काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताले पार्टीको प्रदेश समिति र स्थानीय समितिलाई बलियो बनाउँदै केन्द्रीय समितिलाई सानो आकारको बनाउनुपर्ने सुझाव दिएका छन् । पार्टी केन्द्रीय समिति ‘भद्रगोल’ भएको जनाउँदै उनीहरूले केन्द्रीय समिति र विभागलाई सानो आकारको बनाउनुका साथै विभागमा बढीभन्दा बढी विज्ञलाई राख्नुपर्ने समेत पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
१–३ फागुनमा काठमाडौंमा माओवादी केन्द्रले विधान सम्मेलन गर्दै छ । सो सम्मेलनअघि शनिबार र शुक्रबार स्थायी समितिको बैठक बस्यो । आइतबार र सोमबार केन्द्रीय समितिको बैठक काठमाडौंमा बस्दै छ ।
माओवादी केन्द्रका सचिव गणेश शाहले स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले केन्द्रीय समितिलाई सानो आकारको बनाउनुपर्ने सुझाव दिँदै प्रदेश र स्थानीय समितिलाई बढीभन्दा बढी अधिकार दिनुपर्ने सुझाव दिएको बताए ।
‘केन्द्रीय समिति ठूलो भयो, नेता बढी भए तर काम कम भयो । केन्द्रीय समितिको आकार सानो बनाउनुपर्ने र प्रदेश तथा स्थानीय समितिलाई बढीभन्दा बढी अधिकार दिएर नेतालाई त्यता जिम्मेवारी दिनुपर्ने सुझाव आएको छ’ सचिव शाहले राजधानीसँग भने, ‘केन्द्रीय समिति मात्रै नभई विभागसमेत सानो बनाउनुपर्ने र विज्ञलाई बढीभन्दा बढी राख्नुपर्ने सुझाव समेत आइरहेको छ ।’
स्थायी समितिको बैठकपश्चात् अब बस्ने दुई दिनसम्मको केन्द्रीय समितिको बैठकमा नेताले दिने सुझाव समेटेर विधान सम्मेलनमा विधानको मस्यौदा पेस गरेर छलफल गरी पारित गरिने उनले बताए । विधान सम्मेलनमा १३ सयभन्दा बढी नेता सहभागी हुँदै छन् । पार्टीको विधानलगायतका विषयमा गम्भीर छलफल गर्दै पार्टीलाई अझै गतिशील एवं सांगठनिक रूपमा बलियो बनाउने शाहले जनाएका छन् ।
प्रदेश र स्थानीय तहका समितिलाई बढीभन्दा बढी अधिकार दिनुपर्ने
स्थायी समितिका नेताले केन्द्रीय समिति १५१ सदस्यीय बनाउनुपर्ने सुझाव दिएका छन् । ‘कसैले १५१, कसैले १७५ त कसैले १९९ हुनुपर्ने सुझाव दिने क्रम जारी छ । केन्द्रीय समितिमा रहेका नेताले समेत दिने सुझावका आधारमा विधान सम्मेलनबाट तय हुनेछ’ उनले भने । अहिले माओवादी केन्द्रको केन्द्रीय समितिमा ५ सयभन्दा बढी केन्द्रीय सदस्य रहेका छन् ।
यस्तै, केन्द्रीय कमिटीको एक तिहाइ हुनेगरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ हुने गरी स्थायी कमिटी बनाउनुपर्ने प्रस्ताव गरिएको छ । पार्टीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष राख्न भनिएको छ । केन्द्रीय पदाधिकारीको संख्या पनि बढी भएको बताउँदै नेताले संख्या घटाउनुपर्ने पक्षमा रहेका छन् ।
यसैगरी नेताले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन् । संविधानमा नै समाजवाद उन्मुख राज्य व्यवस्थाको उल्लेख गरिएको भन्दै उनीहरूले पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राख्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्यमान्यता र आदर्श स्थापित हुनेगरी बनाउनुपर्नेमा नेताले जोड दिएको बताए । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान सम्मेलन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापन सम्बन्धमा जानकारी दिँदै शान्ति प्रक्रियालाई टुंग्याउन दलबीचमा भइरहेको छलफल’bout बैठकमा जानकारी गराए ।
पार्टीको नाम परिवर्तन गर्नेगरी यसअघि नै तल्लो तहसम्म छलफलका लागि प्रस्ताव गरिएको छ । जसका कारण पार्टीभित्र ‘माओवादी’का नाममा बहस समेत चलिरहेको छ । माओवादीले विधान सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावित विधान मस्यौदामा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव गरेर पार्टीको नाम परिवर्तन गर्ने उल्लेख गरेका छन् । माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेको भन्दै पार्टीको नाम फेर्ने विषयमा समेत छलफल अघि बढाएका हो ।
गत २५ भदौमा बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्नेगरी निर्णय गर्ने उल्लेख गरेको थियो । त्यति बेला अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा ‘माओवादी केन्द्र’का नाम’bout आवश्यक निर्णय लिन सकिने उल्लेख थियो ।
पुस अन्तिम साता बसेको माओवादी स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पार्टीको नाम फेरेर ‘नेकपा समाजवादी’ राख्न प्रस्ताव गरेका थिए । शर्माले सो प्रस्ताव गरेपछि अहिले पार्टीभित्र समर्थन र विरोधमा छलफल जारी छ ।
माओवादी केन्द्रले यही ५ पुसमा उपाध्यक्ष पम्पा भुसालको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा तथा सचिवद्धय गणेश साह र सुरेन्द्र कार्की रहेका थिए । यो समितिले पार्टी विधानको मस्यौदा बुझाइसकेपछि त्यसमा पार्टीको विभिन्न तहका कमिटीमा अहिले छलफल चलिरहेको माओवादी केन्द्रले जनाएको छ ।






