आज किन अराजकता, अनियमितता एवं कुशासन बढेर कमजोर बन्दै गएको छ ? आज किन आफ्नै क्यालेन्डर लागू हुन सकिरहेको छैन ? परीक्षा, नतिजा प्रकाशनजस्ता महत्वपूर्ण विषयहरू आज किन सामान्य विषयजस्ता बनेका छन् ? यी सबै विकृति र विसंगतिहरूको एकमुष्ठ समाधान खोजिनुपर्छ ।
विश्वविद्यालयमा झाँगिदै गएको गलत प्रवृत्तिलाई तत्कालै निरुत्साहित गर्नसक्ने हर्कुलसको खाँचो छ । बदलिँदो विश्व परिवेश र सूचना प्रविधिले सिर्जना गरेका चुनौतीलाई सामना गर्दै त्रिविले आफूलाई बदलेर लानुपर्ने अवस्था छ । यसका लागि पनि आगामी नयाँ नेतृत्व दूरदर्शी नीतिगत अडानमा रहने र कुनै पनि राजनीतिक दलको दूत बनेर आउनुहँुदैन । उसको सार्वजनिक परिचयमा नै विश्वविद्यालयको भविष्य जोडिएको हुँदा आगामी नेतृत्व निष्कलंक आउनुपर्छ ।
त्रिविको विगतको गौरवपूर्ण इतिहास वर्तमानमा चुनौतीपूर्ण बन्दै गइरहेको तर्फ सरोकारवाला सबैको खबरदारी उत्तिकै जरुरी छ
ग्राजुएटको संख्या मात्र देखाएर ठुलै सफलता हासिल गरेजस्तो समाचार बनाउनुले त्रिविको प्राज्ञिक सफलतालाई इङ्गित कदापी गर्नसक्दैन । त्यो त नियमित कार्य हो । कस्तो ग्राजुएट उत्पादन भएको छ ? भोलि त्यो उत्पादन कहाँ जाँदै छ ? राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उसको योगदान कस्तो रहनेछ ? यसमा विश्वविद्यालयको प्राज्ञिक सफलता जोडिएको हुनुपर्छ । तर, दुर्भाग्य हो वा नियति नै हो, विगत केही वर्षदेखि विश्वविद्यालयसँग सम्बन्धित सकारात्मक र गर्बिला समाचारहरू दुर्लभ प्रायः बन्दै गएका छन् । विश्व वरीयतामा खस्केको स्थान, घट्दो भर्नादर समयमा पदाधिकारी नियुक्ति हुन नसक्नुका पछाडि राजनीतिक स्वार्थ र सौदाबाजी अनि कमजोर नेतृत्व नै प्रमुख कारक बनेको छ ।
विश्वविद्यालय र यसका पदाधिकारीहरू सस्तो प्रचारबाजी र लोकप्रियताका पछाडि लाग्नु भन्दा पनि काममा केन्द्रित हुनुपर्ने देखिन्छ । मुलुककै पुरानो र उच्च शैक्षिक संरचनाको गौरबका रूपमा रहेको विश्वविद्यालय अहिले सर्वत्र आलोचित बन्नुले मुलुकको समग्र क्षेत्र प्रभावित बनेको छ ।
राज्य सञ्चालनका विभिन्न तह र तप्कामा त्यही विश्वविद्यालयबाट उत्पादित जनशक्ति छन् । यस अर्थमा पनि मुलुकलाई चाहिने उच्च दक्ष जनशक्ति उत्पादन गरी राज्य सञ्चालनमा विश्वविद्यालयको अग्रणी भूमिका रहेको छ । तर, क्रमशः राजनीतिक र आन्तरिक अस्तव्यस्तताले गतिहीन बन्नुमा राजनीतिक नेतृत्वतिरै प्रश्न तेर्सिन्छ । राजनीतिक नेतृत्व खासगरी सरकार नै विश्वविद्यालयप्रति संवेदनशील बन्नुपर्छ । आफ्नो मुलुकको विश्वविद्यालयबाट लिएको उच्च शिक्षाको कुनै अर्थ नदेखेर दिन प्रतिदिन बिदेसिनेको संख्या बढिरहेको छ । यसको एउटै मात्र कारण हो, विश्वविद्यालय शिक्षामा बढ्दो आमअविश्वास ।
शैक्षिक संस्था त्यतिखेर सफल हुन्छ, जब त्यहाँ प्राज्ञिक स्वतन्त्रता हुन्छ, सक्षम र योग्य व्यक्तिले संस्थाको नेतृत्व सम्हालेपछि त्यसले लय समात्छ । अध्ययन, अध्यापन र अनुसन्धानजस्ता प्राज्ञिक गतिविधिबिना हस्तक्षेप आफ्नो लयमा बढिरहन्छन् । तर, त्यसको विपरीत असक्षम र दलका बफादार कार्यकर्ताको प्रवेश हुन्छ, अनि संस्था तहसनहस बन्छ र आफ्नो गन्तव्यबाट बिचलित बन्नपुग्छ । अहिले हाम्रो विश्वविद्यालय यही अवस्थाबाट गुज्रिरहेको छ । थप बिचलित हुन नदिन सक्षम, निष्कलंक र गैरदलीय व्यक्तिको प्रवेश निसर्त हुनुपर्छ ।
