‘भोट क्यौन ? रुखौन । भोट क्यौन ? आँसी हतौडाउन ।’ दलीय गठबन्धनपछिको निर्वाचनमा यस्तै नाराबाजीले गुन्जायमान जुलुस गाउँ प्रवेश गर्दा माओवादीको भागमा परेको झन्झटपुर गाउँपालिका अध्यक्षका उम्मेदवार जयन्तलाई चुनाव जित्नेमा शंकै थिएन ।
गठबन्धन गरेकाले कांग्रेसजनको सबै भोट आउनेमा उनी ढुक्क थिए । पार्टी प्रवेशको लहर, बढ्दो ध्रुवीकरण, गठबन्धनपछिको जनउत्साहलाई नजरअन्दाज गर्दै जयन्त बहुसंख्यक कांग्रेसी मतदाताको मत पाई जित्नेमा ढुक्क थिए । भेट हुँदा पनि ‘हामीले जित्ने पक्का छ, विपक्षीलाई त हामी धूलो चटाउँछौं’ भन्ने गर्थे ।
गाउँघरमा ‘दिउँसो सूर्य आउँछ र राति तारा’ भन्ने हल्ला चल्यो । राजनीतिक दलले नतिजा आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड र भेद सबै अस्त्र प्रयोग गरे । निर्वाचनका लागि जयन्त तन, मन, धन, वचन र खटन सबै कोणबाट सरिक भए ।
गुट र फुटको प्रत्यक्ष असर देखियो । बाहिर गठबन्धन भनिए पनि ‘मुख नहेर्नू, तर रूख हेर्नू’बाट प्रशिक्षित चारतारे पक्षले मुख देखेनन् । निर्वाचन सम्पन्न भई नतिजा पनि आयो । जयन्तले भनेझैं नभई विपक्षी उम्मेदवार ‘सूर्यप्रसाद’ भारी मतले विजयी भए ।
त्यसपछि जयन्तको फूर्ति सेलायो । चुनावमा हार खानुका कारण’bout गठबन्धनभित्र व्यापक छलफल हुँदा अनेक सम्भावनाहरू निस्के । धेरैले ‘धाँदली’, ‘धोका र ‘राजनीतिक बेइमानी’लाई पराजयको कारण ठहराए तर जयन्त भने मौन रूपमा बसिरहे ।
साँझपख दुःख भुल्न गरिएको सुरापान कार्यक्रममा पनि चुनावी समीक्षा हुँदा सबै रङमङाइरहेका जस्ता देखेपछि उनको मुखबाट अचानक ‘अन्तरघात’ भन्ने शब्द निस्क्यो जुन उनका विचारमा पराजयको कारण थियो ।
(साभार ः वासुदेव पाण्डेय ‘प्रभाकर’को नेपाली साहित्य ‘घरमा’मा प्रकाशित कथा)






