
नेपाल प्रेस काउन्सिलद्वारा आयोजित ‘युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव’ विषयक ‘सम्पादक संवाद’मा हिजो सहभागी भइयो । यस कार्यक्रमका प्रस्तुती र छलफलहरू मेरा लागि अत्यन्तै लाभप्रद रहे । पत्रकारिता जगत्को आजको यथार्थ र विद्यमान गतिशील व्यक्तित्वहरूको सोचका ’boutमा बुझ्ने राम्रो मौका मिल्यो । व्यक्तिगत रूपमा मलाई चाहिँ अझ पुराना टुटेका सम्पर्क र कडी जोड्ने अवसर पनि प्राप्त भयो । आदरणीय किशोर नेपालसँग त निरन्तर सम्पर्कमा थिएँ नै । तर, दुई दिनको अन्तरालमा भेट्दा पनि किशोर नेपालबाट नयाँ कुरो प्राप्त हुन्छ । दृष्टि सप्ताहिकका शम्भु श्रेष्ठसँग निकै लामो अन्तरालपछि भेट भयो । एक पुराना सहृदयी मित्रसँग एक लामो अन्तरालपछि भेट हुँदा पुराना विस्मृतिका पानाहरू पल्टिनु स्वाभाविक हो । कुरै कुरामा शम्भुजीले ‘हाम्रो समय’को मिसन पत्रकारिताको कुरो उल्लेख गर्नुभयो । एकक्षण हामी त्यसैमा रमायौं र दंग प¥यौं पनि । आज यसैसँग सम्बन्धित विषयमा दुई शब्द कोर्ने जमर्को गर्दै छु ।
माथवरसिंह बस्नेत जनमतसंग्रहको घोषणापश्चात् जन्मकैदबाट आममाफी पाएर छुट्नुभएको थियो । जनमत संग्रहको अप्रत्याशित परिणामपछि विपक्षमा एक प्रकारको नैराश्यता र शून्यता छाएको अवस्था थियो । बस्नेतले पुनर्जागरण मासिकको प्रकाशन सुरु गर्नुभयो । बिस्तारै मासिकलाई साप्ताहिकमा परिणत गर्ने सोच पलायो । विश्वसन्देश र विश्वदूत हुँदै स्वर्गीय एम शर्मा पौडेलको वार्तालाप साप्ताहिक चलाउन थाल्नुभयो । मैले पत्रकारिताको क्षेत्रमा प्रवेश गरेको त्यसैबेला हो । अन्तर्राष्ट्रिय समाचारबाट खेलकुद आदि हुँदै बिस्तारै कलम चलाउन थालियो, एक नौसिखियाका रूपमा । २०४५ सालतिर पुनर्जागरणलाई नै मासिकको रूप दिने तय भएपछि म त्यहाँ अत्यन्तै नजिक भएर जोडिन पुगें । कृष्णप्रसाद भट्टराईका दाजु गोर्खापत्रका पूर्वप्रधानसम्पादक गोपालप्रसाद भट्टराईसमेत त्यहाँ जोडिन आइपुग्नुभएको थियो । म आफैं अर्धसरकारी संस्था नेपाल बैंकको जागिरेको नाताले धेरै संलग्नता उजागर गर्न सम्भव थिएन । औपचारिक रूपमा औंल्याउन नमिल्ने चाँजोपाँजो मिलाएर प्रत्यक्ष रूपमै संलग्न भइयो ।
२०४६ सालको गर्मीयाम थियो । हामी पञ्चायत व्यवस्थाइत्तरका व्यक्तिहरूलाई छटपटी भइरहन्थ्यो । परिवर्तनको आशा थियो, तर थोरै पनि संकेतसम्म थिएन । त्यसैकारण भरोसा पटक्कै थिएन । तत्कालीन प्रतिबन्धित कांग्रेस तप्काबाट आन्दोलनका कुरा उठ्थ्यो भने कम्युनिस्टहरू त क्रान्तिकै कुरा गर्थे । तर, आन्दोलन वा क्रान्ति हुन्छ भन्ने विश्वास लगभग कसैलाई थिएन । कांग्रेस वा कम्युनिस्ट धारका भनेर चिनिने साप्ताहिक पत्रिकाहरू सक्रिय थिए, भनौं एकसुरमा लागिरहेका थिए । तर, साँच्चै भन्नुपर्दा मीठो गन्तव्यको आशमा हिँडेका बाटो बिराएका पथिकजस्ता थिए ती ।
