मानिस अफ्रिकाबाट संसारभर फैलिएको हुन् । पहिले घुमन्ते मानिस पुग्न सकेको ठाउँसम्म पुग्थे । कविलाई समाजमा मानिस एकअर्कालाई पराजित गर्न र थातथलो लिन उद्दत रहन्थे । यो सामन्तकालसम्म चली आयो । अहिले उपनिवेशका लागि त्यस्ता युद्धको स्वरूप देख्न सकिन्छ ।
तर, सबैले सबै देशमा नियमअनुसार आवागमन र घुमफिर खुला गरेकाले बसाइसराइले वैश्विक स्वरूप लिन थालेको देखिन्छ । बसाइसराइ अहिले देशको नागरिकतासँग मात्र अल्झिएको देखिन्छ । यस्ता बसाइसराइ देशीय तथा अन्तरदेशीय रहने गरेका छन् । मानिस पुग्न सकेका बसाइसराइका मुख्य दुई कारण मानिन्छ ः जस अनुसार ‘पुस फ्याक्टर’ (धक्काका कारक) तथा ‘पुल फ्याक्टर’ (तान्ने कारक) । पुस ‘फ्याक्टर (घचेट्ने कारक)ले मानिसलाई आफ्नो थातथलोबाट बसाइसराइ गर्न बाध्य गराउँछ ।
यसका कारक विभिन्न छन्, जस्तै बेरोजगारी, न्यून निजी अवसर, प्राकृतिक असन्तुलन, बाढी, पहिरो, खडेरी आदि राजनीतिक प्रभाव तथा भय हाम्रो आफ्नो परिवेशमा १० वर्षे जनयुद्ध तथा मधेस आन्दोलन एवं सशस्त्र समूहको गतिविधिका कारण भएको विस्थापनलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।
प्राकृतिक तथा मानव निर्मित कारकले बसाइसराइलाई गति दिन पुग्छन् । भेदभाव, प्रदूषण, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सामाजिक सेवाहरू उपलब्ध सहज रूपमा नहुनु यसका प्रत्यक्ष उदाहरणहरू हुन् ।
‘पुल फ्याक्टर’ आफ्नो देशबाहेक अन्य देशतिर आकर्षित हुने बसाइसराइ प्रक्रियाअन्तर्गत पर्दछ । यसको मुख्य आकर्षण भनेको रोजगारीको अवसर, सुखी र खुसी जीवनको खोजी हो । यसका अतिरिक्त राम्रो शिक्षा, राम्रो चिकित्सा सेवा, हेरचाह, सुरक्षा, उच्च र राम्रो जीवनस्तर, उद्योग कलकारखाना, परिवार तथा आफन्तसँग सम्पर्क आदिको सहजता पनि हो ।
आज हाम्रो आफ्नो सन्दर्भमा विगतको द्वन्द्वका कारण आफ्नो थातथलोमा सुरक्षित जीवनयापत, जीविकोपार्जन एवं आधारभूत सामाजिक सेवासुविधाबाट वञ्चित व्यक्ति तथा समुदाय आफ्नो गच्छे र सिपअनुसार वैदेशिक रोजगारउन्मुख हुन पुगेको ठूलो संख्या तथा वैदेशिक अध्ययनका लागि विकसित मुलुक जानेको संख्या अनि डीभी, पीआरजस्ता सुविधा उपभोग गर्न चाहनेको संख्यामा एक्कासी भएको वृद्धिले यसलाई पुष्टि गर्दछ ।
घचेट्ने र आकर्षित गर्ने कारक ती कारक हुन् जसले मानिसलाई बसाइसराइ हुन कि विस्थापित वा आफूतिर आकर्षित गर्दछ । यी दुवै कारक चुम्बकको उत्तरी र दक्षिणी दिशाजस्ता मानिन्छन् । यदि यी दुवै दिशालाई आमुन्ने सामुन्ने राखिदियो भने आपसमा टाँसिन्छन् र समान दिशामा राख्यो भने एकअर्काबाट टाढिन्छन् ।






