रातो पान्डा नेपालको पहिचान हो । यसलाई स्थानीय भाषामा हाब्रे पनि भनिन्छ । यो स्तनधारी जीव हो । जीव विकासक्रमका हिसाबले यो मेरुदण्ड भएको जनावर हो । यसको रङ रातो हुने हुनाले यसलाई रातोपान्डा भनिएको हो । आकारमा बिरालोभन्दा केही ठूलो हुन्छ यो । शरीरमा प्रशस्त लामालामा रौं हुन्छन् यसका ।
यसलाई हिमालयको पूर्वी भेगमा पाइने जीवका रूपमा लिइन्छ । चीन पनि रातो पान्डा पाइने मुलुक हो । चीनको दक्षिण पश्चिमीको स्थानीय जीवका रूपमा रातो पान्डालाई गणना गरिन्छ । यसले निगालो तथा बाँसका टुसा औधी मन पराउँछ । भनिन्छ, पान्डा नाम पनि बाँस प्रजातिका बिरुवा खाएर बाँच्ने भएकाले भनिएको हो । यो दक्षिण एसियाली प्रजाति हो भनेर बुझ्दा पनि केही अन्याय हुँदैन । किनकि यो नेपाल, पश्चिम बंगाल, सिक्किम, अरुणाचल प्रदेश तथा भुटान र चीनका केही भागमा पाइन्छ ।
यो लज्जालु स्वभावको हुन्छ । त्यसैले, यो विरलै देखापर्छ । शत्रु धेरै हुनाले पनि आफ्नो रक्षाका लागि यसले अपनाउने रणनीतिक उपाय हो यो । नेपालका २४ जिल्ला र सातवटा संरक्षित क्षेत्रमा यो जीव पाइन्छ । गुराँस, मालिंगो, निगालोको जंगल र पानीको स्रोतनजिकै भएको ठाउँमा यो रमाउँछ । आफ्नो बासस्थान पनि त्यही नै रोज्छ । यो त्यति धेरै जाडो र त्यति धेरै गर्मी ठाउँमा बस्न मन पराउँदैन ।
समशीतोष्ण क्षेत्रमा रहने भएकाले यसले १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको स्थानमा आफ्नो स्थायी बासस्थान बनाउँछ । पान्डा रात र दिउँसोको समयमा कम क्रियाशील हुन्छ । तर, मिर्मिरे बिहानी र गोधुली साँझमा भने बढी नै क्रियाशील हुन्छ । रातमा शत्रुको हमलाबाट बच्न सचेत र जागा रहे पनि दिउँसो भने रूखको काप, हाँगा वा पात बाक्लो रहेको ठाउँमा मजाले निदाएर समय व्यतित गर्छ ।
जीवनमा एकलाएक्लै रहने यो प्रजाति प्रजननको समयमा भने जोडी भएर बस्ने गरेका भेटिन्छन् । बाँस प्रमुख आहारा भएको यो प्रजाति एउटाले मात्र पनि एक दिनमा बाँसका २० हजारभन्दा बढी पात खान्छ । यसले खाएको एक चौथाइ मात्र पचाउँछ । यिनको शरीरमा रहेका रौं प्रकृतिको रङसँग मिल्ने भएकाले यसले शत्रुबाट बच्न मद्दत गर्छ । मानिससँग यसको सबैभन्दा मिल्दो अंग भनेको यसको हातमा बूढी औंला हुन्छ । नेपालमा रातो पान्डाको संख्या ३ सयभन्दा बढी रहेको छ । वन डढेलो, अव्यवस्थित पशुचरण, सडक निर्माण, जलविद्युत् निर्माण, विद्युत् प्रसारण लाइन, उत्खनन, अव्यवस्थित बस्ती आदि रातो पान्डा लोप हुनुका मुख्य कारण हुन् । चोरी सिकारीले पनि यसको सिकार गरिरहेकाले यिनको संख्यामा सोचे र अनुमान गरेजति वृद्धि हुन सकिरहेको छैन ।
(‘रातो पान्डा’ पुस्तिका र पत्रपत्रिकाको सहयोगमा)