प्रतिबन्धित कांग्रेसभित्र कम्युनिस्टसँग मिल्नुहुँदैन भन्ने मान्यता लगभग स्थापित थियो । कम्युनिस्टहरू त चिराचिरामा बिभक्त थिए र तिनीहरूको कांग्रेसलाई हेर्ने दृष्टिकोण पनि आआफ्नै खालको थियो । तर, कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गर्नुपर्छ भन्ने आवाज विभिन्न तप्काबाट उठिरहेको सुनिन्थ्यो । त्यसबेला साप्ताहिक अखबारमा समाचार कम विचार बढी हुन्थ्यो । हामी मूल समाचारलाई ‘निबन्ध लेख्ने’ भन्दै ठट्यौली गथ्र्यौं । पुनर्जागरणलाई कांग्रेसी र त्यसमा पनि गणेशमान सिंहको अखबार भनिन्थ्यो । वास्तवमै पुनर्जागरणको गणेशमानजीसँग अत्यन्तै बाक्लो सम्बन्ध पनि थियो । पुनर्जागरण प्रत्येक मंगलबार निस्कन्थ्यो । सोमबारका दिन नै मूल काम हुन्थ्यो । स्वाभाविक रूपमा के समाचार दिने र मुख्य समाचार के बनाउने भन्ने तनाव प्रत्येक सोमबार भइरहन्थ्यो । त्यस सोमबार पनि त्यस्तै भइरहेको थियो । कोठामा माथवरसिंह बस्नेत, अनारसिंह कार्की, गोबिन्द अधिकारी र म थियौं । के लेख्ने भन्ने प्रश्नकै ’round अलमल भइरहेको थियो । त्यत्तिकै हावाको भरमा मैले भन्न पुगेंछु, ‘गणेशमान सिंहको नेतृत्वमा संयुक्त जनआन्दोलन हुने भन्ने निबन्ध लेखे भइहाल्छ नि †’ मैले कुनै सोचेर, कुनै रणनीति विचार गरेर वा कुनै तथ्यमा टेकेर त्यस्तो भनेको थिइनँ । सायद थोरै गाइँगुइँ र जसरी पनि पञ्चायत ढाल्नुपर्छ भन्ने मानसिकताले मलाई प्रेरित गरेको थियो ।
अनारसिंह कार्कीले त्यस आशयको ‘निबन्ध’ लेख्न थाल्नुभयो । उहाँ र माथवरजी अर्को कोठामा गएर भोलि निस्कने मुख्य समाचार तयार पारेर फर्किनुभयो । सो आलेखमा गणेशमानजीको नेतृत्वमा पञ्चायतविरुद्ध निर्णायक आन्दोलन हुने, कम्युनिस्टहरूले गणेशमानजीको नेतृत्वमा कांग्रेससँग सहकार्य गर्ने र कम्युनिस्टहरूका विभिन्न घटक वाममोर्चाका रूपमा एकत्रित हुने जस्ता ‘समाचार’ थियो । अझ कम्युनिस्टहरूले गणेशमानजीसमक्ष प्रस्ताव नै राखिसकेको ‘न्युज ब्रेक’ गरिएको थियो । वास्तवमा त्यस्तो केही भएकै थिएन । त्यो समाचार फगत ‘यस्तो होस्’ भन्ने कामनाभन्दा बढी केही थिएन । यस समाचारको मस्यौदा सुन्दा म र गोबिन्द अधिकारी टन्न हाँसेका थियौं । त्यस्तो समाचार लेख्न सुझाउने स्वयं मलाई त्यो कुरो हावादारी लागेको थियो । स्वयं गणेशमानजीलाई यसका ’boutमा कुनै ज्ञान थिएन । भोलिपल्ट त्यो समाचार प्रकाशित हुँदा गणेशमानजी अलमलिनुभएको थियो । उहाँले पुनर्जागरण टिमलाई लगभग हप्काउने शैलीमा सोध्नुभएको थियो, ‘यो के हो ?’
