आशंका आफैंभित्रबाट सुरु हुन्छ । अरूले गरोस् कि नगरोस्, आशंका मनबाटै अंकुरित हुनथाल्छ । आफू सिद्धिने वा अलगावमा पर्ने भनेको आशंकाकै कारण हो । आशंकाले सामाजिक जीवनमा दरार पैदा गर्छ । तर, आशंका मानिसको निकै प्रिय मनोवैज्ञानिक अस्त्र बनेर सबैको मनमा र मस्तिष्कमा सहजै बसिरहन्छ ।
आशंकाले घर गर्न थालेपछि दुःख कष्ट र दुर्भावनालाई तपाईंले आफूतिर आकर्षित गर्न थाल्नुहुन्छ । यो भनेको आफूमाथि कष्टको बोझ थोपर्नु हो । यस्ता निराशाजनक र शंकास्पद कुविचारले तपाईंको वरिपरिको वातावरणलाई पनि फोहर बनाउँछ । दूषित बनाउँछ । कुविचार तपाईंको मनमा संस्कार बनेर विराजमान हुन्छ ।
आशंका जब संस्कारका रूपमा विकास हुन थाल्छ, यसले तपाईंका शत्रुलाई पाहुना बनाएर स्वागत गर्न थाल्छ । यसले हृदयमा डेरा जमाएर स्थायी बसोबास गर्न थाल्छ । यिनीहरूले तपाईंको घरमा सदाका लागि अधिकार यो भूल तापाईंकै हो, तपाईले नै शत्रुलाई घरमा छिराउनु भएको छ । तपाईंको घर र अधिकार अब तपाईंको सोचबाट गुमिसकेको छ । हरेक कुराले आफूसमान भएको गुणलाई आफूतिर आकर्षित गर्छ । तपाईंमा गलत गुणले घर जमाएर बस्न थालेपछि अब थप नराम्रा कुरा तपाईंतिर आकर्षित हुन थाल्छन् । तपाईंका काम एकपछि अर्को गरी विफल हुँदै जान थाल्छन् ।
तर, सकारात्मक विचार लिन थालेपछि उत्साह, आत्मविश्वास र दृढ विचारले कार्यसिद्धि पाउँछ । यसबाट सफलता पाइन्छ । यस गुणले समान गुणलाई आकर्षित गर्छ । त्यसपछि तपाईंको प्रगति, उन्नति र सफलता चुलिन थाल्छ । तपाईंको कार्यसिद्धिको निपूर्णता पहिले मनबाट सुरु हुन्छ । मानसिक भाव नै जीवनरूपी महलको नमूना हो । आशंका, भय, निराशा र दुविधाले उत्साह, जाँगर, विश्वास र लगनशीलतामा ह्रास ल्याइदिन्छ ।
व्यापारीले यस्ता कुरा सोच्नुहुँदैन । भनिन्छ पनि ‘पशु बिग्रन्छ, एकमनले मानिस बिग्रन्छ, दोमनले’ भन्ने उखान ख्यालमा राख्नुस् । बजार अस्थिर छ, प्रतिस्पर्धा छ, घाटा हुन्छ क्यारे ! भनेर त्रसित मनोभाव नराख्नुस् । यसो गर्नुभयो भने तपाईंको विजनेस चौपट हुन्छ । हिम्मत गर्नुस् र निरन्तरता दिनुस् । भनिन्छ, ‘सही घरवार, रही व्यापार !’ यसको आशय हो, दुःख सहन गर्न सकेपछि घरवार बन्छ भने निरन्तर बिजनेसमा रहिरहे मात्र नाफा र फाइदा हुन्छ ।
अन्यथा, घातक नतिजा तपाईंको अगिल्तिर आउँछ । सम्पूर्ण प्रगतिका बाटा बन्द हुन्छन् । असफलताको भयबाट ग्रस्त मानसिकताले परिश्रम गर्न दिँदैन र केही हात लाग्दैन पनि !
(स्वेट मार्डनको ‘वैज्ञानिक सफलता’बाट)






