नट इन माई लाइफटाइम

हिजो सनातनीहरूले महाशिवरात्रिको पर्व ठूलो उल्लासका साथ मनाए । श्री पशुपतिनाथलगायत नेपाल र भारतका शिव मन्दिरहरूमा श्रद्धालुहरूको घुइँचो लाग्यो । देवाधिदेव महादेवबाट कृपा र आशीर्वादका आकांक्षीहरू प्रत्यक्ष दर्शनको अभिलाषा बोकेर शिवजीको प्रांगणमा पुगेका थिए । शिवरात्री र श्री पशुपतिनाथको रौनक नियाल्दै गर्दा वर्षौं अघि कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमै गर्नुभएको एउटा व्यंग्यको सम्झना भयो । उहाँको त्यस व्यंग्यमा पशुपतिनाथ पनि हुनुहुन्थ्यो । पञ्चायतकालमा किसुनजीले वीरगन्जको कुनै सभामा सो व्यंगात्मक कथा सुनाउनुभएको थियो । किसुनजीका भनाइ छापेबापत एक स्थानीय पत्रकार थुनामा पनि परेका थिए ! उहाँले सुनाउनुभएको ‘कथा’ यथाशक्य मौलिक रूपमा प्रस्तुत गरिँदै छ ।

विश्व रंगमञ्चमा शीतयुद्ध चरम चुलीमा पुगेका बेला थियो । संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा जिम्मी कार्टर आसीन थिए भने तत्कालीन सोभियत संघका सर्वेसर्वा लियोनिड ब्रेज्नेभ थिए । यी दुई शक्तिबीच सबै कुरामा चरम प्रतिस्पर्धा थियो । नेपालमा राजा वीरेन्द्र सर्वशक्तिमान थिए । एक सहरमा कुनै ठूलै अन्तर्राष्ट्रिय जमघट भइरहेको थियो । जमघटमा कार्टर र ब्रेज्नेभका साथै हाम्रा राजा वीरेन्द्रको पनि सहभागिता थियो । त्यसै सिलसिलामा संयोगले उल्लिखित तीन नेताको छेउतिर भेटघाट भएछ । स्वाभाविक रूपमा औपचारिक भलाकुसारी भयो । तत्कालीन दुई महाशक्ति राष्ट्रप्रमुखबाट नेपाल र नेपालीका ’boutमा राम्रै चासो राखेको देखियो । यी तीन व्यक्तिहरू गफिँदै गरेका ठाउँमा अरू कोही आउने सम्भावना नै थिएन । तर, त्यत्तिकैमा आश्चर्यजनक ढंगले त्यहाँ एउटा अजीवको व्यक्तित्व प्रकट भए ! कम्मरमा बाघको छाला बेह्रेको, हातमा त्रिशूल बोकेको, डमरू बजाउँदै गरेको, जटायुक्त कपालबाट जलको फोहरा निस्कँदै गरेको र त्यसभन्दा माथि झलमल्ल अर्धचन्द्राकार ! पाउमा कुनै जुत्ता इत्यादि थिएन र कम्मरमाथिको भाग लगभग नांगो थियो । निधार र शरीरभरी खरानी घसेको देखिन्थ्यो भने आँखा डरलाग्दा र राता थिए । सबैभन्दा डरलाग्दो त ती व्यक्तिको गलामा भयंकर तरिकाले फुंकार्दै गरेको अजंगको गौमन नागराज थियो । देख्दैमा भयानक र डरलाग्दो त्यो मानव आकृतिको मुहार भने शान्त र मोहक थियो । विचरा कार्टर र ब्रेज्नेभ नराम्ररी तर्सिए । सुरक्षाकर्मीहरू पनि कोही आउँदैनन् त ! सायद त्यो रौद्र रूपको उपस्थितिको उनीहरूलाई ख्यालै भएन ! तर, हाम्रा राजा वीरेन्द्रले तत्कालै चिनिहाले ! यी त साक्षात् देवाधिदेव महादेव भगवान् पशुपतिनाथ हुन् । वीरेन्द्रले कार्टर र ब्रेज्नेभलाई नआत्तिन अनुरोध गरे र भगवान् पशुपतिनाथलाई दण्डवत प्रणाम गरे । त्यसपछि कार्टर र ब्रेज्नेभ सामु प्रभुको परिचय बताउँदै भने, ‘उहाँ हाम्रो राष्ट्रदेव भगवान् पशुपतिनाथ होइबक्सिन्छ, उहाँ समस्त लोक एवं चराचर जगत्का स्वामी होइबक्सन्छ, उहाँ त्रिकालदर्शी होइबक्सन्छ, उहाँका लागि असम्भव भन्ने केही छैन, हामी भाग्यमानी हौं, यहाँ ’round रहेका कसैले प्रभुको दर्शन पाएका छैनन्, हामीले मात्र भगवानलाई देखिरहेका छौं ।’