तर, आश्चर्यजनक ढंगले यस समाचारले ठूलो तरंग पैदा ग¥यो । पञ्चायती शासकहरू चनाखो हुनु स्वाभाविकै हो । कांग्रेस र कम्युनिस्ट कहिल्यै मिल्दैनन् भन्ने विश्वासमा अडिग उनीहरूका लागि यो ठूलो झट्का थियो । कम्युनिस्टहरूमा झनै ठूलो हलचल पैदा ग¥यो । आफू पछाडि परिएला भन्ने पीरले विभिन्न घटक गणेशमान सिंह छेउ पुग्न लालायित देखिनथाले । यता, कांग्रेसभित्रै पनि गिरिजाप्रसाद कोइरालालगायत धेरैलाई ‘के हुन लाग्यो ?’ भन्ने कौतुहलता जाग्यो । यसक्रममा माथवरजी र अनारजीहरूले त वातावरण बनाउन विभिन्न ठाउँमा पुगेर थोरै ‘जालझेल’समेत गर्नुभएको मैले भेउ पाएको छु । अन्ततः सहाना प्रधानको संयोजकत्वमा संयुक्त वाममोर्चाको गठन भयो र मोर्चाले गणेशमानजीको नेतृत्वमा कांग्रेससँग सहकार्य गर्दै जनआन्दोलन गर्ने घोषणा भयो ।
मूल पात्रहरूलाई समेत अन्दाज नभएको नितान्त कल्पनाशील मस्तिष्कको उपज त्यस समाचारले कस्तो काम ग¥यो भन्ने ’bout त धेरै वर्णन गरिरहन नपर्ला † त्यो समाचार नै थिएन, कल्पनामा आधारित उत्पादित लेख थियो । पत्रकारिताको सैद्धान्तिक परिभाषाको कसीमा राखेर हेर्ने हो भने त्यो अनैतिक नै पो थियो कि † नैतिक वा अनैतिक जे भए पनि त्यस समाचारका उत्पादकहरूको नियत स्पष्ट थियो । उनीहरूको उद्देश्य सुस्पष्ट थियो अर्थात् असम्भवै जस्तो प्रतीत हुने भए पनि एउटा मिसनको प्राप्तिका लागि लागेका थिए । शम्भु श्रेष्ठले सम्झिनुभएको ‘मिसन पत्रकारिता’ यही नै होलाजस्तो मलाई लाग्छ । शम्भुजीको दृष्टि साप्ताहिक पनि उल्लिखित मिसनको अभिन्न सहयात्री थियो । पुनर्जागरण र दृष्टि साप्ताहिकले मिसन पत्रकारितामा सहकार्य गरेको छ ।
गोपालदास श्रेष्ठ, चन्द्रलाल झा, मदनमणी दीक्षित र गोबिन्द वियोगीहरूले जीवनभर मिसन पत्रकारिता नै गर्नुभयो । चन्द्रलाल झाको चारपाने सानो नेपाल टाइम्समा छापिएको सम्पादकीय पढ्न नयाँसडक पीपलबोटमा मानिसको लाइन लागेको दृश्य म बिर्सन सक्दिनँ । हामीबीच रहनुभएका किशोर नेपालदेखि हरिहर बिरही, होमनाथ दाहाल, पुरुषोत्तम दाहाल र रघु पन्तसम्म सबै त्यही मिसन पत्रकारिता कलेजका उत्कृष्ट उत्पादन हुनुहुन्छ र आज त ‘आचार्य’को तहमा नै पुग्नुभएको छ । दुई पुस्ताका सञ्चारकर्मीहरू सबै त्यही मिसन पत्रकारिताका उपज हुन् । त्यस पुस्ताले ‘व्यावसायिकता’ भन्ने कुरोलाई खासै ध्यान दिएन । सक्नेले आफ्नो सम्पत्ति लगाए, नसक्नेले हारगुहार गरेर आफ्नो प्रकाशन जोगाए । तर, मिसनतर्फ नै अर्जुन दृष्टि लगाए । त्यसबेला पनि द्रव्य आर्जनको मिसन बोक्नेहरू नभएका होइनन् । अहिले तिनका ’boutमा कुनै खाले टिप्पणी गर्न पटक्कै चाहन्नँ ।
मैले उल्लेख गरेको मिसन पत्रकारितामा जीवन बिताएकाहरूका लागि आजको प्रचलित कथित व्यावसायिक पत्रकारिताको परिवेश सहज लाग्दैन होला । आधुनिक वा व्यावसायिक पत्रकारिताका ’boutमा प्रचुर औपचारिक ज्ञान हासिल गर्नुभएका किशोर नेपालजस्तो पात्रलाई समेत विद्यमान परिदृश्य सहजै पाच्य हुन्छजस्तो लाग्दैन । तर, यथार्थ के हो भने आजको दृश्य पुरै बदलिसकेको छ । सञ्चारगृह स्थापना गर्न लगानी गर्ने सञ्चार उद्योगी र त्यस उद्योगमा काम गर्ने व्यावसायिक पत्रकार दुवैथरीले लाभहानीप्रति सचेत ‘क्रूर व्यापारी’को दृष्टि राख्नैपर्ने बाध्यता छ । ‘लाभ’का लागि सजग रहनु ठिकै हो । लाभ गर्दागर्दै बचत र मुनाफा खोज्नु पनि खराब होइन होला । तर, व्यावसायिकताको नाममा घुमाउरो एवं जस्केलाको बाटो खोज्नुचाहिँ पाच्य हुन्न कि ?