त्राशदीपूर्ण अवस्थालाई ट्र्याकमा ल्याउन पनि अबको त्रिवि नेतृत्व दूरदर्शी एवं समन्वयकारी हुुनु जरुरी छ
विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति योग्यताक्रम र कार्यविशिष्ठताका आधारमा हुनुपर्छ, न कि कुनै दलसँगको आबद्धता । प्राज्ञिक रूपमा दक्ष र निष्कलंक व्यक्ति नै विश्वविद्यालयको कार्यकारी भूमिकामा हुनुपर्छ । उसैले मात्र विश्वविद्यालयरूपी जहाजलाई सही गन्तव्यमा पु¥याउनसक्छ । त,र जब कुनै व्यक्ति दलीय झुकाव र कुनै अमूक पार्टी, संगठनको सक्रिय कार्यकर्ताको परिचयका आधारमा विश्वविद्यालयको त्यो गहन जिम्मेवारीमा पु¥याइन्छ भने अब कुरा बुझेहुन्छ, विश्वविद्यालयमा केही परिवर्तन हुनेवाला छैन । अनि त्यहाँ अवरोधैअवरोध, असहयोग, तालाबन्दी, कार्यालय घेराउदेखि लिएर गाली बेइज्जती र अन्त्यमा कार्यालय प्रवेशमै रोक लगाउने जस्ता गैरप्राज्ञिक गतिविधि बढ्न थाल्छन् । र, अन्त्यमा आफ्नो चारवर्षे कार्यकाल सकिनै लाग्दा केही पृष्ठ वक्तव्य निकालेर उपकुलपति बाहिरिने परिपाटीले विश्वविद्यालयको इतिहास धमिलो बन्दै गएकोतर्फ चनाखो हुनैपर्छ ।
भनिन्छ, कुनै पनि संस्थाको परिचय त्यसको नेतृत्वसँग जोडिएको हुन्छ । व्यक्तिको दूरदर्शिता, सामाथ्र्य र सूक्ष्म व्यवस्थापनको कौशल नै संस्थाको उद्देश्यप्राप्तिमा कोसेढुंगा बन्छ । उपकुलपतिको बिरासत थाम्ने मात्र होइन इतिहास रच्ने व्यक्ति आजको विश्वविद्यालयको आवश्यकता हो । विश्वमा उत्कृष्टताको परिचय बनाएका विश्वविद्यालयहरूजस्तै हार्वर्ड, प्रिन्सटन, लिंकन, एमआईटी, स्टान्टफोर्डमा समेत बोर्डअफ ट्रस्टीको भूमिका महत्वपूर्ण मानिएको छ । तर, हाम्रो मुलुकमा भने आफ्नो राजनीतिक हैसियत र शक्ति सञ्चयको अखडाका रूपमा विश्वविद्यालयलाई प्रयोग गरिएको छ । त्यही भयका कारणले बोर्डअफ ट्रस्टीमा लैजाने कुराको कानुनी सुनिश्चितता गर्न राजनीतिक नेतृत्व तयार देखिएको छैन । अहिले विश्वविद्यालयमा देखिएका यावत समस्याहरूको मूल कारण भनेकै सही पात्रको विश्वविद्यालयमा प्रवेश नहुनु हो ।
परिवर्तनको हुटहुटी बोकेको, उच्च प्राज्ञिक पृष्ठभूमि भएको, परिणामउन्मुख, मुलुककै शैक्षिक जगतले पत्याएको व्यक्ति नै उपकुलपतिमा चयन हुनुपर्छ । के त्यस्तो विशेषता बोकेको व्यक्ति हाम्रो मुलुकमा छैनन् होला ? यति धेरै चिन्ता र चासो सार्वजनिक भइरहँदा पनि विश्वविद्यालयले कुशल नेतृत्व पाउन सकेन भने फेरि पनि राजनीतिक दलको कुशल संगठकका हातमा विश्वविद्यालय नपुग्ला भन्न सकिन्न । त्यसपछि विश्वविद्यालयको ओजपूर्ण इतिहास कहाँ पुग्ने हो ? विगतको गौरबपूर्ण इतिहास वर्तमानमा चुनौतीपूर्ण बन्दै गइरहेको तर्फ सरोकारवाला सबैको खबरदारी उतिकै जरुरी छ । विश्वविद्यालयका अंगअंगमा झाँगिएको विकृतिलाई निर्मूल पार्ने हिम्मतवाला व्यक्ति नै विश्वविद्यालयको उपकुलपति बन्नुपर्छ ।