यहाँनेर म पाठकहरूलाई पुनः पौराणिक कालतर्फ लैजान चाहन्छु । द्वापर युगमा कृष्णलीला चलिरहेको समय थियो । करूष नाम गरेको देशमा एक पौण्ड्रक नामधारी अज्ञानी राजा अस्तित्वमा थिए । उनलाई चाकडिया भृत्य भाटहरूले भनिदिँदा रहेछन्, ‘हजुर नै भगवान् वासुदेव होइबक्सिन्छ र हजुर पृथ्वीको रक्षाका लागि अवतरित होइबक्सेको हो ।’

दुई विदेशी नेताहरू अचम्मित देखिन्थे । तर, बिस्तारै डरको भावना हरायो । तिनीहरू सम्मोहित भएजस्तै देखिए । आआफ्नै ढंगले दुवैले पशुपतिनाथलाई अभिवादन गरे । त्रिकालदर्शी भन्ने शब्दले उनीहरूलाई निकै प्रभाव पारेछ क्या र स्वभावैले चतुर ब्रेज्नेभले अघि सरेर बिन्ती गरे, ‘प्रभु ! हजुरको दर्शन पाउनु मेरो भाग्य हो, यस्तो सौभाग्य जुराइदिनुभएकामा म राजा वीरेन्द्रप्रति अत्यन्तै अनुग्रहित छु, प्रभु ! हजुर त त्रिकालदर्शी ! मलाई बताइबक्सियोस् ! सबै कुरामा अमेरिकालाई सोभियत संघले उछिन्ने अवस्था कहिले आउँछ ? कृपा गरेर बताइबक्सियोस् !’ ब्रेज्नेभको कुरा सुनेर भगवान् थोरै मुस्कुराउनुभयो र अनि आँखा चिलिनुभयो । भगवान् पशुपतिनाथ ध्यान मुद्रामा जानुभयो । झन्डै १० मिनेटपछि आँखा खोल्नुभो र मुस्कुराउँदै अंग्रेजी भाषामा जवाफ दिनुभयो, ‘नट इन योर लाइफटाइम’ ! अर्थात्, तिम्रो जीवनकालमा चाहिँ हुन्न ! ब्रेज्नेभको अनुहार मलीन बन्यो । उनी निराश भए । त्यसपछि हतपत कार्टर अघि सरे । उनले हात जोड्दै सोधे, ‘प्रभु ! कृपा गरिबक्सियोस् ! सोभियत संघले कुनै हालतमा भेट्न नसक्ने अवस्थामा अमेरिका कहिले पुग्छ ?’ पशुपतिनाथले एक पटक पुनः आँखा चिम्लनुभो र ध्यान मुद्रामा जानुभो । वातावरण केहीबेर शान्त भो । उपस्थित सबैमा कौतूहलता थियो । केहीबेरमा प्रभुले आँखा खोल्नुभो र अत्यन्तै शान्त मुद्रामा मन्द रूपमा मुस्कुराउँदै बताउनुभयो, ‘नट इन योर लाफटाइम’ ! अर्थात्, पुनः उही जवाफ– तिम्रो जीवनकालमा हुन्न । अब पालो राजा वीरेन्द्रको थियो । खासमा वीरेन्द्रलाई प्रश्न सोध्ने मन थिएन । तर, दुई जनाले सोधिसकेको अवस्थामा उनी पनि बाध्य भए । बडो बिनित भावले करजोरी मुद्रामा प्रश्न सोधे, ‘प्रभु ! नेपालीहरू कम्तीमा एसियाली मापदण्डनुसारको जीवनस्तरमा कहिलेसम्ममा उक्लिएलान् ?’ त्यसताका राजाले नेपालमा ‘एसियाली मापदण्डअनुरूपको जीवनस्तर’को नारा उचालेका थिए । त्यसैकारण उनी पशुपतिनाथसँग आफ्नो नाराको नियति जान्न खोज्दै थिए । पुनः एकपटक पशुपतिनाथ ध्यान मुद्रामा जानुभयो । यसपटक प्रभुको ध्यान अवधि निकै लामो भयो । तीनै जना जिज्ञासुहरू अधैर्य हुँदै प्रतीक्षारत थिए । तर, प्रभु आँखा खोल्नुहुन्न त ! वातावरण पनि बोझिल बन्दै थियो । अघिअघि भन्दा फरक ! शान्त मौनताका बीच भगवान्को गलामा रहेको नागराजले अस्वाभाविक फुंकार गर्दै थिए । निकैबेरको प्रतीक्षापछि पशुपतिनाथले बल्ल आँखा खोल्नुभयो । यसपटक उहाँको मुहारमा मुस्कान होइन, तनाव देखिन्थ्यो । अलि क्रुद्धजस्तो देखिने मुद्रामा वीरेन्द्रतर्फ हेर्दै जवाफ दिनुभयो, ‘नट इन माई लाइफटाइम’ ! अर्थात्, मेरो जीवनकालमा सम्भव छैन ।

