मकवानपुर । मकवानपुरकी राजधानी संवाददाता सरिता दाहाल ‘उत्कृष्ट पत्रकार वर्ष अवार्ड २०८०’बाट पुरस्कृत भएकी छन् ।
२०६१ साल माघबाट मिडिया क्षेत्रमा निरन्तर सक्रिय दाहाल पछिल्लो १६ वर्षदेखि राजधानी दैनिकसँग आबद्ध छिन् । जिल्लामा रहेर सबै प्रकारका विधामा कमल चलाउँदै आएकी दाहाललाई वर्षको ‘उत्कृष्ट पत्रकार वर्ष अवार्ड’ प्रदान गरिएको न्यु मिडिया एकेडेमी प्रालि अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।
न्यू मिडिया एकेडेमी प्रालि र पावर इन्टरनेसनल मिडिया नेपालको संयुक्त आयोजनामा हेटौंडामा भएको पाँचौं राष्ट्रिय जर्नालिज्म अवार्डमा दाहाललाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको हो ।
त्यस्तै, अन्य विधामा पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । जसमा अग्रज पत्रकार अवार्डबाट कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ र हरि हुमागाईंलाई सम्मान गरिएको छ । सञ्चार उद्यमीतर्फ उज्ज्वल चौलागाईं, माधव न्यौपाने र ध्रुवराज ढकाललाई सम्मान गरिएको छ ।
यसैगरी, सर्वोत्कृष्ट पत्रकार राष्ट्रिय वर्ष अवार्डबाट कान्तिपुर दैनिकका होम कार्की, उत्कृष्ट पत्रकार पुरूष वर्ष अवार्डबाट रातोपाटी अनलाइनका गणेश दुलाल, खोज पत्रकार वर्ष अवार्डबाट अनलाइन खबरका नवीन तिमल्सिना, टेलिभिजन पत्रकार वर्ष अवार्डबाट टिम टेलिभिजनका मनिल महतो, अनलाइन पत्रकार वर्ष अवार्डबाट अनिरुद्र खबरका अनिल पराजुली, चलचित्र पत्रकार वर्ष अवार्डबाट रातो समाचारका राजेश थापा, ग्रामीण पत्रकार वर्ष अवार्डबाट नेपाल खबरकी सुनिता विष्ट, खेलकुद पत्रकार वर्ष अवार्डबाट गोल नेपालका बिक्रम बानियाँ, उदीयमान पत्रकार वर्ष अवार्डबाट रवीन्द्र वाइवालाई पुरस्कृत गरिएको छ ।
सो संस्थाले २०७५ सालदेखि स्थानीय तथा राष्ट्रिय मिडियामा सक्रिय सञ्चारकर्मीलाई अवार्ड प्रदान गर्दै आएको न्यु मिडिया एकेडेमी प्रालि अध्यक्ष गौतमले बताए । ‘श्रमजीवी पत्रकारलाई निरन्तर फिल्डमा खटिएर काम गर्ने ऊर्जा मिलोस् भनेर यस्तो कार्यक्रम गरिएको’ गौतमले प्रस्ट पारे ।






