शहीदको सपना

हामी साताव्यापी शहीद सप्ताहमा व्यस्त छौं अहिले, तर उनका सपनालाई लत्याउँदै छौं । हाँसेर तिनले जीवन उत्सर्ग गरे तर हामी भने रोएर जिइरहेका छौं, कतै स्वर्गका शहीदले मुलुकको अवस्था थाहा पाए भने ती पनि त्यहीँ रुन्छन् होला । नक्कली शहीद धेरै भए, ४ थान गोलीमा ४ शहीद फेरि किनिएको एक महिना हुँदै छ । केमा छैन विकृति यहाँ ? राजनीतिले बिगारेको पाटो समाजको स्वरूप कुरूप बन्दै छ, मौलिकता हराएको छ, विदेशीले परेड खेल्न थालेका छन्, सिमानामा अतिक्रमण भएको छ, नाफाखोरहरूको जगजगी छ, शिक्षा, स्वास्थ्य बिचौलियाको हातमा छ, बजार अनियन्त्रित छ, दलहरूलाई मुलुकको भन्दा निर्वाचनको चिन्ता छ । छिमेकी सबै कुरामा आत्मनिर्भर भयो, उसले युरोप, अमेरिकामा खाद्यान्न निर्यात गर्दै छ, हामी उसको चामल कोटामा परेका छौं ।

ऊ धर्ममा पनि त अब्बल भयो, अयोध्यामा भव्य राममन्दिर तयारी र उद्घाटन पनि भयो । उताका यहाँ आउँदा ऋषिमन गर्नु भनिएको हो, उत्तरकाले पनि सुशासन भनेर गए, परिणाम आयो कुशासनको, सुन तस्करीको, नक्कली शरणार्थीको । निर्वाचित संस्था किन कोमामा गएको ? कोमाबाट फर्किएपछि अहिले हिउँदे अधिवेशनमा एजेन्डा छैनन् भनिँदै छ । आममाफीका लागि गणतन्त्रको श्रीपेच उजागर भएको छ । हिजो अख्तियारको एउटा सानो भवन थियो बबरमहलमा, आज टंगालको आलिसान भवन अनि मुलुकभरि यसका संयन्त्रहरू छन् र यी यस्तै अन्य संयन्त्रहरूको ताँती नै छ र पनि सवारी इजाजतपत्र नै लाखबढी नक्कली र त्यसमा काम गर्न लागेको भनिँदै छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले के देखाएको थियो ? सबैलाई अवगतै छ ।

शहीदले लोकतन्त्र, गणतन्त्र, संघीयता ल्याए भनिन्छ तर तिनका परिवारले के पाए वा अरू दर्शक बनेका आमसर्वसाधारणले के पाए ? एउटै भवनमा पाँचवटा मन्त्रालय अनि मुलुकलाई चिराफारा गरेर भागबन्डामा छ, दलको निहित स्वार्थमा । ३ करोड जनता बस्ने दिल्ली कस्तो छ र ३ करोड नपुगेको यस मुलुकका जनतालाई कति पीडा छ ? आधा त विदेश पलायन भइसके । मुलुकको अवस्था कति जर्जर छ भनिरहनु पर्नेछैन । मुलुक दलदलमा फसेको छ, करको मारमा जनता पिल्सिएका छन्, व्यापार घाटा चुलिएको छ, नाना, खाना, छानाका लागि विदेशीको हात थाप्नुपरेको छ, नेताले बाँडेका सपनाको आत्मरतिमा जनता भुलेका छन्, निर्वाचनबाहेक मुलुकमा नेताहरूले के गरे ? शहीदले त सोध्लान् नै अरूले पनि सोध्नुपर्ने होइन ?

विद्धान्हरूले भनेका छन्, मानिस स्वयं ईश्वरको अनुग्रह हो । तिमीहरू सबै दिव्यात्मा रूप हौ, तिमीहरू जान्न चाहन्छौं के तिमीहरूलाई पनि स्वामीको शक्ति प्राप्त हुनसक्छ ? अवश्य सक्छ । मेरो अनुकरण गर, तिमीलाई पनि सबै क्षमता सुलभ हुनेछ । यो शक्ति तिमीभित्र मौजुद छ, फरक यति छ कि तिमीलाई यो थाहा छैन, सत्य साई बाबाको भनाइ हो यो । उनको यो स्वचिन्तन र स्वाध्यायबाट यो थाहा हुनसक्छ भने वैदिक चिन्तनको थलो नेपाली भूमिमा जन्मप्राप्ति मात्रै पनि गौरवको विषय हो, कारण यो मुलुक जनकको हो, जानकीको हो, बुद्धको हो, पशुपतिको हो । तर, अहिले पशुपतिकै ढोकामा राजनीतिक व्यापार छ ।

छिमेकी सबै कुरामा आत्मनिर्भर भएर उसले युरोप, अमेरिकामा खाद्यान्न निर्यात गर्दै छ, हामी उसको चामल कोटामा परेका छौं

‘भक्तिबाट आफूलाई चिनेर परलोक सुधार्न सकिन्छ’ भन्ने विवेक चुडामणिको भनाइ छ । संगतअनुसार नै व्यक्ति वा वस्तुमा परिवर्तन आउँछ भतृहरिको कथन हो, यो । ‘घरपरिवार आपसी सद्भाव र प्रेम, शुद्धता र विश्वास, वृद्धलाई श्रद्धा र किशोरलाई सम्मान भएको ठाउँ धेरै राम्रो हुन्छ’ भन्ने महात्मा बुद्धको भनाइ छ । संसारमा जति मानिस छन्, ती कसैको पनि औंठाको छाप एकअर्कासँग नमिलेझैं बानी व्यहोरा पनि मिल्दैन । तथापि, हामी एकअर्काका परिपूरक भएर समाजलाई स्वस्थ बनाउनुपर्छ । सबैको हित हुर्ने कार्यमा लाग्नुपर्छ, कारण सबै प्राणी मरणशील छन् । रोगी मानिसका लागि प्रेमपूर्वक व्यवहार र एउटा मीठो बोलीवचन पनि सय डाक्टरभन्दा ठूलो हुन्छ भन्ने ब्रह्म चैतन्यको भनाइ रहेको छ । वीर अस्पतालको जाउलोमा पनि राजनीतिक छाया परेको छ । बिमामा फेरि अर्को व्यापार हुँदै छ, यही १ माघदेखि ।

हो रोग सबैतिर छ, तर एकपटक मुलुकले देवकोटाजस्ता स्वास्थ्यमन्त्री पाएको थियो पहिले । महावीर पुनजस्ता विज्ञानमन्त्री बन्ने, कुलमानजस्ता ऊर्जामन्त्री बन्न दलले दिँदैन, राष्ट्रि स्वतन्त्र पार्टीलाई थान्को लगाउन सुरु गरेको धेरै भइसक्यो । विज्ञ, योग्य व्यक्तिलाई माथिल्लो सदनमा ल्याउन सकिने प्रावधान छ, तर दलको भागबन्डा नै जरुरी छ । त्यसमा पनि भर्खरै पनि त देखियो । नयाँ गाडी चढ्ने सडकैभरि उफ्रने दलको काम हो कि अरू पनि छ, काम ।

नबुभ्mदा मानव आपैंm राक्षस हो । बुभ्mदा ऊ देव पनि, मानवले मानवमाथि हतियार उठाउँदा ऊ मूर्ख हो, जनावर हो, पापी हो । धर्मकर्म गर्दा धार्मिक हो धार्मिक भनेर जोगी नै हुनुपर्ने होइन, गेरु नै लाउनुपर्ने पनि होइन, मन्दिर धाउनुपर्र्ने होइन, जनरक्षा नै धर्म हो । एक युवतीलाई नौ जनाले सामूहिक बलात्कार गर्ने समाजमा हाम्रै छ । शरीर त स्वयं मन्दिर हो, भोगी मात्र हुँदा मानिस पशुतुल्य हुन्छ, सचेत दलपात्रले किन सिकाएनन् यी कुरा ? न्यास भनेको कर्मप्रतिको निष्ठा हो, सुकर्मको परिणाम राम्रो हुन्छ, शुभ कर्मप्रतिको निष्ठा हुनु नै सन्यासी हो, तपस्वी हो, ज्ञानी हो, ऋषि हो । अरूले आएर ऋषि मन भनेर गए, यहाँ किन सिसी लिएर युवती भेट्न गएको ? यसमा कोही फस्ने कोही छुट्ने किन नि ? शहीदले यही भने कि ?

संस्कार खोइ त पछिल्लो राजनीतिक परिवर्तनपछि भएको संस्कृति, संस्कार पनि सबै हरायो । समाज निर्दयी भयो, विदेशीको इशारामा धर्म नै हटाइयो । विज्ञानले असन्तोषी हुनु भने पनि विनाश धेरै निम्त्याएको छ । विज्ञानको दुरुपयोग गर्दा मानिस हिंस्रक बन्छ । अहिंस्रक हुन त विवेकी हुनुपर्छ, विज्ञान र ज्ञानको सदुपयोेग गर्नुपर्छ । दुष्ट बुद्धिले उपकारी होइन्न, बलात्कारी, अत्याचारी, दुराचारी, भ्रष्ट र पतीतको ओषधि छैन । इमानदार व्यक्तिलाई कानुन नै चाहिँदैन, कानुन एक डोको बनाउने पालना नगर्ने कस्तो संस्कृति छ, हाम्रो ? असल समाजको निर्माण गर्न नैतिक कानुन जरुरी छ । यो त सिलेबसबाटै हटाइसकेको अवस्था छ यहाँ । मनले शुभसंकल्प, सदाचार, सत्विचार, कल्याणकारी चिन्तन लिई ईष्र्या, क्रोध, आवेग, तनाव, वैमनस्यताबाट टाढा रहेमा मानिसले सर्वत्र विजय प्राप्त गर्नसक्छ । त्यसैले, नेतृत्व लिँदा मुलुक उँभो लाग्छ नत्र पर्ने खाल्डोमै हो, उत्रनै नसक्नेगरी ।