माथि उल्लिखित खाले भेटघाट आज भएको भए कोको हुन्थ्यो होला ? जो बाइडेन र पुटिन वा सी जिन पिङ हुन्थे नै । नेपालका तर्फबाट त सम्माननीय प्रधानमन्त्री प्रचण्डले नै प्रतिनिधित्व गर्थे होलान् । विदेशी नेताहरूलाई पशुपतिनाथले जस्तो जवाफ दिनुहुन्थ्यो, हुन्थ्यो नै । प्रचण्डलाई दिने जवाफ त पक्कै उही ‘नट इन माई लाइफटाइम’ नै हुँदैनथ्यो र ? प्रचण्डका ठाउँमा ओली वा देउवा भए पनि निश्चित रूपमा त्यही जवाफ हुन्थ्यो । प्रभुको जवाफ सुनेपश्चात् प्रचण्डजीको प्रतिक्रियाचाहिँ खोइ के हुन्थ्यो ? ‘प्रतिक्रियावादीलाई लात्तीले हान्छु’ वा ‘उथलपुथल गर्छु’ भन्दै नेपाल आएर पशुपतिनाथको मन्दिरतर्फ सोझिन्थे पो कि !

यहाँनेर म पाठकहरूलाई पुनः पौराणिक कालतर्फ लैजान चाहन्छु । द्वापर युगमा कृष्णलीला चलिरहेको समय थियो । करूष नाम गरेको देशमा एक पौण्ड्रक नामधारी अज्ञानी राजा अस्तित्वमा थिए । उनलाई चाकडिया भृत्य भाटहरूले भनिदिँदा रहेछन्, ‘हजुर नै भगवान् वासुदेव होइबक्सिन्छ र हजुर पृथ्वीको रक्षाका लागि अवतरित होइबक्सेको हो ।’ यस्ता कुरा सुन्दासुन्दा उनलाई आफू भगवान् भएको मिथ्याबोध हुन थालेछ । ‘राजा बाबु’ भन्ने सम्बोधन सुन्दा सुन्दा एक बालकलाई आफू राजा भएको मिथ्याबोध भएझैं ! उसले भगवान् कृष्णको नक्कल गर्न थाल्यो । आफ्ना दुई हातमा काठका दुई हात जोडेर चारहाते बन्यो । ऊ मुरली पनि बजाउँथ्यो र बेलाबखत रासलीलाको नाटक पनि गथ्र्यो । उसले शंख, चक्र, तलवार, गदा, शारंग धनुष र श्रीवत्स चिह्न आदि धारण गर्न थाल्यो । उसले वक्षःस्थलमा बनावटी कौस्तुभमणि र वनमाला पनि भिर्न थाल्यो । उसले रेशमी पहेंलो वस्त्र लगाउन थाल्यो र रथको ध्वजामा गरुडको चिह्न पनि लगायो । टाउकामा अमूल्य मुकुट र कानमा मकराकृत कुण्डल लगाउन थाल्यो ।

अनि उसले घोषणा ग¥यो– ‘एक मात्र वासुदेव म हुँ, प्राणीजनको रक्षाका लागि मैले अवतार लिएको हुँ ।’ उसले असली भगवान् कृष्णलाई चुनौती दिँदै भन्यो, ‘तिमिले मूर्खताबस मेरा चिह्नहरू धारण गरिरहेका छौ, अब सबै छोड र मेरो शरणमा आऊ, अन्यथा मसँग युद्ध गर ।’ उनी कृष्णसँग सुदर्शन चक्र समर्पण गर्न भन्न थाले । अन्ततः उनको श्रीकृष्णसँग युद्ध भयो । श्रीकृष्णले पौण्ड्रकलाई उनले मागेकै शस्त्र अर्थात् चक्रका माध्यमबाट उनको बध गर्नुभयो ।

आज हाम्रा नेता भनाउँदाहरू पौण्ड्रक शैलीमा उत्रेका छन् । प्रचण्डलगायत सबै चर्चित नेताहरूलाई अनौठो भ्रमजालो –ह्यालुसिनेसन)ले छोपेको छ । शीर्ष भनाउँदा त पौण्ड्रक भए नै ! पौण्ड्रकबधका लागि भगवान् श्रीकृष्ण कुन रूपमा अवतरित हुने हुन् ? हामीसँग प्रतीक्षा गर्नुको विकल्प छैन । भगवान्को आराधना र आह्वान गर्न त सक्छौं नि ! ‘पाउका अनन्य भक्तहरू’ले चाहिँ हेक्का राखून्, पौण्ड्रक र शिशुपालजस्ता खलपात्रहरूको विनाश जरा नामकी राक्षसीले छुट्टिएको अंग जोडेर ब्युँताइदिएकी जरासन्धबाट सम्भव छैन । भगवान् श्रीकृष्ण नै चाहिन्छ वा देवाधिदेव महादेवको तेस्रो नेत्र नै खुल्नुपर्छ । पौण्ड्रक रहुन्जेल पशुपतिनाथ पनि ‘नट इन माई लाइफटाइम’ भन्न विवश छन् !

आलेखमा राखिएको स्केच रोशन भण्डारीको पेसबुक वालबाट लिइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता