जनकपुरधाम । बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारविरुद्ध नेपाली कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघले जनकपुरधाममा प्रदर्शन गरेको छ ।
सत्ताको दम्भमा आफूनिकटलाई उन्मुक्ति दिँदै कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई फसाएको भन्दै नेविसंघले शनिबार जनकपुरधाममा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध प्रदर्शन गरेको हो । बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिएर सरकारले राजनीतिक पूर्वाग्रह प्रदर्शन गरेको र अख्तियार पनि सरकारकै मतियार बनेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।
जग्गा प्रकरणका मुख्य दोषी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लिलामणी पौडेललाई उन्मुक्ति दिएर उपसभापति गच्छदारलाई मात्र किन फसाइएको भन्दै उनीहरूले प्रश्न गरेका छन् । राजनीतिक पूर्वाग्रहको हिसाबले लगाइएको गच्छदारविरुद्धको मुद्दा फिर्ता लिन पनि उनीहरूले माग गरेका छन् ।
नेविसंघ राराब क्याम्पस इकाइ समितिका सभापति सुजित यादवको अध्यक्षता तथा नेपाली कांग्रेस धनुषाका नेता नरेश यादवको आतिथ्यमा भएको विरोध कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य सजीव यादव, तरुण दलका पूर्वकेन्द्रीय सदस्य नवल यादव, सुधीर गोइत, जिल्ला अध्यक्ष सञ्जय यादव, तरुण दलका जिल्ला उपसभापति राकेशबिक्रम साह, राजेश कर्ण, मो. फिरोज, सर्बजित यादवलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।