संस्कार खोइ त ? पछिल्लो राजनीतिक परिवर्तनपछि त भएको संस्कृति, संस्कार पनि सबै हरायो

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन्’ भन्ने गीताको वचन हो यो । अर्थात्, कर्म गर फलाशी नहोेऊ । आफ्नो मुलुकलाई दुर्बल र रोगी बनाएर सधैं गनगन गर्नु अनि दयाको भिक्षा माग्नुजस्तो ठूलो पाप अर्को छैन । तिमी मलाई आफ्नो संगत भन, म तिमीलाई तिमी के हो भनी बताउनेछु । सत्य साईबाबाकै भनाइलाई कोट्याउदा यो स्पष्ट हुन्छ । लोभले धर्म र प्रतिष्ठा दुवै नष्ट गर्छ, महाभारतको भनाइ हो यो । अनुभवबिनाको कोरा शाब्दिक ज्ञान अन्धो हुन्छ, अनुभव नै साँचो गुरु हो भनी विवेकानन्दले बताएका छन् । धर्मको काम नै जगत्को प्रतिष्ठा बढाउनु भनी ऋग्वेदले बताएकोे छ भने जसले आफ्नो मुलुकका जनताप्रति माया दर्शाउँछ, त्यसका सन्तान बढ्छन् र धेरैले कल्याणको अनुभव पनि गर्छन् भनी विदुरनीतिले स्पस्ट्याएको छ ।

ठूला सहरमा धूर्त, ठग र वेश्यालय बढ्नेछन्, गरिबहरू धनीमानीबाट लुटिनेछन् भनी महात्मा गान्धीले भनेका छन् । भोजनको प्रभाव मस्तिष्कमा पर्छ, त्यसैले सात्विक भोजन गर्नुपर्छ भनी प्लेटोले उहिल्यै भनेका थिए । आहार शुद्ध भएपछि मन शुद्ध हुन्छ, मन शुद्ध भएपछि स्मृति शुद्ध हुन्छ छान्दग्योपनिषद्ले त्यो भन्दा पहिले भनेकोे थियो । परोपकार नै पुण्य हो, परपीडन पाप हो भन्ने वेदव्याव्यासको उक्तिदेखि मर्नु फेरि जन्मनु हो भन्ने शहीद शुक्रराज शास्त्रीको भनाइसम्म र आत्मा एउटा चेतनतत्व हो, जसले रहनका लागि आश्रय लिन्छ र एउटा शरीरबाट अर्को शरीरमा जान्छ, भौतिक शरीर आत्मालाई धारण गर्न विवश हुन्छ भन्ने गेटेको भनाइ, मायाले नछोएको चैतन्य नै ईश्वर हो भन्ने वेदान्त वाक्यले हामीलाई सदैव पूर्वीय चिन्तनमा प्रेरित गराउनुपर्ने हो ।

कुरा गरेको भरमा कोही मानिस ठूलो हुन सक्दैन । वाल्मीकि रामायणको उक्तिदेखि खराब मानिसलाई सुधार्ने मुख्य औषधि दया र प्रेम हो भन्ने गान्धीको विचारसम्म, श्रद्धा, विश्वास र उत्साहको साथ काम गरे अवश्य सफल भइन्छ भन्ने साईबाबाको भनाइसम्म हामीले आत्मसात् गर्नसके अनि तिमी आफूलाई इमानदार बनाऊ, पक्कै पनि संसारमा एउटा खराब मानिस कम हुन्छ भन्ने थोमस कारलाइलको भनाइसम्म हामीले मनन गर्नसके असल समाज निर्माणमा कठिनाइ देखिन्न । ‘पापीलाई घृणा नगर तर पापलाई हटाउन प्रयत्नरत रहू’ भन्ने माहात्मा गान्धीको जीवन शैलीसम्मका विधि र व्यवहार हामी र हाम्रै परिवेशमा पाइए पनि भौतिकताको क्षणिक सुखमा लोभिएर जीवन र जगत्लाई बिर्सने उच्च र आफूलाई घरानियाँ भनाउने व्यक्तिहरू पनि हामीकहाँ कम छैनन् ।

इमानदार र वौद्धिक व्यक्तित्वहरूलाई समेटेर देशव्यापी रूपमा सैद्धान्तिक र व्यावहारिक रूपमा चरित्र निर्माणको बहस जरुरी छ । अहिले सबैतिर धरापै धराप खडा भएको र मुलुकको विकास निर्माण, उन्नति र प्रगति पनि अल्मलिएको छ । लोभ र स्वार्थको फोहोरी खेलबाट बाहिर नआएसम्म नेपाल र नेपालीको प्रगति शून्य नै हुन्छ र भविष्य पनि अन्धकार नै । यस्ता विषयमा दिइने प्रशिक्षण अनुशिक्षणहरूले समाज सुधारको कार्य पनि गर्नेछ । शहीदको सम्झना त्यसैमा हुन्छ, केबल फोटोमा माला लगाइदिएर के हुन्छ ?

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री