स्याङ्जा । स्याङ्जामा फागुन १३ गतेदेखी दादुरा रुवेला खोप शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय स्याङ्जाले आयोजना गरेको खोप समन्वय समिति, संचारकर्मी र सरोकारवालाहरु सगँको अन्तरक्रिया एंव छलफलमा दादुरा रुवेला खोप फागुन १३ गतेदेखी शुरु हुने जनाएको हो ।
फागुन १३ देखि दादुरा रुवेला खोप
फागुन १३ गतेदेखी शुरु हुने दादुरा रुवेला खोप चैत्र ७ गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । ९ महिनादेखी ५ बर्ष मुनीका बालवालिकाहरु र ९ महिना देखी १५ बर्षमुनीका बालवालिकाहरु यो खोपमा सहभागी हुने स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशप्रसाद चापागाईले जानकारी दिए ।
स्याङ्जामा १६ हजार ३ सय ९४ बालवालिकाले उक्त खोप लगाउने चापागाईले बताए । नियमित खोप लगाउन छुटेका बालवालिकाले पनि नजिकैको खोप केन्द्रमा खोप लगाउन उनले आग्रह गरेका छन् । ११ ओटै पालिकामा डाक्टर सहितको टोली खोपमा खटिने गरी तयारी गरिएको उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति श्रीप्रसाद जिटीले यो महान अभियानमा सबैले सहयोग गर्न आग्रह गरे । जिल्ला समन्वय उपप्रमुख खड्काराज सुवेदी, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतका बक्ताहरुले खोपबाट जिल्लामा कुनै बालवालिकाहरु छुट्न नहुने बताएका थिए ।
११ पालिका मध्ये सबैभन्दा धेरै वालिङ नगरपालिका र सबैभन्दा कम फेदिखोला गाउँपालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । वालिङमा ३ हजार १ सय १७ बालवालिका रहेका छन् भने फेदिखोलामा ६ सय २७ बालवालिकाले खोप लगाउन पाउने छन् । फागुन १३ गतेबाट शुरु हुने खोप कार्यक्रम गल्याङ र चापाकोट नगरपालिकाबाट शुरु हुने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
लामो समय ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा र रुवेदा रोगका मुख्य लक्षण हुन् । नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रुघा खोकीका लक्षण रहेकाले तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत चिकित्सकहरुले सुझाव दिएका छन् ।






