सुन्दरहरैंचा (मोरङ) । मोरङमा एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाइएको घटना बाहिर आएको छ । मोरङ बूढीगंगा गाउँपालिका–७ मा बोक्सी आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाइएको घटना बाहिर आएको हो ।
ती महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ कै ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको छ । कुटपिट गर्दै ती महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाएको उजुरी परेपछि माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि दुव्र्यवहार भएको थियो । सो दियो पीडित महिलाले चोरी गरेको आरोप माझीको छ । पूजाको दियो हराएपछि बोक्सीले चोरी गरेको भनेर माझीले यातना दिँदै महिलामाथि अमानवीय व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुटपिट गर्दै यातना दिन थालेपछि पीडितले पटकपटक आफूलाई त्यसो नगर्न आग्रह गरेको पीडितको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । तर, माझीले घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेको भन्दै लछारपछार गरेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेकी थिइन् । माझीलाई शुक्रबार म्याद थप गरी अनुसन्धान भइरहेको र उनीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






